कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

दिक्तेल सडक खण्डको कालोपत्रे तीव्र

डम्बरसिं राई

खोटाङ — मध्यपहाडी लोकमार्ग अन्तर्गत बाझेच्यानडाडाँ–दिक्तेल सडक खण्डको कालोपत्रे तिब्र गतिमा भइरहेको छ । अवधि सकिए पनि काम अपूरै हुँदा चौतर्फी दबाब आएपछि कालोपत्रेको कामले गति लिएको हो ।

दिक्तेल सडक खण्डको कालोपत्रे तीव्र

राष्ट्रिय गौरवको आयोजना अन्तर्गत पर्ने यो सडक खण्डको (८८ किलोमिटर) मध्ये दारुलाडाडाँ–दिक्तेलसम्मको १८ किलोमिटर सडकको कालोपत्रे यसै असारभित्र सक्ने गरी काम बढाइएको निर्माण कम्पनी सम्बद्ध साङ्गे सेर्पाले बताए । अन्य सडक खण्ड भने आगामी वर्ष मात्र सकिने सेर्पाले सुनाए ।


यो सडकको चारवटा प्याकेजमा ठेक्का लागेको थियो । एक नम्बर र दुई नम्बर प्याकेजको २०७२ वैशाख २ गते, तीन नम्बर प्याकेज २०७२ असार १६ गते र चार नम्बर प्याकेजको २०७२ चैत १६ गते दुई वर्षभित्र सक्ने गरी रमण गोल्डेन गुड जेबी कम्पनीले सडक विभागसँग सम्झौता गरेको थियो ।


यसमध्ये एक र दुई नम्बरको प्याकेजको अवधि थपेर आगामी असारसम्म पुर्‍याइएको छ । तीन र चार नम्बर प्याकेजको अवधि आगामी चैतसम्मका लागि थपिएको छ । सेर्पाका अनुसार एक नम्बर च्यानडाडाँ–पेलुङसम्मको (१० किलोमिटर) ५० प्रतिशत, दुई नम्बर प्याकेज पेलुङ–दारुलासम्म (८ किलोमिटर) ६० प्रतिशत, तीन नम्बर प्याकेज दारुला–कालिखोला (९ किलोमिटर) ८० प्रतिशत र चार नम्बर प्याकेज कालिखोला–दिक्तेल (९ किलोमिटर) ९५ प्रतिशत काम सकिएको छ ।


त्यसो त करिब एक अर्ब, नौ करोड, १९ लाख रुपैयाँको लागतमा सम्पन्न हुनु पर्ने यो सडक बेलामा नसक्दा अब यसको लागत करिब सवा अर्ब पुग्ने भएको छ । पेटी ठेक्का, बेलामा सडक पुल नबन्नु लगायतका कारण ढिलाई भएको सेर्पाले बताए ।


यस सडक खण्डमा आठ पुलमध्ये चार वटा मात्र सकिएको छ । सकिएको चार वटा सडक पुलको ठेक्का गोल्डेन गुड निर्माण कम्पनीले लिएको थियो । उक्त निर्माण कम्पनीले ठेक्का लिएको कालिखोला, लप्सेखोला, दाम्देखोला र साप्सुखोला सडक पुल सकिएर सञ्चालनमा आइसकेको छ । अन्य चारवटा सडक पुल भने अत्तो पत्तो छैन ।


यो सडक खण्डमै पर्ने भुल्के खोलाको पुल निर्माण सुरु गर्नासाथ वर्षादा कारण बन्द भएको छ । यहाँ रहेको धार्मिक तथा पर्यटकीय भुलभुलेलाई असर पर्ने भएकाले उक्त पुल केही तल्तिर सार्नु पर्ने हुदाँ निर्माणमा ढिलाई भएको निर्माणमा संलग्न सगरमाथा घिमिरे निर्माण सेवा सम्बद्ध कृष्णप्रसाद घिमिरेले बताए । भालुखोला, छेपेखोला र मेवा खोलाको सडक पुलको भने ठेक्कै लागेको छैन । पुल नबन्दा सडक निर्माणमा समस्या भएको सेर्पाले सुनाए ।

प्रकाशित : असार ५, २०७६ १०:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?