१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

ब्ल्याकमेलिङ गर्दै दलित किशोरीको बलात्कार

वडा अध्यक्षले नै भगाए आरोपी : पीडित पक्ष
पर्वत पोर्तेल

धुलाबारी (झापा) — झापा मेचीनगर–९ कि एक किशोरीले आफूलाई घर मालिकले ‘ब्ल्याकमेलिङ’ गर्दै पटक–पटक बलात्कार गरेको आरोप लगाएकी छन् ।  मधेशी दलित (डोम) समुदायकी १७ वर्षीया किशोरीले विगत एक वर्षदेखि घर मालिक करिव ६० वर्षका विष्णु खड्काले बलात्कार गरेको र कसैलाई सुनाए ज्यान मार्ने धम्की दिएको बताइन् ।

ब्ल्याकमेलिङ गर्दै दलित किशोरीको बलात्कार

किशोरीले गत असार ३ गते इलाका प्रहरी कार्यालय धुलाबारीमा खड्काविरुद्ध किटानी जाहेरी दिएकी छन् ।


किशोरीकी आमाले छोरीलाई पटकपटक बलात्कार गर्ने गरेको रहस्य गत असार २ गते मात्रै थाहा पाएको बताइन् । धुलावारीको आम्दा अस्पताल नजिकै खड्काले किशोरीलाई बलात्कार गर्दै गर्दा किशोरी चिच्याएपछि स्थानीयले थाहा पाएका थिए । स्थानीय मेनुका दाहालले किशोरीलाई बेहोस अवस्थामा फेला पारेकी थिइन् ।


उनले तत्काल प्रहरी र जनप्रतिनिधिहरु वडा नम्बर–१० का अध्यक्ष सुदय पनेरु र वडा नम्बर–९ का अध्यक्ष गोपाल खड्कालाई खबर गरेकी थिइन् । तर, वडाध्यक्ष खड्काले न्यायका लागि पहल गरिदिनुको साटो साटो आफ्नो नातापर्ने आरोपी खड्कालाई भगाएको पीडित परिवारको दाबी छ । यद्यपी वडाध्यक्ष खड्काले पीडकसँग आफ्नो कुनै साइनो सम्बन्ध नभएको बताएका छन् ।


उनले पीडित पक्षले वडा कार्यालयमा कुनै उजुरवाजुर नगरेको बताउँदै क–कसलाई समस्या परेको छ भन्ने खोज्दै जान आफ्नो पदिय हैसियतले नदिने बताए । ‘घटनावारे सुनेको मात्रै हो । तर पीडित र पीडक दुवैपक्ष मलाई भेट्न आएका छैनन्,’ उनले भने ।


पीडितकी आमाका अनुसार घटना भएको भोलिपल्ट बिहान वडाध्यक्ष खड्का विष्णुको घरमा गएका थिए । त्यही दिन उनलाई भगाइएको थियो । किशोरीका अनुसार पीडक खड्काले घटनाबारे हल्ला नगर्न परिवारलाई बारम्बार धम्की दिइरहेका छन् । उनले भनिन्, ‘घटना सार्वजनिक गरे घरबाट निकालिदिने, परिवारै सखाप पारिदिने भन्दै बारम्बार धम्की आइरहेको छ ।’


दलित किशोरीमाथिको बलात्कार घटना सतहमा आएपछि स्थानीय अगुवाहरु नै पैसा दिएर मिलाउने पक्षमा अग्रसर देखिएका छन् । तर, पीडितकी आमाले छोरीमाथिको जघन्य अपराधविरुद्ध आफू अदालतसम्म पुग्ने बताइन् । ‘पैसा लिएर मिल्नु भन्ने धेरै आइसके । तर म कुनै हालतमा मिल्ने पक्षमा छैन । मेरी किशोरी छोरीले न्याय पाउनु पर्छ,’ उनले भनिन् ।


पीडक खड्का हाल फरार छ । उजुरी दिएको दुई साता वित्न लाग्दा पनि उनलाई प्रहरीले पक्राउ गर्न सकेको छ्रैन । स्थानीय अगुवा महिला सविता भेट्वालले उजुरी दिएको लामो समय वित्दा पनि पीडक पक्राउ नपर्नु संकास्पद रहेको बताइन् । उनले संका व्यक्त गरिन्, ‘पीडक भगाउनमा कतै प्रहरीकै संलग्नता त छैन ?’


इलाका प्रहरी कार्यालय धुलावारीका इन्स्पेक्टर कोमल ठाकुरले किटान गरिएका खड्काको खोजी तीव्र पारिएको जनाए । उनले केन्द्रसंग खड्काको कल डिटियल मगाएको र कल डिटियल आउने वित्तिकै अनुसन्धान तीव्र पारिने बताए । उनले पीडित किशोरीको पनि मेडिकल रिपोर्टहरु मगाएर अनुसन्धान भइरहेको जनाए ।


प्रकाशित : असार १८, २०७६ १५:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?