आधुनिक स्वरूपमा पशु बजार

अर्जुन राजवंशी

दमक — मुलुककै पुरानोमध्येको दमक पशु बजार अत्याधुनिक बनेको छ । दमक नगरपालिकाको स्वामित्वमा रहेको ३ विघा एक कट्ठा २.४ धुर जमिनमा १४ करोड ७२ लाख ६५ हजार ९ सय ७१ रुपैयाँ खर्चिएर अत्याधुनिक पशु बजार निर्माण भएको हो ।

आधुनिक स्वरूपमा पशु बजार

०७३ पुसमा शिलान्यास भएको पशु बजार एक महिनाअघि पूर्णरुपमा निर्माण सम्पन्न भएको नगरपालिकाले जनाएको छ ।


बजारमा बाख्रा र बहुउद्देश्यीय एक/एक तथा भैंसी र गाईको २/२ वटा सेड, बाख्राका लागि एक र गाई/भैंसीका लागि एउटा खुला बजार, प्रशासनिक भवन, आवास गृह, सुरक्षा गार्ड गृह, चमेना गृह, अतिथि गृह, सार्वजनिक शौचालय, व्यवस्थित पार्किङ क्षेत्र, मुख्यद्वार, डिप बोरिङ, पानी प्रशोधन केन्द्र, भेटेरीनरी सेडलगायत निर्माण गरिएका छन् ।

दमक पशुपन्छी बजारमा हाल गाईवस्तु ५ सय, खसी/बाख्रा ५ सय, बंगुर एक हजार ५ सय, राँगाभैंसी तीन सय गरी बुधबारको साप्ताहिक हाटमा दुई हजार ८ सय चौपायाको कारोबार हुने गरेको छ । बजारमा कुखुरा र हाँस ७ सय प्रतिहप्ता किनबेच हुने गरेको छ ।


उक्त पशुपन्छी बजारबाट साप्ताहिक हाटमा एक करोड ५० लाख तथा बार्षिक ८० करोड रुपैयाँको कारोबार हुने गरेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । निर्माणपछि पशु बजार नगरपालिकालाई हस्तान्तरण गरिएको छ । नगरपालिकाले पशु बजार ठेक्का लगाउने प्रक्रिया सुरु गरेको छ ।


नगर कार्यापालिकाको बैठकबाट निर्णय गरी तीन बर्षका लागि बजार ठेक्कामा लगाउने प्रक्रिया अघि बढाएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश तिम्सिनाले जानकारी दिए । ‘प्रदेश १ मै सुविधा सम्पन्न र अत्याधुनिक पशु बजार निर्माण भएको छ ।


यो बजारको कारोबारलाई थप वृद्धि हुने गरी त्रिवर्षिय ठेक्का लगाउने प्रक्रिया सुरु गर्दैछौं’ अधिकृत तिम्सिनाले भने । यसअघि खुला चौरमा बजार लाग्दै आएको थियो । हिउदमा ठिकै भएपनि बर्षातो समयमा पानी जमेर तथा हिलाम्मे भएर बजार प्रभावित हुदै आएको थियो ।


विश्व बैंक र कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गतको व्यवसायिक कृषि तथा व्यापार आयोजना (प्याक्ट) र नेपाल लाइभस्टक इनोभेसन सेक्टर प्रोजेक्टको संयुक्त लगानीमा सुविधा सम्पन्न पशुपन्छी बजार निर्माण गरिएको हो । दमकमा ०३२ बाट पशु बजार सुरु भएको थियो ।

प्रकाशित : जेष्ठ १७, २०७६ १०:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?