१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

सन्थाललाई कानुनी साक्षरता

ज्यानै जानेसम्मका फौजदारी मुद्दासमेत आफ्नै समुदायको रीतिरिवाजअनुसार क्षतिपूर्ति गराउने यो समुदाय साक्षरतापछि भने सचेत भएको छ
देवनारायण साह

मोरङ — सन्थाल समुदायमा कुनै किसिमका झैंझगडा र विवाद भइहाले पनि ती घटना प्रहरीसम्म पुग्दैनन । उनीहरू ‘मंझी हाडाम’ (टोलको मुखिया) कहाँ गएर न्याय प्राप्तिको गुहार लगाउँछन् । मंझी हाडामले नै सिङ्गो सन्थाल समुदायको नेतृत्व गरेर जन्मदेखि मृत्युसम्मको संस्कारका साथै सुरक्षा, पेसा व्यवसाय निर्धारण गर्छन् ।

सन्थाललाई कानुनी साक्षरता

दुर्गा मावि लक्ष्मिनिया, जहदाका शिक्षक सूर्यनारायण हास्दाले सन्थाल समुदाय मंझी हाडामले सञ्चालन गर्दै आएको बताउँछन् । ‘अहिलेको २१ औं शताब्दीको युगमा पनि हाम्रो समुदाय परम्परागत रीतिरिवाज र प्रथामा चलेको छ,’ उनले भने, ‘सन्थाल समुदायका जो कोहीलाई जस्तोसुकै समस्या आउँदा मंझी हाडामलाई गुहार्ने परम्परा छ ।’


सन्थाल समुदाय मंझी हाडाम, प्राणिक, जगमंझी, जगप्राणिक, नाइके, कुडोम नाइके र गुडितले सञ्चालन गर्दै आएका छन् । सन्थाल समुदायको प्रत्येक टोलमा यी पद भएका व्यक्ति छन् । मंझी हाडामले समुदाय सञ्चालनका साथै पीडितलाई न्याय दिन प्राणिक, जगमंझी, जगप्राणिक, नाइके, कुडोम नाइके र गुडितलाई परिचालन गर्दै आएका हुन् ।


प्राणिकले मंझी हाडामको अनुपस्थितिमा समुदाय सञ्चालनको जिम्मेबारी र मंझी हाडामको निर्देशन अनुसारको काम गर्ने हास्दाले बताए । जगमंझीले सन्थाल समुदायमा पूजापाठ, विवाह, व्रतबन्ध, मृत्युसंस्कारलगायतका सांस्कृतिक कार्य व्यवस्था सञ्चालनको दायित्व निर्वाह गर्छन् ।


प्राणिक मंझीले जगमंझीको सहयोगी र उनको अनुपस्थितिमा कामको जिम्मेबारी बहन गर्छन् । नाइकेले सामुदायको हितका लागि कुल देवता, ग्राम देउतालगायतको पूजापाठ गर्ने र सेनाको नेतृत्व गर्दै आफ्नो समुदायको सुरक्षा गर्ने दायित्व निर्वाह गर्छ । कुडाम नाइकेले नाइकेको सहयोगी र उनी नभएको अवस्थामा उनको प्रतिनिधित्व गर्छ ।


गुडितले मंझी हाडामले दिएको सूचना प्रत्येक सन्थाल समुदायसम्म पुर्‍याउने जिम्मेबारी निर्वाह गर्ने परम्परा छ । सन्थाल समुदायका प्रत्येक युवाले धनुष बाण चलाउन सिपालु हुने गरेको र त्यसैले जीवजन्तुको सिकार गर्ने परम्परा छ । सन्थाल समुदायका प्रत्येक युवा समुदायका सेनाका रूपमा रहन्छन् ।


जहदा गाउँपालिका ७ का वडा अध्यक्ष भगवानलाल बेसराले मुलुकमा कानुनी राज्य भए पनि सन्थाल समुदाय आफ्नै रीतिरिवाज अनुसार चल्दै आएको बताए । ‘नेपालमा रहेका ५१ हजार ७ सय २० सन्थालले देशको कानुनअनुसार जीवन गुजारा गर्दैनन्, हाम्रो आफ्नै नियम, कानुन, रीतिरिवाज र प्रथाहरू छ,’ उनले भने, ‘सन्थाल समुदाय अझै जंगली अवस्थामा रहेको रीतिरिवाज र प्रथामा चलेकाले अनेक विकृतिसमेत छन् ।’


समाजमा फौजदारी अपराधको घटनामा पनि सन्थल समुदायमा मंझी हाडामले जातीय रीतिरिवाज अनुसार पीडितलाई न्याय दिलाउने गरेको उनले सुनाए । ‘सन्थाल समुदाय जस्तोसुकै परिस्थितिमा अझै पनि प्रहरी र अदालत जाँदैनन्,’ बेसराले भने, ‘फौजदारी अपराधको घटनामा पनि सामाजिक न्याय पद्धतिअनुसार मेलमिलाप गराउँदै आएका छन् ।’


सन्थाल समुदायलाई मुलुकमा विद्यमान कानुन र संविधानका बारेमा जहदा गाउँपालिका वडा ७ ले कानुनी साक्षात्कार कार्यक्रम सञ्चालन गरेको छ । जहदा गाउँपालिकाको प्रत्येक वडा र टोलमा रहेका मंझी हाडामलाई मुलुकको कानुनी व्यवस्थाका बारेमा जानकारी प्रदान गर्न कार्यक्रम सञ्चालन गरेको वडा अध्यक्ष बेसराले बताए ।


‘कानुनका बारेमा जानकारी भएपछि कमसेकम फौजदारी प्रकृतिका विवाद प्रहरीमा पठाउन मद्दत मिल्छ,’ उनले भने, ‘कानुनी साक्षात्कारले सन्थाल समुदायमा रहेका विकृति हटाउन मद्दत मिल्छ ।’ जहदा गाउँपालिकास्थित सन्थाल समुदायमा ४६ जना मंझी हाडामा छन् ।जहदाका मंझी हाडाम पन्नालाल मुर्मुले अहिलेसम्म परम्परागत शैलीमा पुरानो रीतिअनुसार समाज सञ्चालन गर्दै आएको स्विकारे ।


‘फौजदारी प्रकृतिका घटनासमेत आफूहरूले सामुदायिक न्याय पद्धतिमा मेलमिलाप गराउनु अपराध भएको बोध भयो,’ उनले भने, ‘अब यस्ता घटना सोझै प्रहरीमा पठाउँछौं ।’ कानुनी साक्षात्कार कार्यक्रममा अधिवक्ता राजकुमार राजबंशीले सहजीकरण गरेका थिए ।

प्रकाशित : असार १, २०७६ ०९:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?