कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

आकस्मिक प्रसूति शल्यक्रिया सुरु

डिल्लीराम खतिवडा

उदयपुर — कटारी अस्पतालमा आकस्मिक प्रसूति शल्यक्रिया सेवा सुरु भएको छ । कटारी नगरपालिकाको व्यवस्थापनपछि अस्पतालले सोमबारबाट सेवा सुरु गरेको हो । 

आकस्मिक प्रसूति शल्यक्रिया सुरु

पहिलो पटक कटारी नगरपालिका–५ बरमझियाकी २४ वर्षीया फूलकुमारी दनुवारको शल्यक्रिया गरी सेवा सुरु गरिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. पवनकुमार साहले बताए । सुत्केरी व्यथापछि अस्पताल आएकी दनुवारलाई शल्यक्रियापछि छोरी जन्मिएको डा. पवनले जनाए ।

२५ शय्याको कटारी अस्पताल स्तरोन्नतिसँगै आकस्मिक प्रसूति शल्यक्रिया सेवा सुरु गरेको डाक्टर गौरव साहले बताए । ‘कटारीको अस्पतालमा आकस्मिक प्रसूति शल्यक्रिया सेवा नहुँदा समस्या थियो,’ उनले भने, ‘कटारीमै सेवा नहुँदा यस क्षेत्रका सर्वसाधारण आकस्मिक प्रसूति शल्यक्रिया सेवाका लागि महँगो मूल्य तिरेर धरान, विराटनगर, काठमाडौंसम्म पुग्नुपर्ने बाध्यता थियो ।’

अस्पताल व्यवस्थापन नगरपालिकाले गरेपछि आकस्मिक प्रसूति शल्यक्रिया सेवासमेत सुरु गर्न सकिएको नगरप्रमुख ज्ञानेन्द्र श्रेष्ठले बताए । ‘नगरपालिककाले साधन स्रोतको व्यवस्थापनसँगै चिकित्सा सेवासमेत गरेपछि शल्यक्रियासहित प्रसूति सेवा दिन सकिएको छ,’ उनले भने, ‘शल्यक्रियासहितको प्रसूतिसँगै अब अस्पतालको भौतिक व्यवस्थापन गरिरहेको छ ।’ चाँडै अस्पतालको स्तर उन्नति

गरेर प्रसूतिसहित अन्य सेवा विस्तार गरिने उनले बताए ।

अस्पतालमा आकस्मिक प्रसूति शल्यक्रिया सेवा सुरु भएपछि कटारीसँगै ओखलढुंगा, खोटाङ र सिन्धुलीका सुत्केरीलाई सेवा सहज हुने अस्पतालले विश्वास लिएको छ । दुई वर्षयता कटारी अस्पतालले शल्यक्रियासहितको प्रसूति सेवा सञ्चालन गर्न ल्याब, प्रसूति कक्षसहित विभिन्न उपकरणको व्यवस्था गरिएको थियो । चिकित्सक र तालिम प्राप्त नर्सको अभावमा सेवा उपलब्ध गराउन सकिएको थिएन ।

दरबन्दीका डाक्टर नहुँदा उदयपुर जिल्ला अस्पताल गाईघाटमा महिनौंदेखि सेवा प्रभावित भएको छ । अन्य डाक्टरसँगै गाइनोलोजिस्ट नहुदाँचार प्रसूति सेवा प्रभावित भएको हो ।

यता डाक्टर नहुँदा जिल्ला अस्पताल गाईघाटमा प्रसूतिलगायतका अन्य सेवा प्रभावित भएको छ । अस्पताल व्यवस्थापनको कमजोरीसँगै गाइनोलोजिस्ट नहुँदा प्रसूतिमा समस्या भएको हो । ५० शय्याको अस्पतालमा व्यवस्थित प्रसूतिगृह (बर्थिङ सेन्टर) भए पनि डाक्टर नहुँदा गर्भवती महिलालाई प्रसूतिका लागि धरान, विराटनगर, लहान र जनकपुरसम्म लैजानुपरेको सर्वसाधारणले गुनासो गरेका छन् ।

‘महिनौंदेखि प्रसूति सेवा पूर्णरूपले सञ्चालन हुन सकेको छैन,’ अस्पताल गेटमा औषधि पसल सञ्चालन गर्दै आएका विजय मेडिकलका प्रोपराइटर विजय साहले भने, ‘दक्ष डाक्टर नहुँदा महिनौं भयो प्रसूति सेवामा असर परेको छ ।’ त्यसैगरी दरबन्दीअनुसार डाक्टर नहुँदा अन्य सेवासमेत प्रभावित भएको उनले बताए । अस्पतालमा भिडियो एक्सरेलगायत अन्य उपकरण भए पनि व्यवस्थित रूपमा सञ्चालनमा छैनन् ।

बिरामी जाँच गर्ने डक्टरसँगै उपकरणसमेत नहुँदा महँगो मूल्य तिरेर निजी अस्पताल र क्लिनिकमा औषधोपचार गर्न बाध्य भएको स्थानीयले गुनासो गरेका छन् । ‘सामान्य ज्वरो आउँदासमेत निजी अस्पतालमा महँगो मूल्य तिरेर उपचार गराइरहनुपरेको छ,’ त्रियुगा नगरपालिका ११ कल्पना कार्कीले भनिन्, ‘सरकारी अस्पतालमा डाक्टर छैनन्, निजी नजाँदा अकालमै मरिन्छ कि भन्ने

पीर छ ।’

निजी अस्पतालले पनि विभिन्न बहानामा रकम लुटेर अन्त्यमा यहाँ उपचार हुन नसक्ने भन्दै बाहिर पठाइदिँदा समस्या भएको उनले बताइन् । विशेषज्ञसहित १६ डाक्टर दरबन्दी रहेको अस्पतालमा अहिले ३ जना पनि डाक्टर नरहेको अस्पताल प्रशासनले जनाएको छ ।

प्रकाशित : जेष्ठ २२, २०७६ १०:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?