१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

बजेटको ठूलो हिस्सा सडक र पुलमा

नगरले लिएको बजेट खर्चको लक्ष्य पुरा हुन निकै कठिन छ, लक्ष्य अनुसार खर्च गर्न नसके नगरको विकासमा बाधा पुग्छ । 
सुम्निमा चाम्लिङ

इटहरी — इटहरी उपमहानगरपालिकाले चालु वर्षमा सडक तथा पुलमा बजेटको ठूलो हिस्सा खर्च गरेको छ । बजेटमा उपमहानगरले बजेट विनियोजन गर्दा भौतिक पूर्वाधारलाई मुख्य प्राथमिकतामा राखेको थियो । 

बजेटको ठूलो हिस्सा सडक र पुलमा

चालु वर्षमा नगरले भौतिक विकासका लागि ४५ करोड ८७ लाख ६७ हजार बजेट विनियोजन गरेको थियो । उक्त रकममध्ये १५ करोड १५ हजार ४९ हजार ५ सय ७७ पैसा खर्च भएको छ । यो ३३ दशमलव ०३ प्रतिशत हो । कच्ची सडक, ग्राभेल सडक, पुल निर्माणमा धेरै खर्च गरेको देखिन्छ । लेखा शाखाका अनुसार सडक तथा पुलमा मात्र ४३ करोड ९५ लाख ९२ हजार रकम विनियोजन भएको थियो ।


कुल बजेटमध्ये हाल १४ करोड ५६ लाख अर्थात ३३ दशमलव १३ प्रतिशत मात्र खर्च भएको लेखापाल रामचन्द्र खडाले बताए । कालोपत्रेमा मात्र नगरले ७ करोड रकम खर्च गरेको छ । नगरले चालु वर्षमा कुल १ अर्ब ५७ करोड ५२ लाख २९ हजार बजेट विनियोजन भएको थियो । कुल विनियोजनमध्ये हाल ८३ करोड ६३ लाख ७५ हजार २ सय ८४ रुपैया खर्च भएको छ । अर्थात ५३ दशमलव १ प्रतिशत खर्च भएको छ ।


चालु खर्च तर्फ ८० करोड ३२ लाख ३० हजार बजेट खर्च गर्ने लक्ष्य लिएकोमा ५८ करोड १३ लाख ३८ हजार ३ सय ९४ (७२ दशमलव ३७ प्रतिशत) खर्च भएको छ । यस्तै, पुजीगत खर्चतर्फ ७७ करोड १९ लाख ९९ हजार खर्च गर्ने नगरको लक्ष्य थियो ।


तर अहिले सम्म २५ करोड ५० लाख ३६ हजार ८ सय ८९ रुपैया खर्च भइसकेको छ । अर्थात कुल बजेटको ३३ दशमलव ०४ प्रतिशत मात्र खर्च भएको छ । तथ्यांकलाई हेर्ने हो भने चालु खर्च भन्दा ३९ दशमलव ३३ प्रतिशत कम पुजीगत खर्च भएको छ । चालु आर्थिक वर्षको तथ्यांक हेर्दा विकास बजेट खर्च ज्यादै न्युन देखिएको छ ।


जसका कारण नगरले लिएको बजेट खर्चको लक्ष्य पुरा हुन निकै कठिन देखिएको छ । लक्ष्य अनुसार बजेट खर्च गर्न नसके नगरको विकासमा बाधा पुग्ने देखिन्छ । यता नगर प्रमुख द्ववारीकलाल चौधरीले भने असार मसान्त सम्म ९० प्रतिशत काम सम्पन्न हुने बताए । ‘पुजींगत खर्च हुने गरी काम भईरहेको छ । त्यसैले ढुक्कका साथ सबै बजेट खर्च हुनेमा ढुक्क हुन आग्रह गर्दछु ’ उनले भने ।


विकास खर्च अपेक्षा भन्दा कम देखिदा समेत नगर प्रमुखले भने लक्ष्य अनुसार बजेट खर्च हुने बताउदै आएका छन् । नगरले चालु आवमा कुल ३२ करोड ६६ लाख राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो । लेखा शाखाको चैत मसान्त सम्मको रेकर्ड अनुसार २७ करोड ३३ लाख ६६ हजार ४ सय १२ रुपैया संकलन भएको छ । अर्थात ८३ प्रतिशत रकम संकलन भएको छ ।


लक्ष्य अनुसार कर संकलन गर्न नसक्नुमा दक्ष जनशक्ति अभाव र सचेतना कार्यक्रमको अभाव भएको राजस्व शाखा प्रमुख लखनलाल चौधरीले बताए । ‘नगरले अभिलेख कानुन बनाउन नसक्दा कर संकलनमा बाधा पुगेको छ । नगरको यकिन तथ्यांक पाउन नसक्दा लक्ष्य अनुसार काम गर्न सकिन्न ।’ उनले भने । दक्ष जनशक्ति अभाव, जनताको घरदैलोमा पुगेर राजस्व संकलन गर्न नसक्नु, सेवाग्राहीले समयमा कर नबुझाउनु, सचेतनामुलक कार्यक्रमको अभाव आदि कारणले राजस्व संकलन गर्न नसकिएको उनको दाबी छ ।


यस्तै, वन तथा वातावरण शाखामा चालु वर्षमा कुल १ करोड रकम विनियोजन भएको थियो । हाल सम्म ३९ लाख ४३ हजार ९ सय ५२ रुपैया मात्र खर्च भएको छ । अर्थात ४० प्रतिशत काम सम्पन्न भएको छ । यस्तै नगरले, चालु वर्षमा शिक्षा शाखामा कुल २७ करोड ६१ लाख ४० हजार बजेट विनयोजन भएको थियो ।


यद्यपी हाल सम्म कुल ७८ दशमलव ६ प्रतिशत काम सम्पन्न भएको शाखा प्रमुख अम्बिका शाहले बताईन् । कर्मचारी अभाव र समयमा निर्णय लिन नसक्दा लक्ष्य अनुसार काम सम्पन्न गर्न नसकिएको उनले बताईन् । यस्तै, सामाजिक शाखा अन्तर्गत यस वर्ष ३ करोड ४१ लाख रकम विनियोजन भएको थियो । जसमध्ये हाल सम्म १ करोड ६१ लाख ४६ हजार ८ सय २५ रुपैया खर्च भएको छ ।


नगर प्रमुख चौधरीले कर्मचारी सामायोजनको कारण कर्मचारी अभाव भएको बताए । संघ र प्रदेश सरकारले कतिपय कानुनहरू पठाउन नसक्दा कतिपय कानुनहर निर्माण गर्न नसकेको बताए । कानुनको विषयमा प्रदेश सरकारलाई ध्यानकर्षण गराएको उनले बताए ।


यता स्वास्थ्य शाखामा भने नगरले यस चालु आवमा कुल १ करोड २५ लाख बजेट विनियोजन भएको थियो । हाल १ करोड ५ लाख खर्च भएको छ । सर्पदंश उपचार केन्द्रका लागी ३ लाख रकम छुटिएको थियो । शाखा प्रमुख रामचन्द्र चौधरीका अनुसार सर्पदंश उपाचार शिर्षकका लागी हाल सम्म बजेट पेश नगरेको कारण बजेट फ्रिज हुने उनको भनाई छ ।


बजेट विनियोजन गर्दा तथ्यपरक नभई अनुमान गरेको भरमा बजेट बनाउनु र कर्मचारी अभावको कारण दक्ष जनशक्ति नहुनु जस्ता कारणले गर्दा कुल बजेट खर्च हुन नसकेको विभिन्न शाखाका अधिकारीहरूको भनाई छ । आर्थीक वर्षको अन्त्यमा आईपुग्दा समेत नगरको दुई ठुला योजनाको ठेक्का सम्झौता हुन सकेको छैन । नगरको योजना शाखाको तथ्यांक अनुसार चालु आवमा ७ सय १२ वटा योजनाहरू थिए ।


जसमध्ये ६०१ वटा योजना सम्झौता पुरा भएका छन् । १ सय ११ वटा योजना भने सम्झौताको प्रक्रियामा रहेको छ । नगर प्रमुख चौधरीका बसार योजना स्वीकृत भईसकेपछी पनि टेन्डर प्रक्रिया पूरा गर्न कम्तीमा दुई महिना लाग्ने गर्दछ ।


योजना शाखा प्रमुख मनुकुमार लिम्बुका अनसार नगरमा पाच वटा वडाको दरले ४ वटा क्लस्ट बनाएको थियो । एक क्लस्टरको रिर्पोट अनुसार १२ वटा योजना अझै सम्झौता हन सकेको छैन । बाकी क्लस्टरको तथ्यांक संकलनको क्रममा छ ।

प्रकाशित : जेष्ठ १७, २०७६ १०:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?