कोसी विस्थापितको व्यवस्थापन गरिने

पटक–पटक आएको बाढीले हजारौं बिघा जमिन बगाएको र बगरमा परिणत गरेपछि सुकुम्बासी बनेका परिवार तीनपुस्ता बित्दा पनि राहतविहीन
प्रदीप मेन्याङ्बो

सुनसरी — बराहक्षेत्र नगरपालिकाले ०२२ सालदेखि कोसी नदीको बाढी र कटानबाट विस्थापित भएकाहरूको लगत संकलन थालेको छ । नगरपालिकाले जेठ तेस्रो सातादेखि सप्तकोशी बाढीपीडित तथा सुकुम्बासी व्यवस्थापन समिति गठन गरेर पारिवारिक विवरणसहित लगत संकलन सुरु गरेको हो ।

कोसीको बाढी र कटानबाट विस्थापित भएका सुनसरी बराहक्षेत्रका बासिन्दा आफ्नो जग्गा धनीपुर्जा देखाउँदै । तस्बिर : प्रदीप/कान्तिपुर

कोसी नदीमा पटक–पटक आएको बाढीले हजारौं बिघा उर्वर जमिन बगाएको र कतिपय बगर बनाएको छ । अधिकांश बासिन्दाका जमिनमाथि अहिले नदी बगरिरहेको छ । विस्थापितहरू कोसीको पूर्वी किनारामा रहेको ऐलानी पर्ती जग्गामा सुकुम्बासी बस्ती बनाएर बस्न थालेको तीन पुस्ता बितिसकेको छ ।

सुकुम्बासी बन्न बाध्य भएकाहरूको समस्या दीर्घकालीनरूपमा समाधान गर्न नगरपालिका मातहतमा रहने गरी वडाध्यक्ष फडिन्द्रप्रसाद भट्टराईको संयोजकत्वमा समिति गठन गरिएको हो । समितिले जेठ २२ गतेदेखि काम सुरु भएको बताएको छ । लगत संकलन नगरका ११ वटै वडामा भइरहेको छ । स्थानीय सरकारको स्तरबाट वराहक्षेत्र नगरपालिकाले पीडितको समस्या समाधान गर्न लगत संकलन मार्फत पहिलो पटक प्रयास थालेको हो ।

नगर प्रमुख खनालले कोसी नदीबाट विस्थापित हजारौं नागरिक अनागरिक झै जीवन बिताउन बाध्य भएपछि उनीहरूकै माग र चाहनालाई ध्यानमा राखेर लगत संकलन सुरु गरेको बताए । उनले भने, ‘नगरका आधाभन्दा बढी जमिनमा ऐलानी, वनक्षेत्र पर्तीमा अव्यवस्थित रूपले बसिरहेका नगरवासीलाई व्यवस्थित गर्नसमिति गठन गरिएको हो ।’

यसअघि सरकारले कोसी पीडितको समस्या समाधानका लागि ०६९ सालमा कुमार पौडेलको अध्यक्षतामा सप्तकोसी डुबान कटान समस्या समाधान सुझाव समिति बनाएको थियो । समितिले आफ्नो प्रतिवेदन सरकारलाई बुझाए पनि त्यसको अत्तोपत्तो छैन । ०११ सालमा भीमनगरमा कोसी व्यारेज बन्नु अघि नै कोसीको पूर्वी तट आसपासका क्षेत्रहरू सिधुरे टापु, माथिल्लो जब्धी, जामपानी, मोरिया, गरैया, तित्रीगाछी, श्रीलंका टापु लगायतमा पहाडदेखि तराई बसाइँ सर्ने क्रममा घना बस्ती बसेको थियो । त्यहीं बस्दै आएका बासिन्दालाई ०४५ सालमा तत्कालीन प्रधानमन्त्री मरिचमान सिंह श्रेष्ठले नापी गरी लालपुर्जा दिएका थिए ।

सप्तकोसी डुवान कटान पीडित संघर्ष समितिका अध्यक्ष प्रल्हाद थापाले भारत र नेपालबीच कोसी सम्झौताको परिणाम भीमनगरमा ब्यारेज निर्माण भएको एकदशकपछि कोसीमा बाढी र कटानमा तिव्रता आएको बताएका थिए । कोसी बाढी र कटानबाट विस्थापितले आफूहरू विस्थापित हुनुमा कोसी सम्झौता र भीमनगर व्यारेज निर्माण प्रमुख कारक रहेको बताउँदै आएका छन् ।

कोसी व्यारेजले नेपालको पूर्व–पश्चिम हाइवे आवागमनमात्र सहज बनाएर भारतलाई पनि आवागमनमा सहज बनायो । तर व्यारेजभन्दा उत्तर, पूर्व र पश्चिम किनारमा रहेका सुनसरी, सप्तरी र उदयपुरका बासिन्दा भने विस्थापित हुन पुगे ।

व्यारेजले कोसीको वहाव र पानी नियन्त्रण गरेपछि पानीको सतह उठेर सोही अनुपातमा कोसीले पहाडबाट बगाएर ल्याएको ढुंगा मुढा र बालुवाको सतह पनि माथि उठेकाले ०२२ साल जेठ २८ नदीको बाढीले पूर्वी तटमा पर्ने सिंधुरे टापुको बाँध फुटाएर गाउँबस्तीमा पसेको थापाले बताए । ब्यारेजकै कारण कोसीको बाढी दोस्रो पटक फेरि २०२५ सालमा पनि आएका बेला स्थानीय बासिन्दाले ठूलो जनधनको क्षतिको सामना गर्नु पर्‍यो ।

२०३५ साल असोज १७ गते तेस्रो पटक बाढी आउँदा पूर्वी किनार हान्दै बाटो नै बनाएको थियो । पीडितले हालसम्म कुनै क्षतिपूर्ति मुआब्जा नपाएकाले लगत सङलन समितिको आफ्नो काम सकेपछि यथार्थ विवरणको प्रतिवेदन तयार पारी संघीय सरकारलाई बुझाउनेनगरपालिकाको योजना रहेको छ ।

लगत संकलन समितिका संयोजक तथा वडा नं. ७ का अध्यक्ष फडिन्द्रप्रसाद भट्टराईका अनुसार प्रतिवेदनमार्फत नै संघीय सरकारलाई एक ‘उच्चस्तरीय अधिकार सम्पन्न छानबिन आयोग’ र विस्थापित व्यवस्थापन गर्न माग गर्ने नगरपालिकाको योजना छ ।
संघर्ष समितिले कोशी नदीमा आएको पटक–पटकका बाढीका कारण वराहक्षेत्र नगरपालिकाको पश्चिम तटीय क्षेत्रका २ हजार ५ सय २१ घर–परिवार विस्थापित भएको र स्थानीय नागरिकको ४ हजार ७७ बिघा १४ कट्ठा सवा १० धुर जग्गाकटान–डुबानमा परेको थियो ।

प्रकाशित : जेष्ठ २८, २०७६ १०:०६
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

खुम्बुक्षेत्रमा दोस्रो अवतारी लामा

कान्तिपुर संवाददाता

सोलुखुम्बु — दावा गेल्जेन र टासीफुटी शेर्पाका चार वर्षको अन्तरालमा दुई सन्तान भए, पहिलो छोरी र दोस्रो छोरा । दूधकोसी नदी किनारमा होटल व्यवसाय गर्दै आएका दावागेल्जेनले छोरा जन्मिएपछि ‘दुई सन्तान ईश्वरको बरदान’ झैं ठाने ।

छोराको नाम लामाले न्वारानामा सोनामफिन्जु राखिदिए । अढाई वर्षको उमेरमा बोल्न थालेका उनले बाटोमा हिँड्ने बटुवालाई आफ्नो गाउँघरको खबर सोध्न थाले । कतिपयलाई धेरै पहिलेदेखि प्रष्ट चिनेझैं गरी नामैले बोलाउँथे ।

बाटो हिँड्ने बटुवा पनि छक्क पर्थे । छोराको अनौठो व्यवहारले दावागेल्जेन र टासी बेलाबेलामा अचम्म मान्थे । ‘अलि प्रष्ट बोल्दै गएपछि त मेरो घर यो होइनसम्म भन्न थाल्नुभयो ।’ दावागेल्जेनले भने, ‘बिस्तारै छिमेकी र अन्य सबैले सोनामफिन्जु साधारण बालक नभएको अनुमान गरे ।’ उनको क्रियाकलापको सन्देश रोल्वालिङ गुम्बासम्म पुग्यो । गुम्बाका मान्छेले आएर अनुसन्धानपछि अवतारीका रूपमा जन्म भएको बताए ।

खुम्बुपा साङल्हामु गाउँपालिका ३ जोरसल्लेका यी बालकले रोल्वालिङमा आफ्ना आफन्त भएको बताए । साढे तीनवर्षको उमेरपछि हलेसीमा उनको गद्दी आरोहण गरियो । गद्दी आरोहणका बेला रोल्वालिङबाट आएका केही व्यक्तिलाई उनले छोराछोरीकै रूपमा सम्बोधन गरे । घरतिरका सबै कुरा सोधपुछ गरे । तीन छोरी र एक छोराका रूपमा पुकारिएका उनीहरूले आफ्नै बुवाको अर्को अवतार स्वीकार गरे ।

अहिले उनी सोलुखुम्बुकै थामे गुम्बामा छन् । गुम्बामा उनको नाम ङवाङठिलेन पल्वर राखिएको छ । उनले अब बौद्धधर्मको अध्ययन थालेका छन् । अवतारीले अघिल्लो जन्ममा लिएको ज्ञान पुनः एकपटक पढ्नुपर्ने चलन छ । अघिल्लो जन्ममा आफूले प्रयोग गरेका सामान र आफन्तको पहिचान सजिलै गर्न सक्ने क्षमता अवतारीमा हुने दावागेल्जेनले बताए ।

बौद्ध धर्ममा अवतारी लामालाई विशेष सम्मान दिन चलन छ । खुम्बुक्षेत्रमा अवतारीका रूपमा जन्मिएका उनी दोस्रो हुन् । यसअघि खुम्बुमै जन्मिएका अर्का अवतारी लामा त्याङबोचे गुम्बामा छन् ।

प्रकाशित : जेष्ठ २८, २०७६ १०:०४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT