१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

साँघुरियो व्यापारिक मार्ग

व्यापारिक मार्ग मध्यविन्दुबाट दायाँबायाँ २५/२५ मिटर फराकिलो हुनुपर्नेमा रानी–इटहरी सडकखण्ड १५/१५ मिटर मात्र बनाइँदै छ
देवनारायण साह

(मोरङ) — व्यापारिक मार्ग विस्तार आयोजनाअन्तर्गत रानी–विराटनगर–इटहरी–धरान ६ लेन सडक मापदण्डविपरीत साँघुरो निर्माण भइरहेको छ  । रानीदेखि धरानसम्म ४९ किलोमिटरमध्ये २९ दशमलव ६ किलोमिटरको रानी–इटहरी सडक मापदण्ड मिचेर निर्माण गरिएको हो  ।

साँघुरियो व्यापारिक मार्ग

सरकारले चार दशकअघि राजपत्रमा प्रकाशित गरेको मापदण्डअनुसार व्यापारिक मार्ग मध्यविन्दुबाट दायाँबायाँ २५/२५ मिटर फराकिलो हुनुपर्छ । तर रानीदेखि इटहरीसम्म सडक मध्यविन्दुबाट १५/१५ मिटर फराकिलो बनाइँदै छ । द्रुत गतिमा मालबाहकलगायत सवारी चल्ने सर्भिस लेन र मालबाहक सवारी पार्किङ गरेर मालवस्तु लोड/अनलोड गर्ने लेन भने निर्माण हुन सकेको छैन । हरियाली पार्कसमेत बनाइएको छैन ।

सरकारले रानीदेखि ढाटसम्म सडकको मध्यविन्दुबाट दायाँबायाँ १५/१५ मिटर मात्रै सडक कायम गर्ने मन्त्रिपरिषद्ले निर्णय गरेको आयोजना कार्यालयका सूचना अधिकारी इन्जिनियर उपेन्द्र दासले बताए । औद्योगिक कोरिडोर भएकाले सडक मापदण्ड मध्यविन्दुबाट दायाँबायाँ १५/१५ मिटर मात्रै कायम गरिएको भनी राजपत्रमा प्रकाशित भएको उनको भनाइ छ । ‘व्यापारिक मार्ग मध्यजिन्दुबाट दायाँबायाँ २५/२५ मिटर फराकिलो हुनुपर्ने हो,’ उनले भने, ‘तर सुरुमा सडक बनाउने आयोजना प्रमुखहरूले जति जग्गा प्राप्त भयो, त्यहीअनुसार गरे ।’

सुनसरीको दुहबी बजार खण्डमा भने मापदण्डअनुसार सरकारले जग्गा उपलब्ध नगराइदिँदा टेन्डरसमेत आहान हुन सकेको छैन । इस्ट–इन्डिया कम्पनीले सडकको बीचबाट १५ मिटर दायाँ र १५ मिटर बायाँ गरी ३० मिटर कायम गरेर सडक निर्माण गरेको थियो । उक्त सडकलाई सरकारले व्यापारिक मार्ग विस्तार आयोजनाअन्तर्गत ६ लेन सडक निर्माण सुरु गरेको छ । सरकारले २०३४ असार २० गते सडकको बीचबाट २५ मिटर दायाँ र २५ मिटर बायाँ हुनुपर्ने मापदण्ड कायम गरेको थियो ।

‘२०५४ सालमा पुनः राजपत्रमा दुहबी बजार खण्डमा सडक मध्यबिन्दुबाट दायाँबायाँ ८ दशमलव १५ मिटर हुनुपर्ने मापदण्ड कायम गरेकाले समस्या भयो,’ दासले भने ।

२०६० सालमा सडक डिभिजन कार्यालय विराटनगरले बीचबाट २५/२५ मिटर दायाँबायाँ कायम गर्ने प्रक्रिया अगाडि बढाउँदा स्थानीयले अदालतमा मुद्दा दायर गरेको उनले बताए । सर्वोच्चले दुहबी खण्डमा सडकको बीचबाट ८ दशमलव १५ मिटर मापदण्डअनुसार सडक निर्माण गर्न गराउन आदेश गरेको दासको भनाइ छ ।

‘६ लेन सडक विस्तारका लागि सुरुमा सडकको केन्द्रबाट दायाँबायाँ २५/२५ मिटरको डिजाइन गरेर काम सुरु भएको थियो,’ उनले भने, ‘सर्वोच्च अदालतको आदेशलाई दृष्टिगत गरी १५/१५ मिटर दायाँबायाँ कायम गरेर पहिलो चरणमा रानीदेखि इटहरीसम्म २९ किलोमिटर ६ सय मिटरमा र अहिले थप इटहरीदेखि तरहरासम्म निर्माण थालिएको छ ।’

दुहबी बजार खण्डको ६ सय ३० मिटर सडकका लागि मापदण्डअनुसारको जग्गा अधिग्रहणका लागि फाइल मन्त्रालयमा बुझाए पनि कुनै निर्णय नआएकाले काममा ढिलाइ भएको उनले बताए । इटहरी बजार क्षेत्रमा पनि सडकको मध्यबिन्दुबाट दायाँबायाँ १५/१५ मिटर मात्रै कायम गरेर सडक निर्माण थालिएको छ ।

‘३० मिटरमा ६ लेन सडक विस्तार गर्दा सडकको बीच भागमा हरियाली पार्क निर्माण गर्ने सुरुको डिजाइन परिवर्तन गरेर सडकको दायाँबायाँ ढल, सडकपेटी र बीचमा ६ लेन सडकको डिजाइन गरिएको छ,’ उनले भने, ‘यही आयोजनाअन्तर्गत वीरगन्ज, भैरहवा र नेपालगन्जमा बोर्डरदेखि राजमार्गसम्मको ६ लेन सडकको बीचमा हरियाली पार्कसमेत निर्माण हुन्छ ।’

इटहरीदेखि धरानसम्मको सडक भने मध्यविन्दुबाट २५/२५ मिटर दायाँबायाँमा ६ लेन सडक निर्माण भइरहेको दासले जानकारी दिए । उक्त सडकको विस्तृत अध्ययन प्रतिवेदनअनुसार चालु आर्थिक वर्षको असारसम्ममा निर्माण सकिनुपर्ने थियो । तर हालसम्ममा ४८ प्रतिशत मात्रै काम भएको आयोजना कार्यालयको भनाइ छ ।

रानीदेखि धरानसम्मको सडकमध्ये ३२ दशमलव ५ किलोमिटर मात्रै निर्माणका लागि टेन्डर भएको छ । ७ दशमलव ५ किलोमिटर कालोपत्रे, २१ दशमलव २८ किलोमिटर ग्राभेल, ५ किलोमिटर माटो पुर्ने काम भएको छ भने १५ दशमलव २३ किलोमिटर ट्र्याक खोल्न बाँकी रहेको दासले बताए । १० अर्ब ९८ करोड रुपैयाँ लागतमा निर्माणाधीन यो सडकमा हालसम्म ७ अर्ब ६८ करोडको टेन्डर भएको आयोजना कार्यालयले जनाएको छ ।

विराटनगरको मूल बजारस्थित एसलाल पम्पदेखि बरगाछीसम्मको ३ किलोमिटर सडक निर्माण कामको म्याद सकिए पनि काम पूरा भएको छैन । उक्त सडक खण्ड एम/एस तुन्दी रमण जेभीले ५२ करोड ७० लाख ७० हजार ३ सय ६५ रुपैयाँमा ठेक्का लिएको थियो । उक्त खण्डको काम चालू आर्थिक वर्षभित्र जसरी पनि पूरा गर्नुपर्ने गरी कारबाही प्रक्रिया अघि बढाएको इन्जिनियर दासले बताए ।

प्रकाशित : जेष्ठ २९, २०७६ १२:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?