थेरापीमा आकर्षण बढ्यो

विप्लव भट्टराई

(इलाम) — सुगर, प्रेसरसहित विभिन्न रोगले गाँजेपछि इलाम नगरापालिका ७ तिल्केनीका देवानाथ दुलालले राजधानीलगायत विभिन्न हस्पिटल चाहारे । वर्षौंको उपचार दौडाहाले पनि खास सुधार नभएपछि उनी निराश बनेका थिए । सदरमुकाममा खुलेको निःशुल्क थेरापी जान थालेको केही दिनमा नै उनले बीसको उन्नाइस महसुस गरे । नियमित थेरापी सुविधा लिएपछि क्रमशः सुधार हुँदै गएकाले उनमा नयाँ उत्साह पलाएको छ । 

साङरुम्बाका भीमबहादुर राई वैदेशिक रोजगारीका क्रममा मलेसियामा थिए । प्यारालाइसिसले सताएपछि उनी गाउँ फर्किए । परिवारले बोकेरै उनलाई थेरापी सेन्टरमा पुर्‍याए । १० दिन नबित्दै हिंड्न थालेका उनको स्वास्थ्य पुरानै अवस्थामा फर्किएको छ ।


विभिन्न नाममा सहरी क्षेत्रमा थेरापी धाउनेको संख्या बढदो छ । यही क्रममा सदरमुकाममा गएको माघदेखि भिजन नेपालले पनि सेवा सुरु गरेको हो । पूर्णरूपमा निःशुल्क भनिएको भिजनमा पालो पाउन मुस्किल छ । ‘अहिलेसम्म ११ सयभन्दा धेरैले सेवा लिइसकेका छन्,’ सञ्चालक सुजता नेम्वाङले भनिन्, ‘धेरैले यहाँ आएपछि आराम हुँदै गएको महसुस गरेकाले भिड बढदै गएको हो ।’


अत्याधुनिक कोरियन प्रविधिको मेसिन जडान भएको बेडमा सुतेर गरिने यो उपचार पद्धतिले सबै उमरेका महिला र पुरुषलाई सेवा दिइरहेको छ । त्यसमध्ये अधबैंसेभन्दा माथिका महिलाको संख्या धेरै छ । अपरेसन, सरुवा, कडा दीर्घरोग बाहेकका हरेक रोगका लागि यो प्रविधि उपयुक्त भएको उनको दाबी छ । विश्वकै नम्बर १ प्रविधि भएको दाबी गर्दै उनले मेरुदण्डमार्फत उपचार गरिने यो विधिको लोकप्रियता बढेसँगै नेपालमा मात्र २० शाखा पुगेको बताइन् ।


‘पैसा नभएर उपचार नपाएका धेरै छन् भने सम्पत्ति भएर पनि उपचार हुन नसक्ने पनि उत्तिकै भेटिन्छन्,’ स्टाफ नर्सको अध्ययन सकेर विभिन्न हस्पिटलमा रोजगारीसमेत गरेकी नेम्वाङले भनिन्, ‘यो पीडा आफैंले भोगेपछि सेवाभावले काम थालेकी हुँ ।’


उपचारकै लागि खर्च गर्न सक्ने हैसियत हुँदाहुँदै हजुरआमालाई गुमाएपछि थेरापीमार्फत धेरैलाई स्वास्थ्य सेवा दिन सकिन्छ भन्ने निष्कर्षमा पुगेर काम थालेको उनको भनाई छ । ‘म आफैंलाई धेरै रकम चाहिएको पनि छैन,’ उनले थपिन्, ‘सेवा सञ्चालन भएको घर भाडा र स्टाफलाई दिन पुग्यो भने हुन्छ ।’


आर्थिक अवस्था कम्जोर भएकादेखि सबैलाई निःशुल्क सेवा दिइरहेको यो केन्द्रलाई टिकाउन स्थानीय सरकारदेखि सरोकारवालाले ध्यान पुर्‍याउनुपर्ने नियमति सेवा लिइरहेका पाका तोयनाथ भट्टराईले बताए । प्यारालाइसिस, नसा च्यापिएको, पायल्स, स्त्रिरोग, सुगर, प्रेशर, मृगौलासम्बन्धी समस्यालगायत धेरै रोगमा यो प्रविधि सफल ठहरिएको केन्द्रको दाबी छ ।

प्रकाशित : असार २१, २०७६ १०:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?