कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

युवाबीच 'नमुना संसद्’

प्रदेश १ का १४ जिल्लाबाट छनोट भएका ४० जना युवाले संसदीय अभ्यास गरे
देवनारायण साह

मोरङ — संसदमा सत्ता र प्रतिपक्षबीच खुला प्रश्नोत्तर चलिरहेको थियो । युवा सरकारका ‘प्रधानमन्त्री’ सरोज ढकालले संसदमा उठेका प्रश्नको जवाफ दिँदा सत्तापक्षले टेबल ठटाए ।

युवाबीच 'नमुना संसद्’

प्रतिपक्षले प्रधानमन्त्रीको जवाफ गम्भीरतापूर्वक सुनिरहेका थिए । संसदमा खुला प्रश्नोत्तर चलिरहँदा सभामुखलाई सम्बोधन गर्दै प्रतिपक्षका सांसदहरूले सम्बन्धित मन्त्रालयका मन्त्री र प्रधानमन्त्रीसँग खोजिएका जवाफ रोमाञ्चक र यथार्थपरक थिए ।


संसद भवनमा सत्तापक्ष र प्रतिपक्षबीच हुने वैचारिक मतभेददेखि सांसदहरूले उठाएका समस्या यथार्थपरक थिए । यो दृश्य शनिबार प्रदेश १ को राजधानी विराटनगरमा सम्पन्न नमुना युवा संसदको स्थापना र अभ्यास कार्यक्रमका सहभागीको प्रस्तुति हो ।


विराटनगरमा ४ दिनसम्म सञ्चालन भएको कार्यक्रमको अन्तिम दिन १४ जिल्लाबाट छनोट भएर आएका ४० जना सहभागीले अभ्यास गरेका थिए । संसदीय अभ्यासका विषयमा पूर्वसचिव वीरेन्द्रबहादुर कार्कीले सहजीकरण गरेका थिए । युवा पुस्तालाई व्यवस्थापिका संसदको प्रक्रिया र नीतिगत व्यवस्थाबारे जानकारी गराउने उद्देश्यले विराटनगरमा नमुना युवा संसद सञ्चालन गरियो । युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय युवा परिषदले पहिलोपटक प्रदेशभरका युवाहरूको संलग्नतामा नमुना युवा संसद सञ्चालन गर्‍यो ।


परिषदले प्रदेश १ स्थित १४ वटै जिल्लाबाट सांसद चयन गरी प्रदेश सदरमुकाम ल्याएको थियो । नमुना संसदमा सरकार, संसद र प्रतिपक्षीको अभ्यास गरिएको थियो । चुनावी प्रक्रियाबाटै सांसदहरूले राष्ट्रपति, प्रधानमन्त्री, सभामुख, गृहमन्त्री र मन्त्रीहरू चयन गरे ।


४० जना युवायुवती सहभागी कार्यक्रममा चुनावी सरगर्मी निकै चर्किएको थियो । चुनावी प्रक्रियाबाटै सभामुख चुनिएपछि संसदीय प्रक्रिया सुरु भएको थियो । संसदका ‘सभामुख’ ताप्लेजुङका अञ्जी डुक्पा चुनिएका थिए ।


युवाहरूको नेतृत्व विकास, राजनीतिक आकर्षण, संसदीय अभ्यास गराउँदै अनुभव आदानप्रदानका लागि कार्यक्रम महत्त्वपूर्ण रहेको युवा परिषद मोरङका अध्यक्ष रविन थापाले बताए । उनले यस्ता कार्यक्रममा उठ्ने सवालले सरकारलाई समेत बल प्राप्त हुने उनको भनाई थियो । नमुना संसदमा प्रधानमन्त्री चुनिएका झापाका ढकालले यो कार्यक्रमले नेतृत्व विकासका लागि महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताए । ‘पहिलोपटक संघीयतामा प्रवेश गरेको नेपालका तीनै तहका सरकारको भूमिकाको विषयमा पनि ज्ञान प्राप्त भयो,’ उनले भने ।


कार्यक्रममा प्रतिपक्षी दलकी प्रमुख सचेतकको भूमिका निर्वाह गरेकी रोजिना पाण्डेले आफै संसद भएको अनुभूति भएको बताइन् । ‘संसद र प्रतिनिधिसभाभित्र हुने अनुशासन, प्रकृया र मर्यादाका सवालमा ज्ञान प्राप्त भयो,’ उनले भनिन्, ‘राजनीति मन नपराउनेलाई समेत संसदीय प्रक्रियाको बारेमा बुझ्नु अत्यावश्यक रहेको अनुभूति भयो ।’


सांसदको भूमिकामा रहेकी उदयपुरकी प्रसुना खडकाले संसदको विषयमा जानकारी भएको बताइन् । कार्यक्रमले वाककला र संसदीय अनुशासन सिकाएको उनको धारणा थियो ।

प्रकाशित : जेष्ठ १९, २०७६ १०:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?