कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

ताल विकासमा एक भए सत्ता–प्रतिपक्ष

जितेन्द्र साह

सुनसरी — संसद्मा सत्तापक्षमा कम्युनिस्ट र विपक्षमा कांग्रेस छ । तर सुनसरीको बर्जु गाउँपालिकामा यी दुवै दल एकै कित्तामा उभिएका छन् । विकासमा हातेमालो गरिरहेका छन् ।

ताल विकासमा एक भए सत्ता–प्रतिपक्ष

गाउँपालिका ६ चिमडी बस्तीस्थित झन्डै १ सय ५२ बिघा क्षेत्रफलमा फैलिएको बर्जु ताल क्षेत्रमा हालै कांग्रेस नेता विजयकुमार गच्छदारले भ्युटावर शिलान्यास गरेपछि यो सद्भाव प्रस्टै देखियो ।

विराटनगरदेखि ९ किमि पश्चिममा पर्छ यो ताल । यहाँ भ्युटावर बन्ने भएपछि बर्जु १ का नेकपा प्रदेश १ कमिटी सदस्य सुरेन्द्र मेहता निकै खुसी छन् । ‘मुलुककै पहिलो नम्बरको पर्यटकीय थलो बनाउने हाम्रो योजना छ,’ उनले भने, ‘यसका लागि यहाँ कांग्रेस र कम्युनिस्टका नेता–कार्यकर्ता एक छौँ ।’


दुवै दलको सहकार्यमा यो स्थानलाई राष्ट्रिय सम्पदा सूचीमा पार्ने प्रयास भइरहेको उनले बताए । दुई आर्थिक वर्षभित्र निर्माण सक्ने भनिएको भ्युटावरका लागि गच्छदारले निर्वाचन क्षेत्र विकास कार्यक्रमबाट ५० लाख रुपैयाँ दिइसकेका छन् । निर्माणमा करिब ६ करोड रुपैयाँ लाग्ने बर्जु ताल सिमसार विकास तथा संरक्षण समितिले जनाएको छ ।


दुई महिनाअघि प्रधानमन्त्री केपी ओलीले यो ताल क्षेत्रको अनुगमन भ्रमण गरी गुरुयोजना अध्ययनका लागि प्राविधिक टोली खटाएका थिए । प्रदेश १ सरकारका सामाजिक विकासमन्त्री जीवन घिमिरे पनि यहाँ दुईपटक आइसकेका छन् । ‘प्रधानमन्त्री टोलीको अन्तिम रिपोर्ट पनि चाँडै आउने संकेत पाएका छौँ,’ मेहताले भने, ‘संघीय सरकारले पनि बजेट दिन्छ ।’


गाउँपालिका अध्यक्ष रघुनन्दन चौधरी कांग्रेसका हुन् । तर उनी कम्युनिस्ट एवं मधेसी दलसँग छलफल नगरी केही गर्दैनन् । विरोध मात्र गर्ने पूर्वाग्रही मानसिकता एवं परम्परागत राजनीतिक सोच नत्यागे कहिल्यै विकास नहुने उनको भनाइ छ । ‘आज म गाउँपालिका अध्यक्ष छु, भोलि अरू दलका बन्लान्,’ उनले भने, ‘नागरिक हितका काममा जहिल्यै मेरो प्रयास हुन्छ ।’


गाउँपालिकाको अध्यक्षदेखि प्रधानमन्त्रीसम्मको पहलमा ताललाई पुनर्जीवन दिन स्थानीय लागिपरेको समितिका सचिव बिलट सिंह श्रेष्ठको भनाइ छ । ‘बजेट आउने क्रमसँगै काम अघि बढेको छ, अर्को वर्ष जलकुम्भी सफा भएर ताल सफा देखिनेछ,’ उनले भने ।


तालको विकासमा दलहरूको ऐक्यबद्धता देखेर स्थानीय दंग छन् । ६९.४३ वर्गकिमि क्षेत्रफल र ३१ हजार १ सय ७८ जनसंख्या भएको यो थारू, मधेसी, जनजाति र दलित बहुल गाउँ हो । ‘पहाडको विकास पनि पर्यटकले गर्दा भएको हो, मिलेर लागेपछि असम्भव केही छैन,’ बर्जु १ का युवा गोविन्द गुरुङले भने । तालमा आगन्तुक बढेपछि व्यवसाय र रोजगारीमा पनि वृद्धि हुने बर्जु २ भीमपुर टोलका किराना व्यवसायी राजकुमार रौनियारले बताए ।


‘विराटनगरदेखि तालसम्म फराकिला सडक, कल्भर्ट र पुल बन्ने क्रम धमाधम छ,’ उनले भने, ‘कच्चीबाट पक्की सडक हुनेबित्तिकै परिवार लिई घुमफिरका लागि आउन सहज हुन्छ ।’


थरीथरीका चरा हेर्न पाइने भएकाले गर्मीभन्दा जाडोमा घुम्न आउनेको संख्या बढी रहेको श्रेष्ठले बताए । दैनिक औसत सय जनासम्म पर्यटक आउने गरेको उनको भनाइ छ । यहाँ नौका विहार, चिल्ड्रेन पार्क, चरा अवलोकन स्थान र पिकनिक स्पट छ ।

प्रकाशित : जेष्ठ ३१, २०७६ १०:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?