१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

रुट फेर्दै मानव तस्करी

पर्वत पोर्तेल

(काँकडभिट्टा) — मानव तस्करीमा संलग्न गिरोहले रुट फेर्दै नेपालीलाई अवैधानिक ढंगबाट खाडीलगायत मुलुक पठाउने गरेको छ । पहिलोपटक मणिपुरको मोरे नाका प्रयोग गरियो । लगत्तै मिजोरमको चम्फाई नाकाको प्रयोग भयो । 

मानव तस्करले नागाल्यान्डको लोङा र अरुणान्चलको दिफु पास नाकालाई समेत प्रयोग गर्न सम्भावना रहेको भन्दै यो क्षेत्रका सुरक्षाकर्मी चनाखो बनेका छन् । मिजोरम प्रहरीका एसपी कार्तिक कष्यपले मिजोरम र मणिपुरपछि अन्य राज्यबाट समेत तस्करी हुन सक्ने भन्दै ती राज्यका सुरक्षा निकायले निगरानी बढाएको बताए ।


‘यो क्षेत्रबाट यस किसिमको गतिविधि हुन नदिन हामी प्रतिबद्ध छौं,’ एसपी कष्यपले भने । पूर्वोत्तरका चार राज्य मणिपुर, मिजोरम, नागाल्यान्ड र अरुणान्चलको सिमाना म्यानमारसँग जोडिन्छ । मणिपुरको मोरे र मिजोरमको चम्फाइ रुट प्रयोग भइसकेकाले अरुणान्चलको दिफु पास र नागाल्याण्डको लोङा नाका समेत प्रयोग गर्ने योजनामा मानव तस्करहरू रहेको सूचना भारतीय प्रहरीले पाएको छ ।


दिफु पास भारत, चीन र बर्माको त्रिदेशीय सीमा नाका हो । यो हिमाली क्षेत्रवाट समेत नाका पार गरे वर्मार् जान सकिन्छ । तर, यो क्षेत्रमा सुविधाजनक यातायात सेवा भने छैन । भारत र बर्माबीचको सन्धिअनुसार दुई देशका नागरिक यी नाकामा निर्वाध आवतजावत गर्न पाउँछन् । उनीहरूलाई भिषा अनिवार्य छैन ।


व्यापार व्यवसाय गर्न पनि वन्देज छैन । ‘सीमा वारपार गर्न इजी एक्सेसका कारण मानव तस्करले बाँकी रहेका यी दुईवटा रुट पनि प्रयोग गर्न सक्ने सम्भावना प्रबल छ’, महिला, बालबालिका तथा ज्ष्ठे नागरिक मन्त्रालयका उपसचिव कृष्णप्रसाद भुषालले भने,‘नेपाली, भारतीय र वर्मेलीहरूको अनुहार पनि मिल्दोजुल्दो हुने हुँदा सीमा वारपार गर्न कुनै सकस नै हुदैन ।’


दिल्लीस्थित नेपाली दूतावासमा कार्यरत एसएसपी प्रकाश अधिकारीका अनुसार मणिपुर र मिजोरम घटनापछि नर्थइष्ट क्षेत्रका सुरक्षाकर्मीहरूले सतर्कता अपनाएका कारण नागाल्यान्ड र अरुणान्चल प्रदेश नाकाबाट काम गर्न तस्करहरूलाई सहज नहुने दाबी गरे । ‘अघिल्ला घटनापछि नर्थइष्ट क्षेत्रका सवै राज्यमा सुरक्षा सर्तकता चुस्त पारिएको छ’, अधिकारीले थपे, ‘अब यस्तो गतिविधि दोहोरिने सम्भावना देखिँदैन ।’


मानव तस्करहरूले दिल्ली, मणिपुर, मिजोरम, म्यानमार हुँदै सरकारले प्रतिबन्ध लगाएका मुलुक कामदार पठाउने गरेका हुन् । विगतमा दिल्लीबाट सोझै श्रीलंकाको कोलम्बो हुँदै खाडी मुलुक तथा इराक, अपगानिस्तान, किर्गिस्तानलगायतका युद्धग्रस्त देशमा पठाउथे । दिल्लीको इन्दिरा गान्धी विमानस्थलमा पछिल्लो समय गरिएको कडाइपछि तस्करहरूले उत्तरपूर्वी भारतका मणिपुर र मिजोरम जस्ता राज्यको प्रयोग गरेका हुन् । माइती नेपालका अध्यक्ष विश्वराज खड्काका अनुसार सुरुमा तस्करहरूले अनलाइनबाट म्यानमारको पर्यटक भिसा निकाल्छन् । मोरे र चम्फाइबाट म्यानमारको राजधानी रंगुन पुर्‍याइन्छ । रंगुनबाट सोझो कोलम्बो पुर्‍याइन्छ । खाडीलगायत अन्य तेस्रो मुलुक पठाउने मुख्य ट्रान्जिट कोलम्बो हो ।


प्रकाशित : असार ७, २०७६ १०:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?