१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

अतिथिलाई पानीअमला र चियाको माला

ग्रामीण पर्यटन प्रवर्धन गर्ने भनिए पनि स्थानीय उत्पादनलाई महत्त्व दिन सकिएन
विप्लव भट्टराई

इलाम — दुई साताअघि भारतको कोलकत्तासहित पश्मिम बंगाल र नेपालका पर्यटन कर्मी इलामका विभिन्न ठाउँको प्रचार र प्रवर्धनका लागि मोटरसाइकल यात्रामा निस्किए ।

अतिथिलाई पानीअमला र चियाको माला

इलाम सदरमुकामबाट सन्दकपुर गाउँपालिकाका पर्यटकीय क्षेत्रको प्रचारमा निस्किएको टोलीलाई गाउँपालिकाकातर्फबाट जमुनाको ढापपोखरीमा स्वागत गरियो । स्वागतका लागि लाइनै बसेकाहरूको हातमा फूलसहित पानीअमला र चियाको मुनाको माला थियो ।


उनीहरूले सबै मोटर साइकल यात्रीसहित अभियानका क्रममा पुगेकाहरूको गलामा त्यही माला पहिराइदिए । अतिथिलाई खादा, दोसल्ला अथवा फूलको मालाले स्वागत र सम्मान जनाउने पुरानै चलनभन्दा फरक नौलो शैली यहाँ अपनाइएको हो । स्थानीय उत्पादनको प्रचारसहित खर्च जोगाउनकै लागि स्थानीयले यो शैलीको अभ्यास गर्दै आएका छन् ।


पानी अमला र चियाको प्रयोग अतिथिलाई पनि निक्कै नौलो लागेको थियो । लामो यात्राका क्रममा थाकेका कतिपय यात्रीले मालाको विषयमा जिज्ञासा राख्न सुरु गरिहाले । जंगल र सेपिलो क्षेत्रमा भुइँमा फल्ने एक प्रकारको खाद्यवस्तु भएको जानकारी पाएपछि कतिपयले गलाबाटै तानेर कुटुकुटु खानसमेत थालेका थिए ।


पानीको मात्रा प्रशस्तै हुने भएकाले गर्मी भएका बेला र थकान महसुस हुँदा परम्परादेखि नै पानी अमला खाने चलन गाउँमा छ । बंगालीसहितका पर्यटकले स्वागतको शैलीसहित जिब्रो भिजाउन पनि काम दिएपछि खुलेरै प्रशंसा गरे ।


‘यहाँका सुन्दर पर्यटकीय क्षेत्रमा बंगाली र पश्चिमा पर्यटक भित्र्याउने सोचले आयोजित कार्यक्रममा स्थानीय उत्पादनको ठूलो महत्त्व हुन्छ,’ टोलीका सदस्य ओशन लेप्चाले भने, ‘बोकेर लैजानु पर्ने झन्झट पनि नहुने मुख मिठ्याउन पनि पाइने भएकाले यस्तो प्रयोग उदाहरणीय छ ।’


सन्दकपुर गाउँपालिकाले सुरुवातदेखि नै औपचारिकताका नाममा हुने बोझिलो खर्च घटाउन यस्तो प्रयास थालिसकेको छ । गाउँपालिकामा हुने हरेक कार्यक्रममा पानी अमला ल्याएर माला उन्ने अभ्यास गरिएको हो । ‘खर्च पनि घट्ने र माला उन्ने, अमला खोज्नेलगायतले सानोतिनो रोजगारी पनि पाउने भएकाले यस क्षेत्रका सबैजसो गाउँमा प्रयोग बढाउन प्रेरित गर्दै आएका छौं,’ गाउँपालिकाका अध्यक्ष उदय राईले भने ।


जमुनाका युवाले रेडिमेड व्याजको सट्टा प्रयोग गर्न मिल्ने गरी खोसेलाको ब्याज बनाउने तरिका पनि निकालेका छन् । केही समयअघि गाउँमा आयोजित होमस्टे व्यवस्थापन तालिममा सहभागीले विभिन्न साइजमा मकैको खोसेलाको प्रयोगबाट अतिथि व्याज बनाएका थिए ।


‘हामीले ग्रामीण पर्यटन प्रवर्धन गर्ने भने पनि स्थानीय उत्पादनलाई महत्त्व नै दिन सकेका छैनौं,’ मेची पहाडी क्षेत्र पर्यटन प्रवर्धन विकास समितिका कार्यकारी निर्देशक केशव धौरालीले भने, ‘जुन स्थानमा जे पाइन्छ त्यसैलाई स्वागत सम्मानका लागि प्रयोग गर्ने बानी बसाल्नु पर्छ ।’

प्रकाशित : असार १२, २०७६ १०:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?