१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

स्थानीय तहको पुँजीगत खर्च आधामात्र

विनोद भण्डारी

विराटनगर — प्रदेश १ सरकारले चालु आर्थिक वर्ष करिब २७ प्रतिशतमात्र पुँजीगत खर्च गर्दा मोरङका १७ स्थानीय तहमध्ये अधिकांशले जेठ सम्ममा ५० प्रतिशतभन्दा बढी बजेट खर्च गरेको पाइएको छ । प्रदेश सरकारले चालु वर्ष विनियोजन गरेको पुँजीगत खर्च १७ अर्ब ७५ करोडमध्ये जेठ सम्ममा ४ अर्ब ५८ करोड ६५ लाख मात्र खर्च गर्न भ्याएको छ ।

स्थानीय तहले पुजीगत खर्च खास गरी पूर्वाधार विस्तार, सडक, कृषि, शिक्षा, स्वास्थ्य, कल्भर्ट निर्माण र मठमन्दिर मर्मतमा खर्चेको पाइएको छ । प्रदेश १ को एकमात्र महानगरपालिका विराटनगरले चालु वर्ष विनियोजन गरेको पुँजीगत खर्च १ अर्ब ६९ करोड २ लाख मध्ये जेठ सम्ममा करिब ३५ प्रतिशत खर्च गरेको छ । बाँकी रकम असार मसान्त सम्ममा खर्च भइसक्ने प्रमुख प्रशासकीय अधिकृत एकदेव अधिकारीको भनाई छ ।


महानगरले सडक निर्माण, शिक्षा र स्वास्थ्यको गुणस्तर सुधार, कृषि क्षेत्रलाई प्राथामिकता राखेर रकम खर्च गरेको पाइएको छ । चालु आर्थिक वर्ष महानगरले सडकको स्तरोन्नति, पिच, ग्राभेल, नाला, सडक चौडा र रिटेनिङ वालमा करिब ४० करोड रुपैयाँ लगानी गरेको छ । शिक्षामा आन्तरिक आयको ३ करोड बजेट खर्च गरेको छ । नगरभित्रका विभिन्न पाँचवटा सामुदायिक विद्यालयलाई नमुना विद्यालय घोषणा गरेर ती विद्यालयको शिक्षण सुधारका लागि १ करोड रुपैयाँ खर्च गरेको छ । त्यसैगरी स्वास्थ्य सुधारमा महानगरले यस वर्ष ७ करोड आन्तरिक आय लगानी गरेको छ ।


प्राविधिक कर्मचारीको अभाव र प्रमुख प्रशासकीय अधिकृतको छिटो–छिटो सुरुवा भएकाले जनअपेक्षा अनुसार विकासका काम गर्न र पुँजीगत खर्च गर्न समस्या भएको महानगर प्रमुख भीम पराजुलीको भनाई छ । महानगरपालिकासँग जोडिएको कटहरी गाउँपालिकाले पुँजीगत बजेट २० करोडमध्ये ५३ प्रतिशत रकम खर्च गरिसकेको छ ।


त्यस बजेट मध्ये सडक र पूर्वाधार विस्तारमा ७० प्रतिशत बजेट खर्च भएको प्रमुख रामकुमार कामतको भनाई छ । कल्भर्ट र नाला निर्माणमा १० प्रतिशत बजेट खर्च भएको छ । गाउँपालिकाले शिक्षा र स्वास्थ्यको गुणस्तर सुधारमा २ करोड खर्च गरेको छ । कृषिमा पनि त्यसकै हाराहारीमा बजेट खर्च भएको छ । कामतले भने असार मसान्त सम्ममा विनियोजित बजेट खर्च भइसक्ने स्थिति छ ।


सीमावर्ती जहदा गाउँपालिकाले पनि सामाजिक विकास, सडक, भवन, कृषि र पशुपालनलाई प्राथमिकता दिएर पुँजीगत बजेटको ६५ प्रतिशत रकम खर्च गरिसकेको छ । यो गाउँपालिकाको पुँजीगत बजेट २५ करोड हो । त्यसमध्ये ६५ प्रतिशत खर्च भइसक्यो । कार्यकारी अधिकृत रोहणी आचार्यले भने, ‘गाउँपालिकाले चालुवर्ष ५ किलोमिटर सडक कालोपत्र गरेर थप पाँच किलोमिटरभन्दा बढी सडक चौडा र ग्राभेल गरेको छ । पिछडा वर्गको बसोबास रहेको यो गाउँपालिकाले उनीहरूका लागि जनचेतना बढाउने कार्यक्रम पनि सञ्चालन गरेको छ ।


पुरानो सदरमुकाम रंगेली नगरपालिकाले विनियोजित पुँजीगत बजेटमध्ये असार पहिलो सातासम्ममा ९० प्रतिशत बजेट खर्च गरिसकेको छ । यो नगरले पनि सडक निर्माण, ग्राभेल, शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार विकासमा खर्च गरेको छ । सडकमा ७० प्रतिशत, भौतिक पूर्वाधारमा १० प्रतिशत, मठमन्दिरमा १० प्रतिशत र शिक्षा तथा स्वास्थ्यमा १० प्रतिशत बजेट खर्च भएको प्रशासकीय अधिकृत तोम सुवेदीको भनाई छ ।


रतुवामाई नगरले विनियोजित बजेटको ९० प्रतिशत रकम खर्च गरिसकेको नगर प्रमुख रविन राईको भनाई छ । ग्रामीण क्षेत्रको यो नगरले रतुवा र बक्राह नदी तटबन्ध, भौतिक पूर्वाधार विस्तार, सडक निर्माण, कृषि स्वरोजगार, शिक्षा र स्वास्थ्यको गुणस्तर सुधारमा बजेट खर्चेको राईको भनाई छ ।

प्रकाशित : असार ६, २०७६ १०:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?