कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०३

सुस्त गतिमा हुलाकी सडक

सुस्त गतिमा हुलाकी सडक
देवनारायण साह

मोरङ — तराई मधेसका जिल्ला जोड्ने ‘लाइफ लाइन’ मानिएको हुलाकी राजमार्ग निर्माण सुरु भएको १४ वर्ष बित्न लागेको छ । निर्माणको कामले अपेक्षित रूपमा गति लिन सकेको छैन । पूर्वका ४ जिल्लामध्ये झापामा ४८, मोरङमा ४६, सुनसरीमा २६ र सप्तरीमा ४६ गरी १ सय ६६ किलोमिटर हुलाकी सडक पर्छ । तीमध्ये ७२ किलोमिटरमा अझै निर्माण काम सुरु हुन सकेको छैन । 

सरकारले आगामी आर्थिक वर्षको बजेटमा समग्र हुलाकी सडकका लागि १३ अर्बभन्दा बढी बजेट विनियोजन गरेपछि भने कामले गति लिने अपेक्षा गरिएको छ ।


अर्थमन्त्री युवराज खतिवडाले आर्थिक वर्ष ०७६/७७ का लागि संयुत्त बैठकमा प्रस्तुत गरेको बजेटमा ३ सय ५० किलोमिटर हुलाकी सडक कालोपत्रेका लागि १३ अर्ब ६३ करोड विनियोजन गरेको जनाएका थिए । २०६२/६३ को राजनीतिक परिवर्तनपछि हुलाकी राजमार्ग निर्माण सुरु भएको हो ।


सप्तरीदेखि झापासम्मको १ सय ६६ किलोमिटर सडकको अधिकांश खण्डमा पैदल यात्रा गर्न पनि कठिन छ । यो सप्तरी, राजविराज, मोरङ र झापाको भद्रपुर जोड्ने छोटो दूरीको मार्ग हो । उक्त राजमार्गको अधिकांश सडक खण्ड सुधारिन सकेको छैन । निर्माणाधीन पुल पनि अलपत्र अवस्थामा छन् । राजविराजबाट भद्रपुरसम्म चारपांग्रे सवारीसाधन चल्ने अवस्था छैन । दुईपांग्रेको यात्रा गर्न पनि निकै सास्ती बेहोर्नुपर्ने अवस्था रहेको स्थानीय बताउँछन् ।


झापास्थित ४८ किलोमिटरमध्ये भद्रपुरदेखि रजगढसम्म्म २० किलोमिटर सडक निर्माण कार्य भइरहेको छ । उक्त सडक २०७२ माघ १३ गते ३० महिनामा निर्माण गर्न २९ करोड ८३ लाख ४९ हजार १ सय ६१ रुपैयाँमा ठेक्का लिएको आशिष/याक्थुम्बाहाङ जेभीले हालसम्म काम पूरा गरेको छैन । पछिल्लो पटक थप गरिएको म्याद पनि चैत १४ गते समाप्त भएको हुलाकी सडक इटहरीस्थित हुलाकी राजमार्ग आयोजना एकाइ प्रमुख विजयकुमार महतोले बताए ।


‘झापास्थित पहिलो खण्डको २० किलोमिटर सडकको ९० प्रतिशत काम सम्पन्न भएको र १० प्रतिशतमात्रै बाँकी छ,’ उनले भने, ‘बाँकी काम चालु आर्थिक वर्षभित्र सम्पन्न गर्न ठेकेदारलाई निर्देशन दिएका छौं ।’ सुनसरीस्थित २६ किलोमिटर सडक निर्माणका लागि २०७४ पुस १३ गते शर्मा/बिर्को/सूर्य जेभीले १ अर्ब १६ करोड ७१ लाख ३० हजार ५ सय ४१ रुपैयाँमा ठेक्का लिएको छ । महतोका अनुसार २०७७ असार मसान्तसम्म निर्माण कार्य पूरा गर्ने म्याद पाएका निर्माण कम्पनीले हालसम्म सुनसरीमा २५ प्रतिशत सडक निर्माणको काम पूरा गरेको छ ।


सप्तरीस्थित ४६ किलोमिटर सडक दुई खण्डमा आयोजनाले ठेक्का लगाएको छ । पहिलो खण्ड कञ्चनपुरदेखि राजविराजसम्म २० किलोमिटर सडक निर्माणका लागि २०७४ पुस ७ गते शर्मा/वज्रगुरु/लोहनी एन्ड ब्रदर्स जेभीले ९५ करोड ७० लाख ६६ हजारमा ठेक्का लिएको छ ।


उक्त सडक स्वीकृति नै नलिई चन्द्र नगरको पूर्वी डिललाई हुलाकी सडकका रूपमा विस्तार गर्न थालेपछि विवाद भएर निर्माण काम रोकिएको महतोले बताए । उनले नहरसँग समस्या समाधानका लागि पहल भइरहेकाले चाँडै स्वीकृति प्रदान हुने र निर्माण कामले तीव्रता पाउने विश्वास व्यक्त गरे ।

प्रकाशित : जेष्ठ १८, २०७६ ०९:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?