३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

मिहिनेतले आउँछ हिम्मत

पौरखी एकल महिला
जितेन्द्र साह

मोरङ — पाँच वर्षअघि पुनमदेवी सिंहले आफ्नो श्रीमान रामचन्द्रलाई गुमाइन । मोरंगको कटहरी–४ की उनको एक्लो काँधमा दुई छोरी र एक छोराको अभिभारा आइ पर्यो । मलबिउको पसल र एक सहकारीको उनले बागडोर सम्हालिन् । पुनमले दिनरातको मिहिनेत, समर्पण र कौशलले व्यापारलाई उकासिन् । 

मिहिनेतले आउँछ हिम्मत

शुरुमा उनले धेरै समस्याको सामना गर्नु परेको बताइन । ‘एक त म मधेसी समुदायको महिला, अर्कोतिर ग्रामीण समाज, पुरुष झैं व्यवसाय र व्यवहार चलाउन सहज थिएन,’ उनले भनिन्, ‘सुरुमा अनेक टिकाटिप्पणी भयो तर कामप्रतिको मेरो लगन देखेर सबैले विस्तारै आदर गर्न थाले ।’ घरव्यवहारकै क्रममा अन्य पुरुषसँग बोल्दा पनि गलत ढंगले बुझ्ने सोचाइको पुनम पनि शिकार भइन् । ‘मैंले दाहिनेदेब्रे कुरामा ध्यान दिइन, छोराछोरीको अनुहार हेर्दै अघि बढिरहेँ,’उनले भनिन् ।


कटहरीकै पूर्वोत्तर छिमेकी गाउँ धनपालथान–६, नोचाका ४९ वर्षीय बालदेवप्रसाद शाह सुढीले पुनमको उपलब्धिले स्थानीय ग्रामीण महिलाको हिम्मत बढाएको बताए । सुढीले आफ्नो अढाई बिघा खेतका लागि १३ वर्षदेखि पुनमकै पसलबाट कृषि सामग्री किनमेल गर्छन् ।


मोरङको ग्रामीण भेकमा समाजका लागि अनुकरणीय बनेकी उनी एक्ली एकल महिला भने होइनन् । सरकारी र गैर सरकारी संस्थाको सहयोग विनै समृद्धिको यात्रा तय गरिरहेकीमा धनपालथान–४ की ६९ वर्षीया सुशीलादेवी साह पनि हुन् । विहारको फारबिसगञ्ज माइती भएकी उनी नजिकैको जहदा हाटमा पतिसँग मिलेर चिया पसल चलाउँथिन् ।


कान्छो छोरा राम केवल दुई वर्षको हुँदा ३२ वर्षअघि सुशीलादेवीको श्रीमान बाबुलालको निधन भयो । त्यसपछि यो परिवारलाई खानलाउन समेत धौंधौं पर्यो ।


पसल तथा घरगरी १५ धुर जति मात्र जग्गा भएकी उनले चार छोरा र दुई छोरीको पेट भर्नुको साथै वर्तमान एवं भविष्य पनि सपार्नु थियो । लोग्नेको चित्ताको आगो नसेलाउँदै स्थानीय समाज तथा माइती पक्षले सुशीलालाई अर्को विहे गर्ने दबाब दिइरहे तर एक्लैले बच्चाबुच्ची हुर्काउने अठोटका साथ उनले साप्ताहिक हाटबजारमा प्याजी, पकोडा, बेसनको जेरी (झिलिया) र आलु चप बनाएर बेच्न थालिन् । ‘हाट नभएको दिन खुर्सानी टिप्ने, मकै छर्ने र धान केलाउने जस्ता कृषि मजदुरी गर्थेँ, सन्तानहरूलाई यसरी नै पालेँ,’ सुशीलादेवीले भनिन् । उनी विगत सम्झै भक्कानो परिन् ।


‘पुरानो कपडा किनेर लाउँथे, एउटै लुगा सुत्ने बेलामा धोएर सुकाउमर्नु न बाँच्नुको अवस्थामा पनि माइती र समाजबाट रत्तिभर सहयोग पाइन,’ सुशीलादेवीले भनिन् । माइती र घर एकै थलोमा भएकी कटहरीकै दक्षिण सीमावर्ती जहदा–४, रामचोककी ५८ वर्षीया गंगियादेवी शाह (सुढी) को सँघर्ष कथा पनि अद्भुत छ ।


श्रीमानको देहान्त हुनुअघिसम्म उनले घरको चौघेराबाट बाहिर पाइला राखेकी थिइनन् । १० वर्षदेखि चोकमा सामान्य चियानास्ता पसल सञ्चालन गरिरहेका श्रीमान ५५ वर्षीय गणेशप्रसादको रोगले ०६० मा निधन भएपछि गंगियादेवीको जीवनमा चुनौतीपूर्ण मोड आयो ।


त्यतिबेला उनको १९ वर्षीय छोरा सुनीलले आयुर्वेद विषय र १३ वर्षीय कपिल स्कुल पढ्दै थिए । ‘बुढा बाचुन्जेल कहिल्यै पसलमा खुट्टा राखेको थिइन तर बच्चाहरूको पढाइ खर्च जुटाउनलाई अन्य उपाय पनि थिएन,’ उनले भनिन्, ‘त्यो बेला यो क्षेत्रमा एक्लैले चियानास्ता चलाउने म पहिलो महिला हुन पुगेँ ।’ अहिले गंगियालेदेवीले परिवारको पहिलाको १० धुरमा रहेको पसल बाहेक आफ्नै कमाइले १८ धुर घडेरी जोडेका छन् ।


‘पसल चलाउने कुनै अनुभव नभएकोले सुरुको केहि वर्षहरूमा एक्लै सम्हाल्न नीकै कठिन भयो,’ उनले भनिन्,‘घर वाहिरको संसारको अनुभव नभएको हुनाले चियाखाजाका लागि आउने पुरुषहरूसँग बोल्न र व्यवहार गर्न अप्ठेरो लाग्थ्यो ।’


मधेसी बहुल मोरङको दक्षिणपूर्वी गाउँघर डुल्दै जाँदा टोलपिच्छै अरु पनि एकल महिलाहरू भेटिए जसले समाजमा पुरुषसँग काँधमा काँध मिलाएर पुरा परिवार हाकिरहेका छन् । मोरङको रंगेली नगरपालिका ७ की ४० वर्षीया जानकीदेवी शाह हलुवाई पनि स्थानीय समुदायका लागि यस्तै एक प्रेरक नारी हस्ताक्षर हुन् ।


कक्षा १० सम्म पढेकी जानकीदेवीले श्रीमान मनोजको निधनपछि सौन्दर्य सामग्रीको पसल गरी छोरा अभिषेकलाई कम्प्युटर इन्जिनियरिङ पढाइरहेकी छन् । रेडियोलोजीको पढाइ सकेपछि उनको छोरी अंशुले विराटनगरको एक निजी अस्पतालमा काम गर्दै लोकसेवा आयोगको तयारी गरिरहेकी छन् ।


‘करिब डेढ दसकअघि श्रीमान बितेपछि सन्तानका लागि बाआमाकै दायित्व निभाउनुपर्‍यो,’ उनले भनिन्, ‘ श्रीमानले नै यो पसल चलाउनु हुन्थ्यो, घरको कामपछि बेलाबेलामा सघाउने हुनाले अलिअलि आइडिया थियो, जुन पछि वरदान सावित भयो । श्रीमानको देहान्त हुँदा उनी दुई नाबालक छोराछोरीका जवान आमा थिइन् । व्यापार सम्हाल्दा सामाजिक रूपले उनलाई सहज थिएन ।


‘महिला भएर पसल चलाउँछ भन्दै कुरा काटनेहरूको कमी थिएन, लेनदेन र किनमेलको क्रममा पुरुष व्यापारी एवं ग्राहकसँग हाँसेर बोल्दा चरित्रमाथि लाञ्छना लगाउने मनग्यै थिए,’ जानकीदेवीले भनिन्, ‘मैले यी सब वाहियात कुराको वास्ता गरिनँ, छोराछोरीको मुहार हेरेँ किनकी म अगाडि नबढेको भए उनीहरूको पढाइ पुरा हुन त परै जाओस्, भोकभोकै मर्थे ।’ आफ्नै पौरखले रंगेलीमा पक्की घर बनाइन् । विराटनगरमा समेत घर किनेपछि एक दसकपछि उनलाई हेर्ने आँखाहरूमा परिवर्तन आएको छ ।


अचेल स्थानीय मधेसी समुदायका महिलाले सादगीका साथ भान्छादेखि खेत र व्यवसायसम्म स्वतःस्फूर्त रूपमा महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहेका भेटिन्छन् । ‘नारीमा प्राकृतिक रूपले नै मातृत्व र संरक्षकत्वको अथाह शक्ति हुन्छ,’ विराटनगरका सामाजिक अभियन्ता नरेश बरालले भने, ‘दुःखद वा सुखद, जुनसुकै कारणले भए पनि एकल जिम्मेबारी र नेतृत्व पाएपछि उनीहरूमा व्याप्त यिनै अद्भुत गुणले परिवारलाई मजबुत बनाउँछ ।’


बाह्य रूपमा सरल देखिने ग्रामीण मधेसी समुदायका महिलाहरू त पुरा परिवारको धुरी भएको उनले बताए । ‘मधेसको गाउँ घुमफिर गर्दा महिलाहरूलाई बिहानसाँझ घरगोठमा देख्छौं, दिनमा खेत, पसल र हाट बजारमा भेट्छौं,’ बरालले भने ।

प्रकाशित : जेष्ठ १८, २०७६ ०९:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?