२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११

उँभौली साकेला सिलीको मैझारो

खोटाङ — ‘रुमालै चिनो साटौंला, 
दुःख र सुख बाँडौंला, 
बाँडौंला लै लै बाँडौंला ।
अर्को साल फेरि भेटौंला,
साकेला सिली नाचौंला, 
नाचौंला लै लै नाचौंला ।’

उँभौली साकेला सिलीको मैझारो

ढोल, झ्याम्टाको तालमा दिक्तेलको माटिकोरेमा शनिबार नाचिएको उँभौली साकेला सिलीमा गाइएको गीत हो यो । योसँगै माझकिराँत खोटाङमा यो वर्षको उँभौली साकेला सिली मैझारो भएको छ । किराँत राई यायोक्खा, किराँत सेवा समाजले आयोजना गरेको उँभौली साकेला सिली मैझारोमा बालबालिकादेखि पाकासम्मले साकेला सिली नाचे । किराँतीहरूले वैशाखे पूर्णिमामा उँभौली र मंसिरे पूर्णिमा उँधौली गरी वर्षमा दुईपटक साकेला सिली नाच्ने गर्छन् ।


यो बेला जलचर तथा स्थलचर जीवजन्तु उँभो लाग्ने भएकाले उँभौली भनेको किराँत राई यायोक्खाका सचिव युगसन किराँतले बताए । किराँतका अनुसार उँभौलीमा खेतीपाती राम्रो होस्, प्रकृति प्रकोप नहोस् लगायतका कामना गर्दै पूजा आराधना गर्ने संस्कृति छ ।


त्यस्तै उँधौलीमा अन्नको सह बसोस्, अनिकाल नलागोस् भन्ने कामनाका साथ प्रकृतिको पूजा गर्ने चलन छ । यो बेला जलचर तथा स्थलचर उँधो लाग्ने भएकाले मंसिरे पूर्णिमाको दिनदेखि उँधौली पर्व मनाउने गरिएको किराँतले सुनाए । यो वर्षको उँभौली साकेलाको अवसरमा विभिन्न ठाउँमा साकेला आयोजना गरिएको छ ।


दोर्पामा राष्ट्रिय स्तरको साकेला सिली समेत प्रदर्शन गरिएको छ । सोल्माको सतरीयाक्सुम साकेलाथानमा शतवार्षिक साकेला आयोजना गरिएको छ । त्यस्तै किराँत ऐतिहासिक तुवाचुङ जायजुम, मझुवागढी लगायतका विभिन्न ठाउँमा साकेला सिली नाँचिएको हो ।


साकेला सिली किराँतीहरूले मात्र नभई सबै जातजाति तथा धर्मका समुदायले समेत नाँच्ने भएकाले जातीय सहिष्णुता, एकता र भाइचाराको विकास गर्ने एउटा समृद्ध संस्कृतिका रूपमा विकास भएको जिल्ला समन्वय समितिका प्रमुख बबी चाम्लिङले बताए ।

प्रकाशित : असार १, २०७६ ०९:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?