लक्ष्यभन्दा बढी राजस्व

१७ स्थानीय तहमध्ये उत्तरी क्षेत्रमा संकलन बढी भए पनि दक्षिणी क्षेत्रमा लक्ष्य भेटाउन हम्मे
देवनारायण साह

(मोरङ) — स्थानीय तहमा लक्ष्यभन्दा बढी राजस्व असुली भएको छ । जिल्लाका उत्तरी क्षेत्रमा राजस्व असुली बढे पनि दक्षिणी क्षेत्रमा भने लक्ष्य पुर्‍याउन हम्मे भइरहेको छ ।

लक्ष्यभन्दा बढी राजस्व

केराबारी गाउँपालिकाले लक्ष्यभन्दा बढी राजस्व संकलन भएपछि संशोधन गरेको छ । गाउँपालिकाले ५ करोड ६२ लाख ४४ हजारको लक्ष्य राखे पनि १७ करोड ७० लाख ७० हजार १ सय ५२ रुपैयाँ राजस्व असुली गरेको छ । गाउँपालिकाका सूचना तथा सञ्चार प्रविधि अधिकृत सुभाष सुवेदीका अनुसार संशोधनमा १८ करोड २६ लाख ३६ हजार राखिएको छ ।


जिल्लाका १७ स्थानीय तहमध्ये राजमार्ग वरिपरिकाले लक्ष्यभन्दा बढी राजस्व असुली गरिरहेका छन् । उर्लाबारी नगरपालिकामा पनि यस वर्ष लक्ष्यभन्दा अधिक राजस्व असुली भएको छ । चालु वर्षका लागि नगरपालिकाले ४ करोडको लक्ष्य लिएकोमा वैशाख महिनासम्ममा नै ६ करोड ३५ लाख ५ हजार ८ सय २४ रुपैयाँ असुली भइसकेको राजस्व शाखाका भरत अधिकारीले बताए । उनले नगरमा आफूहरूले सोचेभन्दा धेरै कर असुली भएकाले राजस्व असुलीमा उल्लेख्य वृद्धि भएको बताए ।


विराटनगर महानगरमा चालु वर्षमा लक्ष्यको आधा मात्रै राजस्व संकलन भएको छ । महानगरले चालु वर्षको जेठ १५ गतेसम्ममा २८ करोड ४८ लाख ७७ हजार ७ सय २५ रुपैयाँ राजस्व संकलन गरेको छ । चालु आर्थिक बर्षमा महानगरको ५४ करोड ३ लाख राजश्व संकलन लक्ष्य छ ।


चालु आर्थिक बर्षको डेढ महिना बाँकी रहदासम्ममा महानगरले ५२ दशमलव ७३ प्रतिशत मात्रै राजश्व संकलन गर्न सकेको छ । महानगरस्थित १९ वटा वडामध्ये सबभन्दा बढी वडा ९ ले २ करोड ६१ लाख ३९ रुपैयाँ राजश्व संकलन गरेको छ भने सबभन्दा कम वडा १८ मा १० लाख ४३ हजार ३ सय ७९ रुपैयाँ मात्रै राजश्व संकलन भएको भएको महानगरको तथ्यांक छ । महानगरको वडा १, ८, १२, १३, १४, १५, १६, १७, १८ र १९ गरी १० वटा वडाले करोडभन्दा कम राजश्व असुली गरेको छ भने वडा २, ३, ४, ५, ६, ७, ९, १० र ११ गरी ९ वटा वडाले करोडभन्दा माथि कर असुली गरेको तथ्यांकमा उल्लेख छ ।


महानगरका प्रमुख प्रशासकीय अधिकृत एकदेव अधिकारीले चालु आर्थिक बर्षमा लक्ष्य अनुसारको कर उठिरहेको अबस्था नभएको स्विकारे । ‘महानगरमा करदाताहरूका लागि करमैत्री संरचना पनि नरहेकोले राजश्व संकलनमा केही समस्या भएको छ,’ उनले भने, ‘अनलाइनमार्फत कर बुझाउने, व्यवसाय दर्त्ता गराउनेलगायतका संरचना निर्माण भइसकेको अबस्था छैन ।’ चालु आर्थिक बर्षमा बजार क्षेत्रमा भइरहेका विकास निर्माणले बजार तथा व्यवसाय अनुगमन प्रभावकारी हुन नसकेकोले पनि लक्ष्य अनुसारको राजश्व असुलीमा समस्या भइरहेको अधिकारीको भनाई थियो । ‘यहाँ आर्थिक बर्षको अन्त्यमा सम्पति करलगायतका कर चुक्ता गर्ने प्रवृतिले पनि केही समस्या भएको छ,’ उनले भने, ‘यहाँका ठूला करदाताहरूले कर तिर्न बाँकी नै रहेकोले निरासै भइहाल्ने पनि अबस्था अहिले नै आइसकेको छैन ।’


कर संकलन अभियानलाई तिब्रता दिन तत्काल प्रत्येक वडा कार्यालयहरूमा कर सहजकर्त्ता खटाउने तयारी गरेको अधिकारीले बताए । त्यसले पनि कर संकलनमा वृद्धि हुनेमा आशावादी रहेको उनी भन्छन् । गत वर्षभन्दा दोब्बर राजस्व लक्ष्य राखेकाले पनि लक्ष्यअनुसारको राजस्व संकलनमा समस्या भएको अधिकारीले बताए ।


जहदा गाउँपालिकामा पनि लक्ष्य अनुसारको राजस्व असुली हुन सकेको छैन । हालसम्ममा लक्ष्यको ६३ दशमलव ९८ प्रतिशत ५७ लाख ५८ हजार मात्रै राजस्व असुली भएको गाउँपालिकाका सूचना अधिकारी रोशनकुमार साहले बताए । गाउँपालिकाको राजस्व असुली लक्ष्य ९० लाख छ ।


अर्थविद् भेषप्रसाद धमलाले जिल्लाको दक्षिणी क्षेत्रभन्दा उत्तरी क्षेत्रमा आर्थिक गतिविधि बढी भइरहेकाले त्यहाँका मानिसमा कर तिर्ने क्षमता धेरै भएकाले उत्तरी क्षेत्रका स्थानीय तहमा बढी राजस्व असुली भएको बताए । उनले दक्षिणी क्षेत्रका बासिन्दामा कर तिर्ने क्षमता कम भएकाले नै स्थानीय तहहरूले लक्ष्य अनुसारको राजस्व असुली गर्न नसकिरहेको बताए ।

प्रकाशित : जेष्ठ २७, २०७६ १०:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?