२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९३

४ वर्षपछि राहत

ताप्लेजुङ — ०७२ जेठ २७ गते राती गएको पहिरोमा परी मृत्यु भएका परिवारले चार वर्षपछि बल्ल राहत पाएका छन । मिक्लाखोला गाउँपालिका १, २ र ३ खोक्लिङ, लिवाङ र मेरिङदेनको सान्थाक्रा, लिङतेप लगायतका साविक गाविसका मृतक ५९ जनाका आफन्तले प्रति मृतक १ लाखका दरले राहत पाएका हुन् ।

उनीहरूले जिल्ला प्रशासन कार्यालयमार्फत सरकारलाइ पटक–पटक ज्ञापनपत्र बुझाएका थिए । पछिल्लो पटक सांसद योगेश भट्टराईलाई ज्ञापनपत्र दिएका थिए ।


जिल्ला प्रशासन कार्यालयमा आयोजित राहत वितरण कार्यक्रममा चेक हस्तान्तरणपछि प्रतिनिधिसभा सांसद भट्टराइले गाउँ भ्रमणको क्रममा खोक्लिङमा आफूलाई पहिरो पीडितले राहतका लागि ज्ञापनपत्र बुझाएको र गृहमन्त्रालयमा गएर बुझदा राहत नआएको पाइएपछि आफूले पहल गरेको बताए । राहत रकम यत्तिका वर्ष किन रोकिएको रहेछ भन्ने चाहिँ उनले खुलाएनन ।


पहिरोमा परी मृत्यु भएकामध्ये ३२ जनाको शव भेटिएको थियो । बाँकी २७ जनाको शव भेटिएन । तर गाउँसमाजको बयान र बेपत्ता भएकाहरू पहिरोमै पुरिएको निस्कर्षपछि राज्यले बेपत्ताका परिवारलाई पनि मृत्यु भएको मान्दै मृतकसहर नै राहत दिने घोषणा गरेको थियो । त्यही अनुसार स्थानीय प्रशासनले सबैलाई ४० हजारकादरले किरिया खर्च उपलब्ध गराएको थियो । चामल, नुन, दाल, तेल लगायतका तत्कालीन राहत पनि त्यही अनुसार वितरण गरिएको थियो ।


यत्तिका वर्षपछि भए पनि राहत दिएकोमा फूलमाया लिम्बूले सरकारलाई धन्यवाद दिइन । ‘पहिल्यै पाउनु पर्ने थियो, हामी त अब नदिने रहेछ भनेर थाकिसकेका थियौं,’ उनले भनिन, ‘तैपनि पाइयो खुसी लागेको छ ।’ राहत लिनका लागि मृतकका आफन्त सदरमुकाम फुङलिङ आएका थिए ।


उनीहरूले अहिले पनि त्रासमै बसिरहेको र पहिरोको जोखिम कम नभएको बताएका छन् । उनीहरूले भूकम्प पीडितसरह राहत दिनुपर्ने माग पुनः दोहोर्‍याएका छन । भट्टराईले यस विषयमा प्रधानमन्त्रीसँग कुरा भएको र चाँडै यस विषयमा निर्णय हुने दाबी गरे ।

प्रकाशित : जेष्ठ ११, २०७६ ०९:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?