कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

६ प्रतिशत विद्यार्थीमा दूरदृष्टि दोष

सामुदायिक विद्यालयको अपेक्षा संस्थागत विद्यालयका विद्यार्थीमा समस्या बढी
देवनारायण साह

मोरङ — विद्यालयमा अध्ययनरत ६ प्रतिशत प्रतिशत विद्यार्थीमा दूरदृष्टि दोष पाइएको छ । सामुदायिकभन्दा निजी विद्यालयमा अध्ययनरत विद्यार्थीमा यो समस्या बढी छ । सामुदायिकमा ३ र निजी विद्यालयका ९ प्रतिशत बालबालिकामा दूरदृष्टि दोष रहेको छ ।

६ प्रतिशत विद्यार्थीमा दूरदृष्टि दोष

नेत्र ज्योति संघको पूर्वाञ्चल क्षेत्रीय आँखा उपचार कार्यक्रमअन्तर्गत विराटनगरमा सञ्चालित विराटनगर आँखा अस्पतालले सुनसरी जिल्ला र विराटनगर महानगरपालिकाका सबै विद्यालयका विद्यार्थीको निःशुल्क आँखा जाँच शिविर सञ्चालन गरिरहेको छ ।

हालसम्ममा सुनसरी र विराटनगरका २ सय २ विद्यालयका ८५ हजार ५ सय ३३ बालबालिकाको आँखा परीक्षण गरिएको पूर्वाञ्चल क्षेत्रीय आँखा उपचार कार्यक्रमका निर्देशक डा. संजय सिंहले बताए । ‘आँखा परीक्षण गरिएका विद्यार्थीमध्ये ५ हजार ५ हजार ८७ बालबालिकामा दूरदृष्टि दोष रहेको पाइयो,’ उनले भने, ‘सामुदायिक विद्यालयमा अध्ययनरत बालबालिकामा ३ प्रतिशत र निजी विद्यालयमा अध्ययनरत ९ प्रतिशत बालबालिकामा दूरदृष्टि दोष पाइयो ।’

दूरदृष्टि दोष भएका बालबालिकालाई निःशुल्क चश्मा प्रदान गएको छ । ‘विद्यार्थीहरूले नियमित चश्मा लगाउँदै गएपछि बिस्तारै टाढा देख्न सक्छ,’ निर्देशक सिंहले भने, ‘चश्मा नलगाएपछि आँखाको हेर्ने क्षमता हराउँदै गएर आँखा सुस्त भएपछि अन्धो हुन सक्ने जोखिम हुन्छ त्यसैले दूरदृष्टि दोष भएका बालबालिकालाई नियमित चश्मा लगाउन अभिभावकले प्रेरित गर्नुपर्छ ।’ दूरदृष्टि दोष भएका बालबालिकालाई प्रत्येक ६/६ महिनामा नियमित आँखाको जाँच गराउनुपर्ने उनले बताए ।

बाहिर शारीरिक खेलभन्दा घरभित्र मोबाइलमा र कम्प्युटरमा खेल्ने र टेलिभिजन बढी हेर्ने बालबालिकामा दूरदृष्टि दोष पाउने गरेको छ । ‘अहिले बालबालिकाहरू फुर्सदको समयमा मोबाइल, कम्प्युटर, टेलिभिजनजस्ता डिजिटल प्रविधिमा बढी व्यस्त रहने गरेका छन्,’ सिंहले भने, ‘यसले बालबालिकामा दूरदृष्टि दोष निम्तियाइरहेको छ ।’

हुँदा खानेभन्दा हुने खाने वर्गका छोराछोरीमा दूरदृष्टि दोष बढी पाइएको छ । ‘सामुदायिक विद्यालयमा गरिब, विपन्न, निम्न आय भएका व्यक्तिको बालबालिका अध्ययन गरिरहेका छन् भने निजी विद्यालयमा आर्थिक रूपमा सम्पन्न व्यक्तिका बालबालिका अध्ययन गरिरहेका छन्,’ उनले भने, ‘गरिब, विपन्नका बालबालिका मोबाइल, कम्प्युटर र टेलिभिजनमा पहुँच कम हुने गरेको तर आर्थिक रूपले सम्पन्न व्यक्तिको बालबालिकाको त्यसमा पहुँच बढी भएकाले सामुदायिकभन्दा बढी निजी विद्यालयका विद्यार्थीमा दूरदृष्टि दोष बढी पाइएको हो ।’

सामुदायिक विद्यालय फराकिलो ठाउँमा हुने गरेको, पर्याप्त खेल्ने ठाउँ रहेको तर निजी विद्यालय साँगुरो क्षेत्रमा रहँदा कक्षाकोठा बाहिर खेल्ने ठाउँ पनि नहुँदा समस्या भएको सिंहको भनाई छ । उनले ग्रामीण क्षेत्रभन्दा सहरी क्षेत्रका बालबालिका बढी दूरदृष्टि दोष रहेको बताए । ग्रामीण क्षेत्रका बालबालिका बढी समय घर बाहिर शारीरिक खेल खेल्नेलगायत कार्यमा समय बिताउने गरेको तर सहरी क्षेत्रका बालबालिका बढी समय घरभित्र मोबाइल, कम्प्युटर, टेलिभिजन हेरेर समय बिताउने गरेकाले दूरदृष्टि दोष हुने गरेको

सिंह भन्छन् ।

अस्पतालले सुनसरी र मोरङको विराटनगर महानगरस्थित १ हजारभन्दा बढी विद्यालयका बालबालिकाको निःशुल्क आँखा परीक्षण गर्ने लक्ष्य रहेको जनायो । ५ करोड ५० लाख लागतको उक्त कार्यक्रममा अरबिसले ३ करोड र अस्पतालले २ करोड ५० लाख लगानी गर्ने पूर्वाञ्चल क्षेत्रीय आँखा उपचार कार्यक्रमका संयोजक सुधिर ठाकुरले बताए ।

‘यस कार्यक्रमअन्तर्गत ३ लाख विद्यालयमा अध्ययनरत बालबालिकाको निःशुल्क आँखा उपचार गर्ने लक्ष्य रहेको छ,’ उनले भने, ‘बालबालिकाको आँखा जाँचपछि समस्या देखिए निःशुल्क औषधी, चश्मा र शल्यक्रिया गर्छौं ।’ यस कार्यक्रमअन्तर्गत ६ हजार चस्मा वितरण गर्ने लक्ष्य रहेको ठाकुरले बताए ।

विराटनगर आँखा अस्पतालले सन् २०१७ मा ४ लाख १३ हजार ४ सय ८५ जनाको आँखा जाँच गरेको थियो भने ६८ हजार ५ सय ९८ जनाको आँखाको शल्यक्रिया गरेको अस्पतालका निर्देशक डा. सिंहले बताए ।

प्रकाशित : जेष्ठ ३०, २०७६ ०९:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?