जग्गा रजिस्ट्रेसनमा छुट

विराटनगर — प्रदेश १ को सरकारले आगामी वर्षको बजेटमार्फत जग्गा रजिस्ट्रेसनमा विभिन्न खाले छुट दिएको छ । जनआन्दोलन, मधेस आन्दोलनका सहिदका आश्रित परिवार पति, पत्नी, छोराछोरी तथा मातापिताको स्वामित्व प्राप्त हुने लिखतमा सबै प्रकारको शल्क पूर्ण रूपमा छुटको व्यवस्था गरिएको छ ।

‘बजेटमा करको दर होइन दायरा बढाउने प्रयास गरेका छौं,’ आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले भने, ‘प्रदेशले लगाउन पाउने करका क्षेत्र नै धेरै कम छन्, त्यसैले दायरा बढाएका हौं ।’


गुट्खा, खैनी, पानपराग, मदिराजन्यबाहेक उत्पादनमूलक उद्योग स्थापना गर्दा रजिस्ट्रेसन शुल्कमा ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ । यसैगरी प्रदेशभित्रका बैंकिङ, बिमा, वित्तीय व्यवसाय गर्ने संस्था एकआपसमा गाभिँदा घरजग्गाको एकत्रित गर्दा संशोधन शुल्कबाहेक अन्य शुल्क नलाग्ने व्यवस्था गरिएको छ ।


सामूहिक खेतीमा जग्गा चक्ला मिलाई खेती गर्ने उद्योगलाई रजिस्ट्रेसन शुल्कमा ७५ प्रतिशत छुटको व्यवस्था छ । ३ जनाभन्दा बढी व्यक्तिलाई बढी रोजगारी दिने उत्पादनमूलक उद्योग स्थापना वा विस्तार गर्दा रजिस्ट्रेसन शुल्क ५० प्रतिशत छुट गरिएको छ । जग्गामा पतिपत्नीको संयुक्त स्वामित्वको रजिस्ट्रेसन शुल्क १ सय मात्र लाग्ने भएको छ ।


शुक्रबारको प्रदेशसभा बैठकमा ‘आर्थिक विधेयक २०७६’ सर्वसम्मत पारित भएको छ । प्रदेश सरकारले पहिलो पटक मनोरञ्जन कर लगाउने भएको छ । आव २०७६/०७७ मा प्रदेश १ भित्र सञ्चालित चलचित्रको टिकटमा प्रतिटिकट मूल्यको ३ प्रतिशत (तर नेपाली चलचित्रको प्रदर्शनमा भने यसमा ५० प्रतिशत छुट दिइने), भिडियो घर, सांस्कृतिक कन्सर्ट, थिएटर/नाटक घरमा टिकट मूल्यको ५ प्रतिशत, दोहोरी साँझ, डान्सबार, जुम्बालाई वार्षिक रु. ५ हजार, फनपार्क, वाटर गार्डेन, बाल उद्यानको प्रतिटिकट २ प्रतिशत कर लगाइने भएको छ ।


जादुमेला, सर्कस र मनोरञ्जनात्मक कार्यक्रमलाई प्रतिदिन २ सय, एक महिनाभन्दा बढी चलाए प्रतिमहिना ५ हजार ५ सय तोकिएको छ । यस्तो कर महिनाको २५ गतेभित्र बुझाइसक्नुपर्नेछ भने नबझाए वार्षिक १५ प्रतिशतका दरले ब्याजसहित असुल गरिने कानुनी व्यवस्था गरिएको छ ।


पर्यटन शुल्क भने पालिकाहरूले असुल गर्नेछन् । यो करको ४० प्रतिशत प्रदेशको विभाज्य कोषमा दाखिला गर्नुपर्ने कानुनी व्यवस्था रहनेछ । पदमार्गअन्तर्गत सार्क मुलुकका पर्यटकका लागि अमेरिकी डलर ५ र अन्य मुलुकका लागि १० डलर तोकिएको छ ।


यसैगरी प्रदेश सरकारले ढुंगा–गिट्टी, बालुवा, माटो, दहत्तर बहत्तरको संकलन तथा बिक्रीमा शुल्क लगाइने भएको छ । यसैगरी प्रदेश सरकारले सवारीका साधनमा समेत कर निर्धारण गरेको छ । प्रदेशले १२५ सीसीसम्मको मोटरसाइकलमा वार्षिक २ हजार ८ सय, त्यसमाथि २ सय ५० सीसीसम्म ४ हजार ५ सय, त्यसमाथि ४ सय सीसीसम्म ९ हजार तोकिएको छ ।


हजार सीसीसम्मको कार, जिप, भ्यान र माइक्रोबसको वार्षिक कर २१ हजार, त्यसमाथि १ हजार ५ सय सीसीसम्म २३ हजार, त्यसमाथि २ हजार सीसीसम्म ३० हजार, त्यसमाथि २ हजार ५ सय सीसीसम्म ३५ हजार, त्यसमाथि २ हजार ९ सय सीसीसम्म ४१ हजार र २ हजार ९ सय १ सीसीमाथि वार्षिक ५८ हजार ५ सय रुपैयाँ सवारी कर तोकिएको छ ।


अटोरिक्सा, थ्री ह्विलर, टेम्पोको ५ हजार, ट्रेक्टर ४ हजार ५ सय, पावर टिलर ३ हजार ५ सय, मिनिट्रक, मिनीबस २४ हजार ५ सय, ट्रकबसलाई ३३ हजार तोकिएको छ । आङ्बोले सवारी करतर्फ प्रदेश २,३ र गण्डकी जत्तिकै कर निर्धारण गरिएको बताए ।

प्रकाशित : असार ८, २०७६ १०:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?