२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

छोरीका लागि ६७ लाई भत्ता

विराटनगर — लिंग पहिचान गरेर भ्रूण हत्या गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्न विराटनगर महानगरपालिकाले ल्याएको ‘छोरी बचाऔं, छोरी पढाऔं’ अभियान अन्तर्गत ६७ दम्पतीलाई प्रोत्साहन भत्ता र उच्च शिक्षा अध्ययनका लागि छात्रवृत्ति रकम वितरण गरेको छ ।

यो अभियानमा कुनै पनि दम्पतीको पहिलो सन्तान छोरी जन्मिए त्यो परिवारले ३ हजार रुपैयाँ प्रोत्साहन भत्ता पाउने छ । त्यही परिवारको दोस्रो सन्तान पनि छोरी नै भए त्यो शिशुको उच्च शिक्षा अध्ययनका लागि महानगरपालिकाले शिशु नाबालक नभएसम्म आमालाई संरक्षक बनाएर शिशुका नाममा २५ हजार रुपैयाँ बैंक खातामा फिक्स डिपोजिट गरिदिन्छ ।


गर्भमा लिंग पहिचान गरेर छोरी भए भ्रुण हत्या गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्न यो अभियान प्रयोगमा ल्याएको उपमेयर इन्दिरा कार्कीर्को भनाइ छ । यहाँको कोसी अञ्चल अस्पताल, विभिन्न नर्सिङ होम, चिकित्सकका निजी क्लिनिक, मेरी स्टोभ क्लिनिक, परिवार नियोजन संघलगायत स्वास्थ्य संस्थामा लिंग पहिचानका आधारमा दैनिक दर्जनौं भ्रूण हत्या हुने गरेको पाइएको छ । त्यसमा पनि छोरी भएको भ्रूण बढी मात्रामा फाल्ने गरेको पाइएको कार्कीको बुझाइ छ ।


छोरी नै नभए बुहारी कहाँबाट ल्याउने स्थिति आउने अवस्था छ । कार्कीले भनिन्, ‘त्यसैले महानगरले ‘छोरी बचाऔं, छोरी पढाऔं’ अभियान सुरु गरिएको हो ।’ अभियानअन्तर्गत चालु वर्ष पहिलो सन्तान छोरी हुने ३५ दम्पतीलाई महानगरले जनही ३ हजार प्रोत्साहन भत्ता र दोस्रो सन्तान पनि छोरी नै हुने ३२ दम्पतीलाई जनही २५ हजार रुपैयाँ छात्रवृत्ति प्रदान गरेको उपमेयर कार्कीले बताइन् ।


महानगरको यो प्रोत्साहन भत्ता लिन दम्पतीले अस्पतालमा शिशुको जन्म भएको पुर्जा पेस गर्नुपर्ने र उक्त शिशु पहिलो वा दोस्रो कुन हो महानगरले पहिचान गरेपछि मात्र पाउनेछन् । पहिलो सन्तान छोरी हुने दम्पतीलाई उपमेयर कार्कीले घरैमा पुगेर शिशुको आमालाई प्रोत्साहन भत्ता वितरण गरेकी हुन् भने दोस्रो सन्तान पनि छोरी नै हुने दम्पतीका लागि शिशुकी आमालाई संरक्षक बनाएर शिशुको उच्च शिक्षा अध्ययनका लागि बैंकमा फिक्स डिपोजिट गरिएको हो ।


‘छोरी बचाऔं, छोरी पढाऔं’ अभियानमा महानगरले चालु वर्ष ९ लाख ५ हजार रुपैयाँ खर्च गरिसकेको छ । महानगरको आन्तरिक आयबाट सञ्चालित यो अभियान आफ्नो कार्यकालभरि जारी रहने कार्कीले बताइन् । यो अभियानबाट विशेष गरी तल्लो र विपन्न वर्ग लाभान्वित भएको पाइएको छ ।


सम्पन्न र मध्यम वर्गलाई यो अभियानले प्रभावित पार्न सकेको छैन । यो अभियानले चालु वर्ष तल्लो र विपन्न वर्गका ६७ वटी छोरी बचाउन सफल भएको कार्कीको बुझाइ छ । महानगरमा करिब ६० हजार घर परिवार र ३ लाख जनसंख्या छ ।

प्रकाशित : जेष्ठ ३०, २०७६ ०९:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?