कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

ढुंगा उखननले बस्ती जोखिममा

धनकुटा — पाख्रिबास नगरपालिकाले स्थानीयबासीसँग आवश्यक समन्वय नगरी वस्तिको बिचमा रहेको खानिबाट ढुंगा निकाल्न थालेको छ  । पाख्रिबास ५ घोर्लिखर्कस्थित शिकारीडाँडामा नगरपालिकाले ठेकेदारमार्फत दुई साता अघि ढुंगा उत्खनन् थालेपछि बस्ती जोखिममा परेको हो  ।

ढुंगा उखननले बस्ती जोखिममा

बस्तीसँगै जोडिएको करिब १० रोपनी क्षेत्रफलबाट ढुंगा निकाल्दा आसपासका झन्डै ८५ परिवार प्रभावित बनेका छन् । ढुंगाखानीको माथिल्लो भागका करिब ७२ र तल्लो भागका १३ घर उच्च जोखिममा रहेको स्थानीयले बताए ।


अधिकांश दलित समुदायको वस्ति रहेको उक्त क्षेत्रमा सञ्चालित ढुंगा उत्खनन् कार्य रोक्न दबाब दिए पनि ठेकेदारले अटेर गरेको स्थानीयको गुनासो छ । ढुंगा फुटाउने क्रममा स्थानीयले प्रयोग गर्ने बाटोसमेत भत्किएको छ ।


ढुंगाले लागेर गाईबस्तु घाइते भएको र लडेर एक किशोरीसमेत घाइते भएकी छन् । ढुंगा फुटाएको स्थान भएर विद्यालय जानेक्रममा स्थानीय १६ वर्षीय सिर्जना विश्वकर्मा लडेर हात भाँचिएको भीमबहादुर विश्वकर्माले बताए । नगरपालिका कार्यालयले सार्वजनिक जग्गामा ढुंगा उत्खनन गर्न स्वीकृति दिएको थियो । यसैबीच विराटनगर उच्च अदालत धनकुटा इजलासले दलित बस्तीलाई जोखिम हुने गरी ढुंगाखानी ठेक्का लगाउनुपरेको बारे पाख्रिबास नगरपालिकासँग लिखित जवाफ माग गरेको छ ।


विराटनगर उच्च अदालत धनकुटा इजलासका न्यायाधीश श्रीमणकुमार गौतम र वविता उप्रेतीको संयुक्त इजालासले स्थानीय बासिन्दासँग आवश्यक समन्वय नगरी विवादित अवस्था सिर्जना हुने गरी ठेक्कामार्फत ढुंगा फोर्ने कार्यको १५ दिनभित्र लिखित जवाफ अदालतमा पेस गर्न आदेश गरेको छ ।


यसैबीच जिल्ला समन्वय समितिका संयोजक टंकबहादुर चुवानको नेतृत्वमा उक्त क्षेत्रको स्थलगत अवलोकनमा एक टोली गएको छ । जोखिमपूर्ण रुपमा उत्खनन कार्य गरिएको चुवानले बताए । ‘ढुंगा निकालिसकेकाले अब यसको व्यवस्थापन गर्न जरुरी रहेको छ,’ उनले भने, ‘बस्तीको जोखिमबारे सबै पक्ष गम्भीर हुनुपर्ने देखिन्छ ।’


पाख्रिबास नगरपालिका ५ का वडाध्यक्ष गोपाल थापाले ढुंगा फुटाउन पहिले आवश्यक सबै प्रक्रिया पूरा गरेको दाबी गरे तर बस्ती जोखिम रहेको बारे उनले स्वीकार गरे । क्षति न्यूनीकरण गर्दै आवश्यक सहमतिबाट समस्या समाधान गर्नुपर्ने उनको तर्क छ ।

प्रकाशित : असार १०, २०७६ १०:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?