अंग्रेजी माध्यम भन्दैमा गुणस्तर सुध्रिन्छ ?

विप्लव भट्टराई

इलाम — सामुदायिक विद्यालयमा अंग्रेजी माध्यमबाट पढाउने लहड चलिरहेका बेला यसले पार्ने प्रभावका विषयमा गम्भीर बन्नुपर्ने सरोकारवालाले बताएका छन् । बिना योजना र तयारी विद्यार्थीको संख्या थप्ने बहानामा देशव्यापी रूपमा अंग्रेजीलाई माध्यम बनाइरहँदा विद्यार्थीले अपेक्षाकृत उपलब्धि हासिल गर्न नसक्ने तर्क उनीहरूको छ ।

अंग्रेजी पहिलो भाषा नभएका विद्यार्थी र शिक्षक दुवैलाई यसले अप्ठेरो पारेको त्रिभुवन विश्वविद्यालयको शिक्षाशास्त्र केन्द्रीय विभागका प्रेम फ्याकको धारणा छ । ‘अंग्रेजी माध्यमबाट पढाउँदैमा गुणस्तरीय शिक्षा प्राप्त गर्न सकिन्छ भन्ने गलत मान्यता बसेको छ,’ उनले भने, ‘न शिक्षकले राम्ररी पढाउन सक्छन् न विद्यार्थीले नै बुझ्न सक्छन् ।’ विश्वव्यापी अध्ययनले पनि बहुभाषिक ज्ञान भएको विद्यार्थीले नै गुणस्तरीय शिक्षा प्राप्त गरेको देखाएको छ ।

निजी क्षेत्रका विद्यालयमा अंग्रेजी माध्यम अपनाइरहँदा लब्धांक पत्रलाई मात्र आधार मानेर पठनपाठन भइरहेको गुनासो आइरहँदा विद्यार्थी तान्ने र गुणस्तर सुधार गर्ने बहानामा सामुदायिक स्कुल पनि उही बाटोमा लाग्न नहुने सदरमुकाममा आइतबार शिक्षा पत्रकार समूहले आयोजना गरेको कार्यक्रमका सहभागीको भनाइ थियो ।

अंग्रेजी भाषालाई विषयका रूपमा मात्र अध्यापन गराएर स्थानीय भाषालाई माध्यम बनाउनुपर्ने सुझाव अधिकांशको छ । अंग्रेजी माध्यममा यसअघि नै पढाइ गराइरहेका कतिपय विद्यालयको अंग्रेजी विषयमा विद्यार्थीमा सुधार देखिए पनि सामाजिक, विज्ञान, गणित, नैतिकजस्ता विषयमा विद्यार्थी कमजोर बन्दै गएको पाइएको छ ।

‘कक्षा ८ को नतिजालाई मात्र हेर्दा पनि अंग्रेजी विषयबाहेक अरूमा नतिजा खस्कियो,’ देउमाई नगरपालिकाका शिक्षा शाखा प्रमुख राजेन्द्र न्यौपानेले भने, ‘विद्यार्थी नभएकै कारण विद्यालय धमाधम बन्द गर्नुपर्ने अवस्था आएका कारण पनि बाध्यकारी ढंगले अंग्रेजी शिक्षालाई प्राथमिकता दिनुपरेको हो ।’

अधिकांश सामुदायिक विद्यालयमा कुनै न कुनै तहमा अंग्रेजी भाषालाई माध्यमका रूपमा लिन थालिएको छ । अंग्रेजी बोल्न नजान्दा विदेश जाँदादेखि हरेक टेक्निकल क्षेत्रमा पनि असर खेप्नुपर्ने भएपछि अधिकांशले माध्यम भाषाका रूपमा यसलाई प्रयोग गर्न दबाब बढाएका हुन् । तर तयारी बिना नै लहडमा यसलाई कार्यान्वयन गर्नसमेत चुनौती देखिएको छ ।

हरेक विद्यालयमा कार्यरत शिक्षकहरू अंग्रेजी माध्यमबाट पढाउन योग्य नहुनु, उति नै रकम खर्चेर निजी क्षेत्रबाट शिक्षक चयन गर्दा विद्यालयलाई बोझ थपिनेसँगै घुमाउरो पारामा अभिभावकबाट नै रकम संकलन गर्नुपर्ने बाध्यता देखिएको हो ।

‘अपेक्षाकृत उपलब्धि हासिल नहुनुमा माध्यम भाषासहित समस्याग्रस्त हरेक क्षेत्रलाई मसिनु ढंगले अध्ययन गरिनुपर्छ,’ इलाम नगरपालिकाका प्रमुख महेश बस्नेतले भने । जुनसुकै भाषाको प्रयोग गरिए पनि गुणस्तरीय शिक्षा दिनका लागि विद्यार्थीलाई जिज्ञासु र सिर्जनशील बनाउनुपर्नेमा सबै एकमत देखिन्थे ।

विषयगत रूपमा नेपाली र अंग्रेजी भाषालाई माध्यम बनाएका विद्यालयले शैक्षिकस्तर राम्रो रहेको अनुभव सुनाए । शिक्षा पत्रकार समूहकी अध्यक्ष रोश्ना सुब्बाले स्थानीय भाषाको विकल्पमा अन्धाधुन्ध अंग्रेजी माध्यम अपनाउँदा आवश्यक जनशक्ति, शिक्षण विधि, पाठ्यक्रमलगायत सम्पूर्ण विषयमा मनग्गे अध्ययन, छलफल र योजना बनाएर मात्र कार्यान्वयन गर्न सुझाव दिइन् ।

प्रकाशित : असार ९, २०७६ ११:०२
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

हट्ला त माइखोलाको जोखिम ?

विप्लव भट्टराई

इलाम — सुक्खायाममा टेम्पो चढेर महमाई र दानाबारी आउजाउ गर्न कठिन छैन । बीचमा पर्ने माईखोलामा बाँसको अस्थायी पुल भएकाले साइकल र मोटरसाइकलमा हुइँकिन पनि सहज छ ।

इलामको माई नगरपालिकास्थित महमाई र दानबारीबीचको माइखोलामा अस्थायी पुलबाट तर्दै स्थानीय ।तस्बिर : विप्लव/कान्तिपुर

तर, बर्खा लाग्नसाथ माइ नगरपालिकास्थित महमाईका बासिन्दाको दैनिकी ठिक उल्टो हुन्छ । खोला बढ्नासाथ सवारी साधनहरू वारीको वारी र पारीको पारी रहन्छन् भने बाँसको पुलको नामनिसान हुँदैन । आउजाउदेखि दैनिक उपभोग्य सामग्री खरिद र दुःख बिमार पर्दा पनि स्थानीय डुंगाको साहारामा पुग्छन् । डुंगाको यात्रा सुरक्षित नहुँदा यो गाउँका बासिन्दा समस्यामा पर्ने गरेका छन् ।

लामो समयदेखि यस्तै समस्या झेल्दै आएका दिक्षणी महमाई, लारुम्वालगायत क्षेत्रका बासिन्दाले अहिले भने राहतको श्वास फेर्न थालेका छन् । माइखोलामा निर्माणाधीन पक्की पुलको काम अन्तिम अवस्थामा पुगेकाले यो वर्ष आउजाउ गर्दैमा ज्यान गुमाउनु नपर्लाकी भन्ने अधिकांशलाई लागेको छ ।

‘हिउँदमा सुगम देखिए पनि बर्खामा यो गाउँ कालापानी जस्तै हो,’ स्थानीय विष्णु कार्कीले भने, ‘पुल निर्माण सकिँदा महमाई क्षेत्रका बासिन्दालाई आउजाउमा मात्र होइन यहाँको समग्र आर्थिक, सामाजिक, स्वास्थ्यलगायत क्षेत्रमा उल्लेख्य फाइदा पुग्छ ।’

जिल्लाकै लामो यो पुलको काम अब थोरै मात्र बाँकी छ । बर्खा लागुन्जेल सम्ममा पैदल यात्रीलाई ओहोर–दोहोर गराउन सक्ने बनाउन पुल निर्माण कम्पनी क्रियाशील छ । ‘जसरी पनि यो बर्खा अघि नै मानिस हिंड्ने व्यवस्था गर्छौं भनेर ठेकेदारहरू काममा जुटेका छन्,’ स्थानीय काजिमान बराइलीले भने, ‘कामको गति सन्तोषजनक भएकाले यो पटक जोखिम मोलेर माइको जङगार तर्नु नपर्लाकी भन्ने लागेको छ ।’

५ सय ५० मिटर लामो पुलको काम करिब ८५ प्रतिशत सकिएको छ । पुलको १४ वटा पिल्लर तयार भएर १२ वटा स्ल्याभ तयार भएका छन् । कम्तीमा सबै काम सकेर यातायात सञ्चालन गर्न केही महिना लाग्ने भए पनि मानिस आउजाउ गर्न भने यही पटकदेखि सकिने अवस्था तयार भएको स्थानीय बताउँछन् ।

२५ करोड ७१ लाख लागतमा ५ वर्षमा निर्माण सक्ने गरी २०६९ सालबाट सडक विभाग पुल महाशाखा अन्तर्गतको पुल योजना पूर्वी सेक्टर नं १ धरानमार्फत काम अघि बढेको हो । सूर्य इलाइट जेभी कम्पनीले काम गरिरहेको छ ।

भूकम्प र नाका बन्दीका कारण काममा केही ढिलो भए पनि अहिले रफ्तार बढेकाले स्थानीय थप उत्साहित भएका हुन् । डुङ्गाको बाध्यकारी यात्रा गर्दा २०७३ असोज २८ गते आठ जनाको ज्यान गएको थियो । त्यस यता पनि पुल बनि नसकेकाले बर्खायाममा डुङ्गाको विकल्प छैन ।

प्रकाशित : जेष्ठ १३, २०७६ ११:२०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT