कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कुटपिटविरुद्ध कर्मचारीबाट काम ठप्प

इटहरी उपमहानगरपालिकाका मेयरले कुटपिट गरेको विरोधमा कर्मचारी कार्यालयमा भेला भई कलम बन्द गरे
सुम्निमा चाम्लिङ

इटहरी — इटहरी उपमहानगरपालिकाका मेयरले दुर्व्यवहार गरेको विरोधमा कर्मचारीले कार्यालयको काम ठप्प पारेका छन् । मेयर द्धारिकलाल चौधरीले बिहीबार सीएफएल बल्ब खरिदमा भ्रष्टाचार गरेको भन्दै वडा १९ का सचिव मनोज दाहाललाई कार्यकक्षमै कुटपिट गरेका थिए ।

कुटपिटविरुद्ध कर्मचारीबाट काम ठप्प

सीएफएल खरिद भएको समयमा त्यसको माग गर्दा जिन्सी शाखाका प्रमुख दाहाल थिए । कुटपिट विरोधमा कर्मचारीले कार्यालयमा भेला भई कलम बन्द गरी आन्दोलन गरेका हुन् । उपमहानगरका कर्मचारी परिवारले प्रशासकीय अधिकृतलाई ज्ञापनपत्रसमेत बुझाएका छन् ।


कर्मचारी माथि गाली गलौज तथा कुटपिट गर्ने मेयर माथि कानुनबमोजिम कारबाही हुनुपर्ने र कर्मचारीले काम गर्ने वातावरण सुरक्षित तथा मर्यादित हुनुपर्ने माग राखेका छन् ।


इलाका प्रहरी कार्यालय इटहरीका डीएसपी समीरचन्द्र खरेलले कर्मचारी मनोज दाहालको उजुरी लिन नमानेको उनीहरूको आरोप छ । ‘बिहीबार साँझ साढे ५ बजे उजुरी दिन गएका थियौं । तर डीएसपी सरले लिन मान्नुभएन । पीडितले उजुरी दिन त पाउनुपर्छ नि ?’ वडा २ का नासु बालकुमार पोखरेलले भने ।


उपमहानगरका प्रशासकीय अधिकृत केशवप्रसाद बिमलीले कर्मचारी माथी कुटपिट हुनु दुःखद भएको बताए । ‘कानुनबमोजिम विधि र प्रक्रिया अनुसार कारबाही हुनुपर्थ्यो । तर दुःखद घटना घट्यो,’ उनले भने । कानुन

आफ्नो हातमा लिने काम गर्न नहुने उनको भनाइ छ ।


प्रशासकीय अधिकृत बिमलीले कर्मचारी संगठनको मागको विषयमा मेयरलाई जानकारी गराएको बताए पनि मेयरले कस्तो प्रतिक्रिया दिए भन्ने विषयमा भने खुलाउन चाहेनन् ।


उपमेयर, कार्यपालिका सदस्य र कर्मचारीबीच भएको बैठकमा उपमेयरले कार्यपालिकाको तर्फबाट क्षमा मागेको एक कर्मचारीले बताए । यद्यपि कर्मचारीले भने मेयरले कर्मचारीमाथि आगामी दिनमा दुर्व्यवहार नगर्ने प्रतिबद्धता नगरेसम्म आन्दोलन जारी रहने बताएका छन् ।


भ्रष्टाचारीलाई जोगाउने पक्षमा कर्मचारी लागेको आरोपको खण्डन गर्दै एक कर्मचारीले भने, ‘कर्मचारीलाई बचाउ गरेको नभई विधि र प्रक्रियाबाट जानुपर्छ भन्ने कुरा हो । भ्रामक कुराको पछि नलाग्न आग्रह गर्दछु । यसअघि समेत मेयरले कर्मचारीमाथि सानातिना दुर्व्यवहार गर्दै आएको कर्मचारीहरू बताउँछन् । यसपल्ट भने ठूला घटना भएकाले बाहिर आएको उनीहरूको भनाइ छ ।


पत्रकारलाई दुर्व्यवहारको भर्त्सना

सुनसरीको इटहरी उपमहानगरका मेयर चौधरीले पत्रकारलाई गरेको दुर्व्यवहारको नेपाल पत्रकार महासंघले भर्त्सना गरेको छ ।


समाचार संकलनका क्रममा इटहरी उपमहानगरपालिका पुगेका कृष्ण भट्टराई, विकल रेग्मीलगायत पत्रकारलाई मेयर चौधरीले बुधबार दुर्व्यवहार गरेका थिए । कुटपिट र अनियमितता प्रकरणबारे जानकारी लिन प्रश्न गर्दा उनले हातपात गरेका थिए ।


मेयरले आफ्नै कार्यालयका कर्मचारीलाई कुटपिट गरेको विषयमा समाचार संकलन गर्न पत्रकार महानगर कार्यालय पुग्दा दुर्व्यवहारको सिकार भएका हुन् । महासंघका केन्द्रीय सचिव रामप्रसाद दाहालद्वारा जारी विज्ञप्तिमा राज्यको जिम्मेवार निकायका व्यक्तिबाट पत्रकारमाथि दुर्व्यवहार हुनु आफैंमा निन्दनीय र गैरजिम्मेवार कार्य भएको जनाइएको छ । यस्ता कार्यले संविधानले सुनिश्चित गरेको प्रेस स्वतन्त्रता तथा पत्रकारको अधिकार क्षेत्रमाथि हस्तक्षेप हुने महासंघले जनाएको छ ।


मेयर चौधरीबाट भएको गैरजिम्मेवार कार्यको भर्त्सना गर्दै प्रेस स्वतन्त्रताको सम्मान गरी पत्रकारलाई निर्वाध र सुरक्षित रूपमा काम गर्ने वातावरण बनाउन महासंघले माग गरेको छ । पत्रकार महासंघ सुनसरी शाखाले पनि दुर्व्यवहारको भर्त्सना गरेको छ ।

प्रकाशित : जेष्ठ १०, २०७६ ०९:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?