कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पानी परे निदाउँदैनन् सुकुम्बासी

०७४ सालको साउनमा आएको बाढीले घरबार बगाएका मुसहर राति पानी पर्न थालेपछि त्रसित हुन्छन्
विनु तिम्सिना

विराटनगर — ‘असार लाग्यो अब त राति निदाउन कहाँ पाइन्छ र ? पानी पर्‍यो भने छोराछोरी सुत्छन् हामी बुढाबुढी त खोला हेरेर रात बिताउँछौं ।’
यो भनाई विराटनगर महानगरपालिका १९ खदराबस्तीकी सावित्रा ऋषिदेवको हो । स्थानीय खदरा खोला किनारमा जस्ताले छाएको सानो माटोको घरमा उनी आफ्ना ३ सन्तान र श्रीमानसहित बस्नथालेको लगभग २० वर्ष भयो ।

पानी परे निदाउँदैनन् सुकुम्बासी

२०७४ साल साउनमा आएको बाढीले उनको घरबार लत्ताकपडा र खाद्यान्न सबै बगाएको थियो । अचानक आएको बाढीमा उनले आफू र आफ्ना सन्तानको ज्यान मात्रै जोगाउन सकिन । ‘एक्कासि बाढी आएको थियो त्यसैले ज्यान मात्रै बचाएर भाग्यौं,’ विगत सम्झिँदै उनले भनिन्, ‘लुगाफाटो, खानेकुरा र भाँडाकुँडा केही बाँकी रहेन घरनै बगाएर लग्यो ।’


बल्लतल्ल त्यो पीडाबाट माथि उठेको सावित्राको परिवार अहिले पनि लगातार वर्षा भयो भने रातभर अनिदो बस्ने गरेको छ । ‘अहिलेपनि पानी पर्‍यो भने डर लाग्छ,’ उनले भनिन्, ‘खोलाको छेउमा बसिएको छ अघिल्लो पटकको बाढीमा लुगाफाटो, खाद्यान्न सबै बगाउँदा धेरै दुःख पाइयो त्यसैले पानी पर्दा रातभर निन्द्रा लाग्दैन ।’


खदरा खोला किनारमा ३ घर डोम र १३ घर ऋषिदेव परिवारको बसोबास छ । उनीहरू सबै सुकुम्बासी हुन् । वर्षातको मौसममा पानी पर्‍यो कि उनीहरू खोला हेर्दै बस्छन् । रातको समयमा बाढी आएमा छोराछोरीलाई बगाउँछ कि भन्ने पीरले आफूहरू जागै बस्ने गरेको कविता मरिक बताउँछिन ।


‘दिउँसो त छोरीछोरी स्कुलमा हुन्छन् बाढी नै आए पनि केही डर हुँदैन,’ उनले भनिन्, ‘तर रातको समयमा पानी पर्‍यो भने निक्कै डर लाग्छ, त्यसैले छोराछोरीलाई सुताएर हामी पालैपालो खोलाको निगरिनी गर्छौं ।’


खदरा बस्ती जस्तै नदी किनारमा रहेका मोरङका धेरै बस्ती बाढीको जोखिममा छन् । चुरे क्षेत्रबाट दक्षिणतर्फ बग्ने साना ठूला गरी मोरङमा एक दर्जनभन्दा बढी खोला छन् । यी खोला किनारमा खेतीयोग्य जमिनसँगै सयौँ बस्ती जोडिएका छन् ।


चिसाङ, होलोन्द्रा, डाँस, गछा, बक्राहा, बढी केसलिया, सिङगया र मरिया बक्राहा गरी मोरङमा सबैभन्दा बढी जोखिम निम्त्याउँने जम्मा ८ खोला छन् । मोरङको बक्राहा खोलाका कारण मिक्लाजुङ गाउँपालिका, उर्लाबारी नगरपालिका, पथरी–शनिश्चरे नगरपालिका, रतुवामाई नगरपालिका, मिक्लाजुङ नगरपालिकाका धेरै बस्ती जोखिममा छन् ।


त्यस्तै लोहन्द्रा खोलाबाट बेलबारी नगरपालिकाको १, २, ३, ४ र ५ नम्बर वडाका बस्ती जोखिममा छन् । भने र चिसाङ खोलाबाट बेलबारीकै ७ र ८ नम्बर वार्डका केही बस्ती जोखिममा रहेको जलस्रोत तथा सिंचाइ विकास डिभिजन कार्यालयले जनाएको छ । लोहोन्द्रा खोलकै कारण धनपालथान गाउँपालिका, रंगेली नगरपालिका, कटहरी र केराबारी गाउँपालिका केही बस्ती जोखिममा रहेको कार्यालयले जनाएको छ ।


चिसाङ खोलाका कारण कानेपोखरी गाउँपालिकाका १, २ र ५ नम्बर वार्ड र डाँस खोलका कारण कानेपोखरीकै ३, ४ र ६ नम्बर वडाका बस्ती, लेटाङ नगरपालिका र बेलबारीका पनि केही बस्ती जोखिममा छन् । विराटनगर महानगरपालिकाको पूर्व भएर भग्ने सिङगया खोलाका कारण महानगरकाका ४, ५, ६ र ११ नम्बर वार्डका टोल जोखिममा छन । त्यस्तै महानगरकै १, ८, १०, १९ र ११ नं वडाका केही बस्ती पनि यो खोलाको जोखिममा छन् ।


त्यस्तै बुढी केसलिया खोलाका कारण सुन्दर हरैंचा नगरपालिकाका केही वडा जोखिममा छन् । भने डाँस खोलाका कारण कानेपोखरी, सुनवर्षी, पथरी, रंगेलीका केही बस्ती जोखिममा छन् । प्रदेश सरकार मातहतको जलस्रोत तथा सिंचाइ विकास डिभिजन कार्यालयले यो आर्थिक वर्षमा मात्रै यी ८ खोलासहित साना ठूला गरी २७ वटा खोलामा नदी नियन्त्रणको काम गरेको जनाएको छ ।


चालु वर्षमा मात्रै ४९ करोड खर्च गरेर २७ वटा खोलाका विभिन्न स्थानमा तारजाली लगाउने र तटबन्ध गर्ने काम भएको छ । तर दीर्घकालीन योजनाका साथ योजना छनोट नहुँदा भने भएका नदी नियन्त्रणको काम पनि प्रभावकारी हुन नसकेको कार्यालयका प्रमुख बद्री कार्कीले बताए । ‘पहुँचको भरमा प्रभावमा परेर योजना छनोट हुन्छ,’ उनले भने, ‘दीर्घकालीन योजना बनाएर नियन्त्रण भन्दा टाल्ने मात्रै काम भएको छ । यसले तत्काल रोकथाम हुन्छ तर जोखिम कम हुँदैन ।’

प्रकाशित : असार ५, २०७६ १०:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?