१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

बीपीका इन्टर्न चिकित्सक तलब बढाउन माग गर्दै धर्नामा

प्रदीप मेन्याङ्बो

सुनसरी — बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट एमबिबिएस/बिडिएस पास गरेर एक वर्षे इन्टर्न गरिरहेका चिकित्सकहरू आइतबारदेखि सबै काम छाडेर धर्नामा उत्रिएका छन् । प्रतिष्ठानको व्यवस्थापन पक्षले इन्टर्नलाई दिने मासिक तलबभत्ता सुविधा अति कम भएकाले महाराजगन्ज शिक्षण अस्पतालले दिए सरह हुनुपर्ने भन्दै धर्नामा उत्रिएका हुन् ।

बीपीका इन्टर्न चिकित्सक तलब बढाउन माग गर्दै धर्नामा

प्रतिष्ठानले आफ्नो शिक्षण जिल्लाहरूमा खटाएका ५० जना बढी इन्टर्न चिकित्सकहरू पनि काम छाडेर आन्दोलमा सहभागी भएका छन् ।


सङ्घर्ष समितिले नेपाल सरकारको स्वास्थ्यको आठौँ तहको मेडिकल अफिसरले पाउने तलबको आधा प्रतिशत इन्टर्नहरुले पाउनुपर्ने माग गर्दै धर्नामा उत्रेको जनाएको छ । सरकारको ८ औँ तहका मेडिकल अफिसरको तलब ३६ हजार रुपैयाँ हाराहारीमा छ ।


ओपडीमा दैनिक ३ हजार जना र आकस्मिकमा दैनिक २ सय ५० जना बिरामी उपचारका लागि आउने ८ सय शैया रहेको प्रतिष्ठानमा इन्टर्न चिकित्सकहरू आन्दोलनमा उत्रेपछि स्त्री तथा प्रसूति, हाडजोर्नी, नाक कान घाँटी, मेडिसिन, आँखा, यौन तथा चर्म, बालरोग, मानसिक रोग, विभिन्न वार्ड, ओपिडी, इमर्जेन्सी र सघन उपचारकक्ष पनि प्रभावित भएको छ ।


प्रतिष्ठानको उपकुलपति भवन परिसरमा १५० जना इन्टर्न चिकित्सकहरू बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म धर्नामा बसेका छन् । इन्टर्न सङ्घर्ष समितिका संयोजक डा सञ्जय बरालले भने, ‘साढे चार वर्षे एमबिबिएस/बिडिएस पास गरेपछि इन्टर्न गर्ने १५० जना चिकित्सक गत चैतदेखि प्रतिष्ठान र यसका शिक्षण जिल्लाहरूमा कार्यरत छन् । सिनियर र जुनियर चिकित्सकहरूलाई सहयोग गर्ने, बिरामी उपचार, रोग पहिचान गर्न इन्टर्न चिकित्सकहरू पनि हुन् । तर प्रतिष्ठानले मासिक ११ हजार ८ सय रुपैयाँमात्र दिँदै आएको छ । यो रकम एक इर्न्टन चिकित्सकका लागि अति नै थोरै भयो ।’


इन्टर्नले पाउने तलब प्रतिष्ठानमा ज्यालादारी र तल्लो दर्जामा काम गर्ने कामदारलाई दिएजति पनि नभएकाले वर्षौदेखि इन्टर्नहरु आन्दोलित हुँदै आएको डा. बरालले जानकारी दिए ।


गत आइतबार प्रतिष्ठानका तर्फबाट प्रवक्ता प्राध्यापक डा पशुपति चौधरी र इन्टर्नहरुबीच वार्ता भए पनि सरकारको ८ औँ तहका मेडिकल अफिसर र प्रतिष्ठानको मेडिकल असिफरको तलब फरक भएकाले विना निष्कर्ष वार्ता टुंगिएको थियो । प्रतिष्ठानमा एमबिबिएस/बिडिएस पास गरेपछि इन्टर्नहरुले साढे ७ महिना प्रतिष्ठानमै र साढे ४ महिना प्रतिष्ठानले तोकेको पूर्वका शिक्षण जिल्लाहरूमा प्राक्टिस गर्नुपर्ने प्रावधान रहेको छ ।

प्रकाशित : जेष्ठ १४, २०७६ १५:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?