कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

धरानमा साहसिक पर्यटन बढ्दो

सुम्निमा चाम्लिङ

(धरान) — पछिल्लो समय मुलुकमा बढेको साहसिक पर्यटन विदेशी पर्यटकलाई आकर्षण गर्ने माध्यम बनेको छ । पूर्वी पहाडी जिल्लाहरूको प्रवेशद्वार तथा पहाड र तराईको संगमस्थल धरानले पनि साहसिक पर्यटकीय सम्भावना बढाएको छ ।

धरानमा साहसिक पर्यटन बढ्दो


धरानमा पछिल्लो समय साहसिक पर्यटनको लोकप्रियताको दृष्टिकोणले विश्वप्रसिद्ध र्‍याफटङ, प्याराग्लाइडिङ र साइक्लिङ खेलहरूको व्यावसायिक रूपमा सञ्चालन भएको लामो समय भइसकेको छ । साहसिक खेलहरूको व्यावसायिक सञ्चालन भएसँगै धरानमा आन्तरिक पर्यटनको आकर्षण ह्वात्तै बढेको छ ।


धरान, भेडेटार घुम्न आउने पर्यटक यस्ता साहसिक खेलमा रमाउन थालेका छन् । प्याराग्लाइडिङ, र्‍याफ्टिङ र साइक्लिङजस्ता साहसिक खेलमा रमाउनका लागि धरानबाहिर जानुपर्ने बाध्यता थियो । अहिले भने धरानमै साहसिक खेलहरूको मनोरञ्जन लिन सकिने व्यावसायिक कम्पनी तथा संस्था सञ्चालित छन् ।


‘साहसिक खेललाई थप प्रचारप्रसार गर्नसके धरान विदेशी पर्यटकको गन्तव्य बन्ने अवस्था छ,’ बुढासुब्बा प्याराग्लाइडिङ धरानका सञ्चालक लेखमणि जिमीले भने, ‘पर्याप्त सम्भावना भए पनि धरानले सोचेजस्तो फडो मार्न भने सकेको छैन ।’ भौगोलिक बनावटले पनि धरानलाई विज्ञहरूले साहसिक खेलका लागि उपयुक्त मानेका छन् । धरान उपमहानगरपालिकाको पर्यटन विकासका लागि स्वर्गीय मेयर तारा सुब्बाले आफ्नै संयोजकत्वमा धरान पर्यटन प्रवर्द्धन समिति गठन गरेका थिए । कार्यवाहक मेयर मञ्जु भण्डारीका अनुसार साहसिक पर्यटनलाई आगामी आवको नीति तथा कार्यक्रममा राखेर काम अघि बढाइएको छ । साहसिक खेललाई प्रवर्द्धन गर्नका निमित्त राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलको आयोजना गरिने भण्डारीले बताइन् । पर्यटन समितिका सहसंयोजक किशोर थुलुङका अनुसार साहसिक पर्यटनका निमित्त धरान– २० मा रक क्लाइबिङ जाने बाटो पदमार्गको काम पूरा भएको छ । साहसिक खेलसँगै पर्यटन क्षेत्रको विकासका लागि उपमहानगर लागिपरेको उनको भनाइ छ ।


पूर्वाधारको विकासलाई प्राथमिकता दिएर उपमहानगरपालिका अघि बढ्न सके धरानमा पर्यटकको आकर्षण बढाउन सकिन्छ । २०६७ मा पहिलो पटक परीक्षण उडान सफल भएसँगै धरानमा पछिल्लो समय प्याराग्लाइडिङको व्यावसायिक उडान सुरु गरिएको हो ।


व्यावसायिक रूपमा प्याराग्लाइडिङको उडान सञ्चालन हुँदै आए पनि मागअनुसार उडानका लागि पाइलट अभावको सामना कम्पनीहरूले गरिरहेका छन् । स्थानीयलाई पाइलट ट्रेनिङ दिन सके कम लागतमा प्याराग्लाइडिङ गर्न सकिने स्काई एडभेन्चरका सञ्चालक रोशन अधिकारीले बताए । प्याराग्लाइडिङ खेलको स्थायित्व र यसको व्यावसायिक संरक्षणका लागि स्थानीय सरकारबाट नीतिगत रूपमा सहयोग हुनुपर्ने उनको भनाइ छ । धरानमा प्याराग्लाइडिङ १४ सयदेखि १५ सय मिटर माथि उडान हुने गरेको छ । प्याराग्लाइडिङ गर्दै करिब आधा घण्टामा धरानका सुन्दर दृश्य, तराईका फाँट र उत्तरी क्षेत्रका हिमशृंखला देख्न सकिन्छ । प्याराग्लाइडिङका लागि स्काई र बुढासुब्बा एडभेन्चरले सेवा प्रदान गर्दै आएका छन् ।


प्याराग्लाइडिङका लागि असोज, कात्तिक, मंसिर, वैशाख र जेठ महिना उपयुक्त समय हो । स्काई एडभेन्चरले तीन वर्षदेखि धरान– ४ को भेडेटार नजिक देवीगाउँबाट व्यावसायिक प्याराग्लाइडिङ उडान सञ्चालन गर्दै आएको छ । यसैगरी, बुढासुब्बा प्याराग्लाइडिङले धरान–२० विष्णुपादुकाको चिन्डेडाँडाबाट व्यावसायिक उडान गर्दै आएको छ ।


पछिल्लो समय माउन्टेन साइक्लिङको विश्वमा चर्चित छ । नेपालमा समेत पहिलेको तुलनामा युवा पुस्तामा साइकल चढ्नेहरूको मोह बढदै गएको छ । साइकलको क्रेज बढेसँगै व्यवसायीमा आशा पलाएको टक्स माउन्टेन बाइकका सञ्चालक कृष्ण केसीले बताए । उनले भने, ‘अब भने व्यावसायिक रूपमा अघि बढ्न सकिने सम्भावना देखिएको छ ।’ स्वतन्त्र भएर जुनसुकै ठाउँमा पुग्न सकिने भएकाले प्रत्येक दिन धरान आसपास र धरान हुँदै अन्य ठाउँमा साइकल यात्रीहरू पुग्ने गरेका छन् ।


आन्तरिक मात्र नभएर बाहृय पर्यटकसमेत साइकलयात्राका लागि आउने गरेको केसी बताउँछन् । ‘बिहान वा साँझ तीनचार घण्टा साइक्लिङ गरेर बुढासुब्बा, पिण्डेश्वर, दन्तकाली र अर्गानिक गाउँ वसन्तटार फन्को लाउन सकिन्छ,’ उनले भने, ‘यसले धरान आउने पर्यटकलाई सहर घुम्ने नयाँ शैली र साधनको काम गर्न सकिन्छ ।’ साइक्लिङका लागि भेडेटार, चतरा, कोसीटप्पु, बराहक्षेत्र, तमोर, राजारानी, हिले, धनकुटा, ओख्रे, बेतना ताल, ६४ बिघा ताल उपयुक्त गन्तव्यमा पर्छन् ।


जंगल सफारीको रुटमा चर्चित ४० देखि ४५ किमिको यो रुटमा सातामा तीनचार समूह साइक्लिङ गरिरहेका हुन्छन् । हरियाली वातावरण, तराई र पहाडी भूभाग तथा विविधतायुक्त संस्कृतिका कारण धरानलाई केन्द्र बनाएर साइक्लिङ गर्नुलाई आकर्षक मानिन्छ । साहसिक खेलमा रुचि राख्ने विदेशी पर्यटकका लागि नेपालमा पर्वतारोहणपछिको मुख्य रोजाइ र्‍याफटङ रहने गरेको छ ।

विदेशी मुद्रा आर्जन गर्ने पर्यटनको महत्त्वपूर्ण माध्यम र्‍याफटङप्रति पछिल्लो समय नेपालीमा पनि आकर्षण बढेको पाइन्छ । विदेशीका लागि निकै खचिलो मानिएता पनि धरानमा खुलेको र्‍याफटङ कम्पनीले सञ्चालन गर्दै आएको जलयात्रा मध्यम वर्गका आन्तरिक पर्यटले सहजै व्यहोर्न सक्ने सामान्य शुल्क छ ।


त्यसैले पनि र्‍याफटङ गर्नेको संख्या बढदो छ । साहसिक जलयात्रा गर्ने भन्नेबित्तिकै जोकसैलाई रोमाञ्चक अनुभूति हुन्छ । जलयात्रामा रमाउनका लागि धरानका स्थानीय मात्र पूर्वका विभिन्न जिल्लाबाट समेत आउने गर्दछन् । धरानलाई केन्द्रबिन्दु बनाएर तमोर मूलघाट हुँदै चतरासम्म ६ घण्टाको जलयात्रा गर्न सकिन्छ । तमोरदेखि चतरासम्मको जलयात्राका लागि पर्यटकले २ हजार ५ सय मात्र बुझाए पुग्छ ।

प्रकाशित : असार १९, २०७६ १२:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?