कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

जडिबुटी भण्डारण केन्द्र खोलिए

इलाम — व्यावसायिक जडिबुटी खेती हुँदै आएको जिल्लाको उत्तरी क्षेत्रमा जडिबुटी भण्डारणका लागि भवन निर्माण भएका छन् । भण्डारण केन्द्रको अभावमा कृषकले संकलन गर्ना साथ जस्तो मूल्यमा भए पनि बिक्री गर्नुपर्ने बाध्यता थियो । सन्दकपुर गाउँपालिका ३ को माइपातलमा दुई संकलन केन्द्र निर्माण गरिएको हो । 

जडिबुटी भण्डारण केन्द्र खोलिए

जिल्ला वन कार्यालयको सहयोगमा निर्मित यी भण्डारण केन्द्रको प्रभावकारी सञ्चालन हुनु पर्ने स्थानीयको भनाई छ । देउराली बजार नजिक रहेको संकलन केन्द्रका लागि डिभिजन वन कार्यालयले १८ लाख रुपैयाँ खर्च गरेको छ । त्यस्तै सन्दकपुर किवी सहकारी संस्थाले ४ लाख ४७ हजार रुपैयाँ लगानी गरेको हो । व्यवस्थापन र सञ्चालनको जिम्मा पनि सहकारीले नै गर्नेछ ।


त्यस्तै अर्को भण्डारण केन्द्रका लागि वन कार्यालयले १२ लाख रुपैयाँ सहयोग गरेको छ । माइपोखरी हर्वल अर्गानिक एग्रिकल्चर फर्मले ३ लाख रुपैयाँ लगानी गरेको हो । कृषकले सिजनअनुसार संकलन गरेका जडिबुटीलाई भण्डारण गर्दै उपयुक्त मूल्य आएपछि बिक्री गर्न सहज हुने डिभिजन वन कार्यालयका प्रमुख श्रीप्रसाद बरालले बताए ।


‘यस क्षेत्रका कृषकले निजी नम्बरी जग्गामा लामो समयदेखि जडिबुटी उत्पादन गर्दै आएकाले यी भण्डारण केन्द्रले प्रत्यक्ष फाइदा पुर्‍याउने छ,’ उनले भने, ‘यसको नियमित र प्रभावकारी सञ्चालनका लागि भने गाउँपालिकासहित स्थानीयले नै पहल गर्नु पर्छ ।’ दुवै संकलन केन्द्रमा सौर्य प्रणालीले सञ्चालन हुने १/१ वटा ड्रायर पनि राखिएको छ । जसमा काँचो वस्तुलाई छोटो सममा सुख्खा बनाउन र जडिबुटीलाई चिसो बनाई राख्न सहज हुनेछ । यी भवनलाई जडिबुटी प्रशोधन केन्द्रका रूपमा सञ्चालन गर्ने पनि कार्यालयको सोच छ ।


यो क्षेत्रमा चिराइतो, लौटसल्ला, ओखेआललगायतका जडिबुटी कृषकले व्यावसायिक ढंगले उत्पादन गर्दै आएका छन् । जिल्लामा कतिपय स्थानमा बनेका तरकारी संकलन केन्द्रलगायतका भवन प्रयोगविहीन भएकाले पनि सरोकारवालाले यसको प्रभावकारी सञ्चालनमा पनि उत्तिकै ध्यान पुर्‍याउनु पर्ने कृषकको माग छ ।


‘लामो समयको पर्खाइपछि यी केन्द्र बनेकाले गाउँपालिकाले सञ्चालनमा स्थानीयलाई नै प्रोत्साहित गर्नेछ,’ सन्दकपुर गाउँपालिकाका अध्यक्ष उदय राईले भने, ‘गाउँपालिकाका तर्फबाट यसलाई प्रभावकारी बनाउन सक्दो सहयोग पुर्‍याउने छौं ।’


यी केन्द्रले यस क्षेत्रमा व्यावसायिक उत्पादन हुने किवी फलको भण्डारणमा सहजता हुने अपेक्षा गरिएको छ । चिसो मौसम रहेकाले उत्पादित किवीलाई मागअनुसार बजारमा पुर्‍याउन सकिने किवी जोन सञ्चालक समितिका अध्यक्ष देउकुमार राईले बताए । केन्द्रले लौटसल्ला भण्डारमा पनि उत्ति सहज हुने कृषकको अनुमान छ ।

प्रकाशित : जेष्ठ २६, २०७६ १०:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?