कृषि विस्तारका लागि ७४ करोड

विराटनगर — प्रदेश १ सरकारले आगामी बजेटमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनालाई ७४ करोड २१ लाख रुपैयाँ विनियोजन गरेको छ । बजेटले परियोजनाअर्न्तगत बाली विशेष सम्भाव्यताका आधारमा नयाँ पकेट तथा ब्लक कार्यक्रम सञ्चालन गरिने उल्लेख छ । 

प्रदेश सरकारले आगामी वर्षका लागि हालै सार्वजनिक गरेको बजेटमा समग्र कृषि, पशुपक्षी तथा सहकारी क्षेत्रका लागि ४ अर्ब बजेट विनियोजन गरेको छ । यसअघि संघीय सरकारले सञ्चालनमा ल्याएको परियोजनाअन्तर्गत मोरङको माछा र धान, झापाको धान, सुपारी र रबर, सुनसरीको माछा, धान र बेसार जोन कार्यक्रममा लक्षित किसानको पहुँच पुग्न सकेको छैन ।


परियोजना कार्यक्रममा मोटो बजेट विनियोजन गर्नु भनेको कार्यकर्तालाई दामासाहीले वितरण गरेर पोषण गर्नु हो । सरोकारवाल एक अधिकारीले भने यो शीर्षकमा विगतमा विनियोजन गरिएको रकम पनि सत्तासीन दलका कार्यकर्ता रिजाउने काम मात्र भएको छ । ती अधिकारीले भने बाँकी बजेट कार्यक्रम नै सञ्चालन हुन नसकेर फ्रिज भयो ।


यसबाहेक प्रदेश सरकारले प्रादेशिक योजनाको लक्ष्यअनुसार खाद्यान्न उत्पादन र उत्पादकत्व वृद्धिका कार्यक्रमका लागि १९ करोड ४७ लाख रुपैयाँ बजेट छुट्याएको छ । यो बजेटले प्रमुख खाद्यान्न बालीको क्षेत्र विस्तार, बीउ प्रतिस्थापन दर अभिवृद्धि, उन्नत प्रविधिको प्रयोगमार्फत प्रमुख खाद्यान्न बालीको उत्पादन तथा उत्पादनकत्व वृद्धिका लागि हिउँदे मकै, चैते धान, बगर खेती तथा खाद्यान्न बाली र बीउ उत्पादन गर्ने किसानलाई कार्यविधि बनाई उत्पादनका आधारमा अनुदान उपलब्ध गराइने बजेटमा उल्लेख छ ।


एक घर एक फलफूलका बिरुवा रोपण, सीमान्तकृत जग्गामा फलफूल खेती प्रवर्द्धन तथा स्वच्छ र गुणस्तरीय खाद्यवस्तु उत्पादन, हरित अभियान नमुना कृषि परियोजना, प्रांगारिक कृषि प्रवर्द्धन अभियान कार्यक्रम छन् ।

प्रकाशित : असार ११, २०७६ ०९:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?