१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

फोहोरबाट मोहोर बनाउन अध्ययन

विनु तिम्सिना

विराटनगर — विराटनगर महानगरपालिकाले फोहोरलाई मोहर बनाउने गुरुयोजना निर्माणका लागि अध्ययन सुरु गरेको छ । घर तथा पसलहरूबाट निस्कने ठोस फोहोरलाई तह लगाउँदा कसरी आयआर्जन गर्न सकिन्छ भन्ने अध्ययन थालेको हो । 

नगरको फोहोरमैला व्यवस्थापन टाउको दुखाइको विषय बन्दै गएको बेला कोरियाली सरकारको सहयोगमा ठोस फोहोरमैलाको व्यवस्थापन र कसरी उर्जामा परिणत गर्ने भन्ने विषयमा गुरुयोजना बनाउन अध्ययन थालिएको सुरु गरेको महानगरपालिकाका प्रमुख भीम पराजुलीले बताए ।


संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र कोरियन इन्भेष्टमेन्टल इन्ड्रष्ट्री एण्ड टेक्नोलोजी इन्स्टिच्युट (केइआईटिआई) बीच गत जुन ६ मा विराटनगर र भरतपुर महानगरपालिकाको फोहोरको बारेमा अध्ययन गर्ने र सदुपयोगका बारेमा गुरुयोजना बनाउने सम्झौता भएको थियो ।


इन्स्टिच्युटले १५ महिनाको अवधिमा आफ्नो अध्ययन सक्ने छ । दुइवटै महानगरपालिकाको फोहोरमैला अध्ययनका लागि ६ करोड रुपैयाँ खर्च लाग्ने भएपनि महानगरपालिकाले ब्योहोर्नु नपर्ने प्रमुख पराजुलीले बताए । अध्ययनमा हुने सबै खर्च कोरियाली कम्पनीले व्योहोर्ने सम्झौतामा छ ।


कस्तो कस्तो ठोस फोहर उत्पादन हुन्छ, अवस्था, कति प्रतिशत अर्गानीक, कति मात्रामा हुन्छ, फोहोरले पुर्‍याउने असर र कसरी सदुपयोग गर्दा फाइदा हुन्छ भन्ने विषयमा अध्ययन गरिने महानगरपालिकाका इन्जिनियर घनश्याम काफ्लेले बताए । ‘फोहोरबाट ग्यास, विद्युत र मल आदि के उत्पादन गर्दा फाइदाजनक हुन्छ त्यो विषयमा अध्ययन हुँदैछ,’ उनले भने, ‘फोहोरबाट विद्युत उत्पादन गर्ने हो भने कति युनिट हुनसक्छ र त्यसका लागि कति खर्च लाग्छ भन्ने पनि अध्ययनको विषय हो ।’


फोहोरबाट उर्जा उत्पादनका लागि लाग्ने खर्चको स्रोत कसरी जुटाउन सकिन्छ भन्ने विषयमा पनि अध्ययनले प्रष्ट पार्ने उनले बताए । महानगर क्षेत्रभित्र अहिले दैनिक करिव सय मेट्रिक टन फोहर उत्पादन हुने गरेको छ ।

प्रकाशित : असार २, २०७६ १०:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?