कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

प्रदेशको शिक्षामा १ अर्ब २८ करोड

विराटनगर — प्रदेश १ सरकारले आगामी वर्षका लागि शिक्षा क्षेत्रमा १ अर्ब २८ करोड बजेट विनियोजन गरेको छ । मोरङको हात्तीमुढामा सञ्चालनमा रहेको मनमोहन स्मृति पोलिटेक्निकल क्याम्पसलाई प्राविधिक विश्वविद्यालयमा रूपान्तरण गरिने भएको छ । यसका लागि १६ करोड ५० लाख रुपैयाँ विनियोजन गरेको छ ।

प्रदेशमा रहेका उद्योग, कृषि, सडक, स्वास्थ्य क्षेत्रमा आवश्यक पर्ने जनशक्ति उत्पादन गरी युवायुवतीलाई रोजगारी उपलब्ध गराउन क्याम्पसलाई प्राविधिक विश्वविद्यालयमा परिणत गर्ने तयारी गरेको हो । हाल यो पोलिटेक्निकलले प्राविधिक विषयमा स्नातक तहसम्मको कक्षा सञ्चालन गर्दै आएका छन् । त्यस्तै उच्च पहाडी तथा हिमाली जिल्ला ताप्लेजुङ, पाँचथर, तेह्रथुम, संखुवासभा र सोलुखुम्बुमा मनमोहन प्राविधिक विश्वविद्यालयको आंगिक क्याम्पस सञ्चालन गर्न ५ करोड रुपैयाँ विनियोजन गरेको छ ।


त्यसैगरी प्रदेश सरकारले मोरङकै उर्लाबारीमा रहेको मदन भण्डारी प्रौद्योगिक महाविद्यालयको सेवा विस्तार गर्न र स्तरोन्नतिका लागि ५ करोड रुपैयाँ विनियोजन गरेको छ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम कार्यक्रमसहित प्राविधिक शिक्षालय इलामको रत्नकुमार बान्तवा, मोरङको शैलजा आचार्य प्राविधिक शिक्षालय, धनकुटाको उत्तरपानी प्राविधिक शिक्षालय, भोजपुरको सुम्निमा प्राविधिक शिक्षालय र खोटाङको मौरेगढी प्राविधिक शिक्षालयको स्तरोन्नति र थप सेवा विस्तारका लागि अनुदान उपलब्ध गराउन ३८ करोड ६९ लाख रुपैया विनियोजन गरेको छ ।


प्रदेश सरकारले विद्यालयलाई सूचना, सञ्चार र प्रविधियुक्त बनाई शैक्षिक गुणस्तर सुधारमा जोड दिन र विद्यालय गुणस्तर सुधार अभियान सञ्चालन गर्न १७ करोड र विद्यालयमा थप नर्सिङ सेवा विस्तारका लागि २ करोड छुट्याएको छ । प्रदेशका सामुदायिक क्याम्पसको स्तरोन्नतिका लागि साढे ४ करोड विनियोजन गरेको छ ।


प्रदेश सरकारले धनकुटामा सञ्चालित निजामती कर्मचारी आवासीय विद्यालयलाई निरन्तरता दिँदै सम्भाव्यताका आधारमा प्रदेशमा सरकारी नमुना आवासीय विद्यालय सञ्चालनका लागि पूर्वाधार निर्माणका लागि करोड रुपैयाँ छुट्याइएको छ । उच्च शिक्षामा महिलाको पहुँच वृद्धि गर्न सरकारले महिला तथा विपन्न विद्यार्थी छात्रवृत्ति कार्यक्रम सञ्चालनका लागि ५० लाख रुपैयाँ छुट्याएको छ ।

प्रकाशित : असार ११, २०७६ १०:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?