२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

धमाधम खेल मैदान

तेह्रथुम — पर्यटकीय क्षेत्र वसन्तपुरमा व्यवस्थित खेल मैदान निर्माण अन्तिम चरणमा पुगेको छ  । बजार क्षेत्रसँगै जोडिएको देउराली भुल्केधारा सामुदायिक वन उपभोक्ता समुहको जंगल क्षेत्रमा मैदान बनाइएको हो  ।

पुरानो खेल मैदानको क्षेत्रफल बढाएर अन्तिम आकार दिन लागिएको नयाँ शहर आयोजना वसन्तपुरले जनाएको छ । आयोजनाको ४० लाख रुपैयाँ सहयोगमा गत बर्षबाट काम सुरु गरिएको खेल मैदानका लागि चालु आबमा ३ करोड २१ लाख रुपैंया बजेट उपलव्ध गरिएको छ ।

बहुवर्षीय आयोजनाको रुपमा यो रकम खर्च गरिने आयोजना उपप्रमुख सुरेन्द्र सम्भोले बताए । दुई दशक अघिदेखि तत्कालीन गाविस, जिविस, खेलकुद मन्त्रालय, अर्थ मन्त्रालयलगायतको सहयोगमा निर्माण भइरहेको खेल मैदान निर्माणको जिम्मा गत वर्षबाट सहरी विकास तथा भवन निर्माण विभागअन्तर्गतको नयाँ सहर आयोजना वसन्तपुरले लिएको छ ।

आगामी ३ वर्षभित्रमा निर्माणका सम्पूर्ण काम पूरा गर्ने गरी आशिष आशीर्वाद जेभी उदयपुरले आधुनिक शैलीको खेल मैदान निर्माणको ठेक्का पाएको हो । यो निर्माण कम्पनीले पनि गत वर्ष भएका कामसमेतलाई निरन्तरता दिँदै बाँकी रहेका नयाँ काम गर्नुपर्ने आयोजनाले जनाएको छ ।

पहिलो वर्ष खेल मैदानसम्म जाने पहुँच सडक ढलान, खेल मैदानको क्षेत्रफल बढाउने, मैदान वरिपरि घेराबारा गर्ने, मैदान आसपास रहेका खोला कुलोको व्यवस्थापन गर्ने, माटो काटेर मैदान फराकिलो बनाउनेलगायत काम भएका छन् । खेल पर्यटनको विकास गर्ने उदेश्यले प्रदेश १ का पहाडी जिल्लामध्येकै ठूलो खेल मैदान निर्माण थालिएको प्रदेश सांसद एवं स्थानीय लक्ष्मण तिवारीले बताए ।

गुराँसको राजधानीको प्रवेशद्वार वसन्तपुरमा निर्माण भइरहेको खेल मैदानले भारतको विहार र दार्जिलिङका खेल पर्यटक तान्ने तिवारीले बताए । खेल मैदान निर्माण पूरा भएपछि वर्षभरि नै खेलका विभिन्न प्रतियोगिताको आयोजना गर्न सजिलो हुने जिल्ला खेलुकद विकास समिति अध्यक्ष केशवकुमार भट्टराईले बताए । निर्माणाधीन खेल मैदानमा खेलाडी र दर्शकका लागि आधुनिक शैलीका सेवासुविधा हुने अध्यक्ष भट्टराईले बताए ।

खेल मैदानको वरिपरि आकर्षक हरित पार्क निर्माण गर्ने काम पनि भइरहेको छ । खेल मैदान निर्माण पूरा भएपछि वर्षभरि नै खेलका विभिन्न प्रतियोगिताको आयोजना गर्न सजिलो हुने स्थानीय पाथीभरा सामुदायिक युवा क्लबले जनाएको छ । पार्कमा सकेसम्म गुराँसका धेरै प्रजातिका बिरुवा हुर्काइनेछ ।


त्यस्तै खेल मैदानभित्रै साना ठूला सवारी साधन पार्किङ स्थल, आरामदायी शौचालय, खेलाडीका लागि आराम स्थल, ५ हजार दर्शकले एकै साथ हेर्न मिल्ने प्याराफिट, प्राथमिक उपचार कक्ष, खेल मैदानभित्रै वाईफाईलगायतका सुविधा हुने नयाँ सहर आयोजनाले जनाएको छ । आगामी ५ वर्षभित्र अन्तर्राष्ट्रिय स्तरको कुनै पनि प्रतियोगिता सञ्चालन गर्न मिल्ने गरी खेल मैदान तयार पारिने निर्माण कम्पनीले जनाएको छ ।

प्रकाशित : असार १०, २०७६ १०:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?