धनकुटामा पहिलो पटक प्याराग्लाइडिङ
धनकुटा — धनकुटामा पहिलो पटक प्याराग्लाइडिङ उडान बिहीबारदेखि सुरु भएको छ । बजार नजिकै रहेको चुलिबनबाट याक्चनासम्म परीक्षण उडान सफल भएको हो । कोसी एडभेन्चर प्राली इटहरी र धनकुटा नगरपालिकाको सहकार्यमा उडान थालिएको हो ।
पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले गरिने साहसिक खेल प्याराग्लाइडिङको लागि उपयुक्त स्थान रहेकाले यसलाई व्यावसायिक रूप दिइने कोसी एडभेन्चरका निर्देशक सुरेश बस्नेतले बताए । अघिल्लो वर्ष गरिएको प्रयास असफल भएपछि पुनः परीक्षण गरिएको हो ।
प्रालीले चुलिबनबाट प्याराग्लाइडिङ र उत्रने स्थल याक्चनाबाट तमोर नदीमा र्याफ्टिङ समेत एकैसाथ प्याकेजको रूपमा सुरुवात गरेको छ ।
पहिलो पटक प्याराग्लाइडिङका पाइलट राम लिम्बुको अगुवाइमा स्थानीय बालसंसार बोर्डिङ स्कुलका शिक्षक नवीन केसी उडेका थिए । उनीहरू चुलिबनबाट १० मिनेट तमोर माथिको आकाशमा उडेर याक्चनामा उत्रिएका थिए ।
प्याराग्लाइडिङबाट आन्तरिक तथा बाहृय पर्यटक आकर्षित गर्न सहज रहेकाले नगरपालिकाले यस कार्यलाई प्राथमिकतामा राखेको धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले बताए ।
यसअघि भेडेटार, धरान, इलाम, उदयपुर लगायतका जिल्लामा प्याराग्लाइडिङको सफल परीक्षण भएको थियो ।
प्रकाशित : असार ५, २०७६ १५:१७