कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

पारी शीतल, वारी हपहप

जितेन्द्र साह

कटहरी, मोरङ — ‘आहा, यहाँ सरर हावा, अनि कति शीतल !’ बिहानको डुलाइमा सिंघिया पुल पार गरे लगतै विराटनगरका डा. प्रियेश आचार्यले भने । उनले हिंडाइको थकान हराएर स्फूर्ति महसुस भएको बताए । आकाशमा बादल मडारिए पनि पुल वारी महानगरको सहरी क्षेत्रमा हिंडनै मुस्किल हुने गरी हपहप थियो भने पारी मोरङकै कटहरी गाउँपालिकाको सानासाना घर भएको चौधरी बहुल महेसपुर बस्तीमा शीतल थियो ।

पारी शीतल, वारी हपहप

‘रूखबिरुवा भएको खुला ठाउँ, खोलानाला र पोखरीले गर्दा विराटनगर एवं यहाँको वातावरण फरक देखिएको हो,’ बस्तीकी चियापसले सन्ध्या राजवंशीले भनिन् । उनको ठिक अघिल्तिर पोखरी, बाँस झारी, खुला खेत र बस्नलाई फलैंचा छ ।


डुल्दै आएका स्थानीय र बाहिरियाहरू यो फलैंचामा बसी राजवंशीको पसलको चियाको आनन्द लिइरहेका हुन्छन् । स्थानीयका अनुसार यहाँ र सहरको गर्मीको स्वभावमै फरक छ । ‘यहाँ बाहिर हिंडदा त्यति गर्मी हुन्न, विराटनगरमा कोठाभित्र बस्दा त्योभन्दा बढी हपहपी हुन्छ,’ स्थानीय रेशम चौधरीले भने, ‘सहरमा जनसंख्याको बढो चाप, प्रदूषण र वरिपरि घरघरै हुँदा हावाको आवतजावत नभएर पनि हो ।’


यो महानगरको पूर्वमा कटहरी र जहदा गाउँपालिका, पश्चिममा केशलिया खोला, उत्तरमा बुढिगंगा र ग्रामथान गाउँपालिका तथा दक्षिणमा भारतीय सीमा छ । अधिकांश सहरबासी बिहानीको घुमफिरमा वरिपरिको ग्रामीण बस्तीमा निस्कन्छन्, ताजा दुधको चिया र खाजाको आनन्द लिँदै तरकारी किनेर फर्कन्छन् ।


महानगरकै गृहिणी एवं व्यवसायी प्रेमा दुलालको अनुसार विराटनगर क्षेत्रभित्र देवकोटा चोक उत्तरको धरमबाँध जतुवा सडक बाहेक कतै हिंडने स्थिति छैन । ‘स्वास्थ्यका लागि स्थानीय मर्निङ वाकमा जान चाहन्छन्, योग अभ्यास र ध्यान गर्न चाहन्छन् तर घरबाट निस्केपछि कता जाने भनेर सोच्नु पर्छ,’ उनले भनिन्, ‘स्वच्छ हावाका लागि हरियाली खोज्दै गाउँ नै जानुपर्छ, सहरमा हावा पनि वाफिलो चल्छ ।’ निर्माणाधीन रंगेली–विराटनगर सडकले गर्दा पारी जोगवनीबाट सबै मालवाहक गाडीहरू बिहान चार बजेदेखि त्यही एक मात्र जतुवा मार्गबाट प्रवेश गर्ने हुनाले पैदल यात्रुका लागि अचेल असुरक्षित भइरहेको दुलालले बताइन् । ‘त्यही भएर बिहानसाँझ डुल्नलाई गाउँ नै पुग्नुपर्छ,’ उनले भनिन् ।


महानगरलाई कर्मथलो बनाएका युवक मनोज मण्डलका अनुसार सडक र नाला त भोलिपर्सि बन्ला तर बाटोको दुवैतिर हिंडने ठाउँ छैन भने रूखविरुवा कहाँ रोप्ने ? ‘मन्त्री र नेताहरूले विदेश भ्रमणबाट फर्कँदा के सिकेर आउँछन्, कुन्नी ?,’ उनले भने, ‘रूखबिरुवा बेगरको सहर कसरी शीतल होला ?’ अवसर र सुविधाको खोजीमा ओइरिरहेकाहरूले तीव्र गतिमा विराटनगर कंक्रिटको महानगरमा परिणत भइरहेको छ । वृक्षरोपण औपचारिकतामा सीमित छ भने सडक विस्तार तथा घर निर्माणका क्रममा भएका रूख विरुवा पनि काटिंदै छन् ।


‘कम्तीमा १ घर १ बिरुवाको सोच राख्नु पर्‍यो,’ स्थानीय तोरेन्द्रमान सिंह प्रधानले भने । वातावरण दिवसमा फेसन सो जस्तै बिरुवा रोपिने आडम्बरले फेसबुकको पृष्ठ मात्र ढाक्छ तर, हरियाली छाउँदैन भन्ने उनको धारणा छ । ‘हामी तत्कालको मात्र फाइदा देखेर पूर्वाधार निर्माण गर्छौं, दीर्घकालीन योजनाको बारेमा सोच्दैनौं,’ प्रधानले भने ।

प्रकाशित : असार ६, २०७६ १०:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?