२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८२

अञ्चल अस्पतालमा मुटु रोगको विशेषज्ञ सेवा

जितेन्द्र साह

विराटनगर — बरिष्ठ मुटुरोग विशेषज्ञ ४६ वर्षीय डा.सर्वेशकुमार झाको नेतृत्वमा विराटनगरस्थित कोसी अञ्चल अस्पतालको मेडिकल विभाग भवनमा अर्को वर्षदेखि ‘क्याथ ल्याब’ सेवा सुरु हुने भएको छ । यो ल्याबमा मुटुको आधारभूतदेखि जटिल प्रकृतिको जाँच हुने उनले जानकारी दिए ।

अञ्चल अस्पतालमा मुटु रोगको विशेषज्ञ सेवा

‘अस्पतालको यस्तो खाले जाँच कक्ष वा प्रयोगशालामा मुटुभित्रको गहन समस्या पता लगाउनुकासाथै उपचार पनि हुन्छ,’उनले कान्तिपुरसँग भने । पूर्वी क्षेत्रमा मुटुका बिरामीहरुको संख्या बढै गएको हुनाले तत्कालै यो सेवा आवश्यक भइसकेको उनले बताए । अस्पतालले यसकोलागि चाहिने ‘हाइ इन्ड क्याथ ल्याब मेशीन’ खरिद तथा जडानकालागि स्वास्थ्य मन्त्रालयसँग १२ करोड ४३ लाख रुपैयाँ माग गरेको छ ।


उक्त मेशीन नहुँदा बिरामीको उपचारमा समस्या आइरहेको उनले बताए । उक्त अस्पतालमा दैनिक औषत ४० जना उच्च रक्तचापबाट पीडितलगायत विभिन्न खाले मुटुको बिरामी आउने गरेको झाले बताए । उनले २० जना मुटुकै समस्याबाट पीडित हुने गरेको खुलासा गरे । ‘मुटुको भल्भ फेर्नुपर्ने वा ओपन हार्ट सर्जरी गर्नुपर्ने रोगीलाई आफ्नै पहलमा देशकै विभिन्न सरकारी एवं निजी अस्पतालमा अहिलेसम्म पठाइरहेको छु,’उनले भने, ‘बिरामीको रिर्पोटसहित मेल र मेसेज गर्छु, आर्थिक अवस्था खराब भएमा सहयोग गरिदिन अस्पताल एवं सहयोगी सँघसंस्थालाई समेत आग्रह गर्छु ।’


झाको अनुसार कोसी अञ्चल अस्पतालको आईसीयूको ६ वटा बेडमा सधैं उच्च रक्तचाप र मुटुकै बिरामी हुन्छन् । पहुँच विहिनले समेत सेवा पाउने यहाँको आईसीयूमा कम्तिमा २० बेडको आवश्यकता छ । डा. झाको अनुसार चार दसक अगाडि पूर्वाञ्चल र विहारका ३ देखि ५ लाख जनसंख्यालाई ध्यानमा राखिंदा आईसीयूमा बेड संख्या ६ नै थियो ।


अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट (मेसु) डा.रोशन पोखरेलले भने,‘स्वास्थ्यमन्त्री उपेन्द्र यादवले क्याथ ल्याब योजना बारेमा सुन्न बितिकै खुशी भइ बजेट उपलब्ध गराउन मन्त्रालयमा पत्र लेख्न लगाउनु भएको हो ।’ उपकरणका लागि रकम उपलब्ध हुनासाथ कार्यान्वयनमा जाने उनले बताए । डा.पोखरेलले भने,‘यो वर्ष बजेट निकाशा हुने विश्वास दिलाइएकोले त्यहि अनुरुप अस्पतालको तर्फबाट तयारी अघि बढेको हो ।’


मुटुरोग विशेषज्ञ डा.झालाई यहि विशेषज्ञ सेवाको योजना निर्माण एवं कार्यान्वयनकालागि यस अस्पतालमा आमन्त्रण गरिएको उनले प्रष्टयाए । महोत्तरीको जलेश्वरका झाले चिन सरकारको राष्ट्रपतीय छात्रवृति कार्यकर्ममा छनौट भइ मुटु नचिरि नसाबाटै सल्यक्रिया गर्ने चार वर्षे ‘इन्ट्राभेन्सन कार्डियोलोजिस्ट’ विषयमा पीएचडी (विद्यावारिधी) र लण्डनको वेस्टमिनिस्टर विश्वविद्यालयको छात्रवृतिमा जनस्वास्थ्यमा स्नातकोत्तर (एमपीएच) गरेका हुन् ।


डा.झाले भने,‘मुटुको व्यथाबाट ग्रस्त विपन्नले पनि सहजै उपचार पाउन् भन्ने हाम्रो लक्ष्य हो ।’ मुटुको रोग पत्ता लगाउन गरिने इको र ईसीजी सेवा यो अस्पतालमा निजीकोभन्दा चार गुणा कम शुल्कमा उपलब्ध छँदैछ ।


इच्छा शक्ति र प्रतिवद्धता भएमा सरकारी अस्पतालमा स्तरीय र विश्वसनीय उपचार सेवा दिन सकिने उनले बताए । झाको अनुसार ‘क्याथ ल्याब’ खोल्न सकिएमा सरकारकै नियमकानूनको दायरामा रहेर निजीकोभन्दा आधी शुल्कमा विदेश स्तरको उपचार सेवा दिन सकिन्छ । ‘मुटुको यन्त्र/उपकरणमा सरकारले भन्सार कर छुट गरेकै छ,’उनले भने, ‘प्रविधिको चिन्ता भएन, त्यसको सञ्चालन गर्न सक्ने दक्ष जनशक्ति तयार गर्न यहि अस्पतालमा मेरै पहलमा क्षेत्रीय स्तरको तालिम केन्द्र खोलिएको छ ।’


उनले यो अञ्चल अस्पतालमा क्याथ ल्याबकालागि भौतिक पूर्वाधारको समस्या नभएको बताए । ‘मेडिकल विभागमा प्रशस्तै ठाउँ छ, एक छेउमा क्याथ ल्याब हुनेछ,’उनले भने,‘अर्को छोरमा १० बेडको बालबालिका हेरचाह युनिट पनि राख्छौं ।’ हाल उक्त विभागमा रहेको प्रसुति सेवाका लागि एक अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाले नयाँ भवन निर्माण गरिरहेको हुनाले ठाउँ खाली हुन लागेको हो ।


‘नयाँ भवन एक वर्षभित्रै पूरा हुने संकेत देखियो, सरकारले यो वर्ष बजेट उपलब्ध गराउन बितिकै अर्को वर्ष क्याथ ल्याब पनि सुरु हुनेछ,’डा.झाले भने । उनको अनुसार मुटुका बिरामी र बालबालिकाको उपचारकालागि मेडिकल विभागको भूइँ तल्ला उपयुक्त, पर्याप्त र पूर्ण छ । ‘सबैले सहजै देख्न सक्ने अस्पतालको मुख्य द्वारको नजिकै यो विभाग छ,’उनले भने,‘रोगको प्रकृति अनुरुप सेवाग्राहीको आवागमनमा असहज हुने थलोमा यस्तो ल्याब र बालबालिका वार्डलाई राख्न मिल्दैन ।’

प्रकाशित : जेष्ठ २३, २०७६ १८:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?