१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

सर्पले डस्दा झारफुककै भर

पर्वत पोर्तेल

झापा — आठराई गाउँपालिका ५ तेह्रथुमका ५७ वर्षीय रुद्र कन्दङालाई एकसाता अघि सर्पले डस्यो । घर नजिकैको जंगलमा घास काटिरहेका उनलाई हरेउ सर्पले दायाँ हातमा डसेको थियो । सर्पले टोकेपछि धामीले झारफुक गरे ।

जडिवुटी लगाइदिए । बिसेक भएन । टोकेको हात सुन्निएर डमडम्ती भयो । झापा चारआलीस्थित नेपाली सेनाको उपचार केन्द्रमा ५ दिन उपचार गराएपछि निको भएर उनी घर फर्किएका छन् । ‘झारफुक गरेरै बसेको भए ज्यान जाने रहेछ,’ कन्दङाले भने, ‘सर्पले टोक्दा झारफुक हैन, चाँडो अस्पताल पुग्नु पर्नेर् रहेछ ।’


फुङलिङ १० ताप्लेजुङकी ५२ वर्षीया धनमाया लिम्वुलाई पनि मकै गोडदा गुर्वे सर्पले टोकेको थियो । तत्काल धामीलाई झारफुक गराइन् । उल्टो हात फलाम जस्तो भयो सुन्निएर । ‘झारफुकले नभएपछि अस्पताल आएकी छु,’ लिम्वुले सुनाइन्, ‘अहिले निको हुदैछ ।’


ताप्लेजुङ फक्तालुङ ६ का १२ वर्षीय सन्तलाल लिम्वुलाई गत जेठ २६ गते सर्पले टोकेको थियो, त्यो पनि अनुहारमै । भेडा चराउन जाँदै गर्दा उनलाई गुर्वे सर्पले दायाँ गालामा डसेको थियो । धामी झाक्री र झारफुकवाट उपचार गर्न खोजे तर बिसको उन्नाइस नभएपछि अस्पताल आए । अस्पताल आउँदा उनी वेहोस थिए । ‘झारफुक गरेरै वसेको भए ज्यान जाने थियो’, सेनाको सर्पदंश उपचार केन्द्रका प्राविधिक ऋषिराम पोख्रेलले भने, ‘यहा आएकाले निको भएर फर्किए ।’


गर्मी यामका कारण पहाड होस या तराई, सर्पको विगविगी छ । तर सर्पले डस्दा गाउँतिर अझै पनि अस्पताल जाने भन्दा पनि झारफुक गर्ने प्रवृत्ति कायमै छ जसले विरामीको ज्यान जोखिममा पारेको छ । ‘सर्पले टोकेपछि अस्पताल आउनुको साटो झारफुक र जडिवुटी लगाएर निको हुन्छ भन्ने अन्धविश्वास छ’, प्राविधिक पोख्रेलले भने, ‘यसले विरामीको ज्यानै जान पनि सक्छ ।’


सर्पले टोक्दा गाउँतिर सिरुको पातले झार्ने, झारमौर प्रयोग गर्ने र जडिवुटी लगाइदिने गरिन्छ । ‘यसले विरामी निको हुने भन्दा पनि थप जोखिम वढ्ने सम्भावना छ’, पोख्रेलले भने, ‘ज्यानै जान सक्छ ।’ उनका अनुसार विगतमा झारफुक र झाक्री उपचारका कारण अस्पतालमा ढिलो ल्याउँदा धेरैले ज्यान गुमाएको घटना पनि छन् ।


सर्पदंश उपचार केन्द्रमा नेपालीसंगै भारतीय विरामीको पनि चाप लाग्ने गरेको छ । सीमावर्ती भारतको विहार र वंगालका विभिन्न स्थानवाट सर्पले डसेका विरामी उपचारका लागि आउने गरेका छन् । भारतसंगै पाँचथर, इलाम, ताप्लेजुङ, तेह्रथुम जिल्लावाट पनि विरामी अत्याधिक आउने गरेका छन् ।


केन्द्रका अनुसार गत वैशाखमा ८४ जनाको उपचार गरिएको छ । जेठमा १ सय २३ जनाको उपचार भएको छ । अहिले एक रातमा ३० जना सम्म आइरहेका छन् । अस्पतालमा वेड कम्ति छ । १२ वटा वेड छ । एक वेडमा चार जनासम्म राखेर उपचार भइरहेको छ । ‘वेडमा पनि नअटेपछि भुईमा सुताएर पनि उपचार गरियो’, प्राविधिक पोख्रेलले भने ।

प्रकाशित : असार २, २०७६ १०:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?