कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६४

डेंगु नियन्त्रण गर्न जनपरिचालन

विनु तिम्सिना

(विराटनगर) — डेंगु नियन्त्रणका लागि विराटनगर महानगरपालिकाले समुदाय परिचालन अभियान सुरु गरेको छ । डेंगुका विषयमा जनचेतना फैल्याउन महानगरपालिकाले शिक्षक र विद्यार्थीलाई परिचालन गर्ने भएको हो । 

डेंगु नियन्त्रण गर्न जनपरिचालन

सुनसरीको धरानमा डेंगुको महामारी फैलिएको र विराटनगरा पनि मंगलबार पहिलोपटक डेंगुका बिरामी भेटिएपछि महानगरले सचेतना र निरोधका लागि अभियान सुरु गरेको हो ।


महानगरपालिकाले शुक्रबार महानगरपालिकाका सबै विद्यालयका शिक्षकलाई बोलाएर विद्यार्थीलाई कक्षा कोठामा डेंगुबारे सचेत गर्न र आफ्नो टोल समुदायमा डेंगु फैलिन नदिने उपायका बारेमा जानकारी दिन आग्रह गरेको छ ।


विद्यार्थीलाई विद्यालयमै डेंगु रोग र यसको लक्षण बारेमा जानकारी दिने, त्यसबाट बच्ने उपायबारे सूचित गर्ने र नियन्त्रणका लागि गर्नुपर्ने सामाजिक क्रियाकलापमा सचेत गराएर अभियानलाई निरन्तरता दिइने महानगरका प्रमुख भीम पराजुलीले बताए । रोगबारे सचेत गराउन सुरक्षाको उपाय उल्लेख गरिएको सन्देश मोबाइलमा पठाउने तयारी भइरहेको उनले बताए । महानगरपालिकाले सबै नगरबासीलाई आफ्नो घरमा पानी जम्ने थोत्रा पुराना सामान परीक्षण गर्न र त्यसलाई बिसर्जन गर्न आग्रह गरेको छ ।


त्यसबाहेक महानगरपालिकाले सबै वडाका टोल तथा सडकमा लामखुट्टे नियन्त्रण गर्न विषादी छरिरहेको छ । दैनिक चारवटा वडामा अभियानको रूपमा विषादी छर्ने काम भइरहेको महानगरले जनाएको छ ।

स्वास्थ्य मन्त्रालय अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रतिनिधिले धरानमा डेंगु नियन्त्रणमा नआएको भन्दै सचेतना कार्यक्रम प्रभावकारी बनाउनु पर्ने बताएका छन् ।


महानगरमा अहिलेसम्म ९ जनामा रोगको संक्रमण देखिएको र धरानमा प्रकोप सुरु हुनु अघि प्रदेश १ मा १९ जनामा डेंगु भेटिएको महाशाखाले जनाएको छ । धरानमा मात्र ५ सय ३४ जनामा संक्रमण भेटिएको भए पनि त्यसको अन्तिम नतिजा भने आइसकेको छैन ।


परीक्षणका क्रममा थप बिरामीमा पनि संक्रमण देखिने क्रम जारी रहेकाले डेंगु उत्पादन हुनसक्ने सम्भाव्य ठाउँको खोजी गर्ने र नष्ट गर्ने कार्यलाई प्रभावकारी बनाइने महानगरले जनाएको छ ।


डेंगु एडिस एजिप्टाई र एलबोपिक्टर्स नामक संक्रमित लामखुट्टेको टोकाइबाट सर्ने भाइरल रोग हो । नेपालमा सन् २००६ मा पहिलो पटक यो रोग भेटिएको थियो । अहिलेसम्म डेंगुबाट १५ जनाको ज्यान गएको छ । सफा पानीमा डेंगुको वृत्ति विकास हुन्छ । ३० दिन बाँच्ने यो लामखुट्टेको दुई तिहाई जीवनचक्र पानी भित्र चल्ने गर्छ । पानी बाहेक अन्यत्र रहेको यसको अन्डा महिनौंसम्म जीवित रहने र अनुकुल समयमा लार्भा निस्किने गर्छ । महत्त्वपूर्ण के छ भने डेंगु संक्रमित लामखुट्टेको अण्डासमेत संक्रमित हुन्छ ।


डेंगु संक्रमण गराउने लामखुट्टे दिउँसो टोक्ने प्रकृतिको हुन्छ । यसबाट बच्न घर वरिपरि पानी जम्न नदिने, झुल टाँगेर सुत्ने गर्नुपर्छ । यसैगरी रोग लागेमा उच्च ज्वरो नियन्त्रण गर्न सिटामोल प्रयोग गर्ने, बढी झोल पदार्थ खाने, आराम गर्ने जस्ता उपाय अवलम्बन गर्नु पर्ने सुझाव स्वास्थ्यकर्मीले दिएका छन् ।


जिल्ला प्रशासन सक्रिय

जिल्ला प्रशासन कार्यालय मोरङमा बिहीबार सरोकारवाला निकायबीच भएको छलफलले डेंगुको नियन्त्रणका लागि समुदायमा आधारित विशेष अभियान चलाउने निर्णय गरेको हो । स्वास्थ्य संस्था, विद्यालयका शिक्षक, स्वास्थ्य स्वयंसेविका तथा संघसंस्थामा आबद्ध सामाजिक कार्यकर्ता सबैलाई समावेश गरेर वडाका टोलटोलमा डेंगोबाट बच्ने उपायका बारेमा सचेतना गराउने निर्णय भएको प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले जानकारी दिए ।


भियान अवधिका लागि जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख ज्ञानबहादुर बस्नेतलाई फोकल पर्सनका रूपमा काम गर्ने जिम्मेवारी दिइएको छ । जिल्लाका प्रत्येक सरकारी तथा निजी अस्पतालमा आरआरटी (र्‍यापिट रेस्पोन्स टिम) गठन गर्न निर्देशन गरिएको केसीले बताए ।


प्रकाशित : जेष्ठ ३१, २०७६ २०:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?