१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०८

बोरो धान उत्पादन बढ्याे

मोरङ — सुनबर्षी नगरपालिका ५ का माणिकचन्द राजबंशीले ४ बिघामा लगाएको ‘बोरो राइस’ काट्न सुरु गरेका छन् । यो धान मुलुकभरमै यहाँ मात्रै हुने गरेको प्राविधिकहरू बताउँछन् ।

बोरो धान उत्पादन बढ्याे

‘यस वर्ष मौसम अनुकुल रहेको र धानमा किरा नलागेकाले उत्पादन बढेको छ,’ राजबंशीले भने, ‘प्रतिकठ्ठा ६/७ मनसम्म धान फलेको छ ।’ उनले बजरंगी प्रजातिको बोरो राइस लगाएको बताए ।


मंसिरमा धान काटेपछि बेर्ना छर्ने गरेको र माघ अन्तिम साताबाट रोपाइ गरेपछि जेठ पहिलो सातामा काटदै आएको राजबंशीको भनाई छ । स्थानीय रामलाल राजबंशीले पनि ५ बिघामा लगाएको बोरो राइस काट्न सुरु गरिसकेको बताए ।


रंगेलीका कृषकले पनि बोरो राइस धान खेती गरेका छन् । उनीहरूले पनि धान यस वर्ष राम्रो फलेको बताएका छन् । मौसम अनुकुलताले प्रति कठ्ठा ६ देखि ८ मनसम्म फलेको स्थानीय रामकुमार मण्डलले बताए । ‘सुक्खा मौसममा यो धान फल्ने गरेकाले काट्न र सुकाएर भण्डार तथा बिक्री गर्न सहज हुन्छ,’ उनले भने, ‘यो धान खानमा पनि निकै स्वादिलो र यसको च्यूरा, भुजा पनि मिठो हुने गरेको छ ।’


सुनबर्षी, रंगेली, धनपालथान, रतुवामाईलगायत यहाँका केही स्थानीय तहमा अहिले खेतमा धानका बाला लहलहाएका छन् । यो धानको चामल स्वादिलो र उत्पादन अत्यधिक हुने भएकाले कृषक आकर्षित भएको कृषि ज्ञानकेन्द्र सुनसरीका मोरङ इकाई प्रमुख रामदेव सिंहको भनाई छ ।


‘बेर्ना छरेर काटासम्म ६ महिना समय लिन्छ,’ उनले भने, ‘अहिलेको सिजनमा नै फल्ने चैते धान पनि छ तर त्यो काटा काटदै असारसम्म लाग्ने गरेकाले वर्षायाममा कृषकलाई बढी हैरानी हुन्छ ।’ मोरङमा करिब २ सय बिघामा बोरो राइस खेती हुँदै आएको सिंहले बताए ।

प्रकाशित : जेष्ठ १२, २०७६ १०:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?