कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जोखिम मोलेर यात्रा

खोलाको बीचमा गाडी पुग्दा बाढी आएर आधा भाग पुर्‍यो । बल्लतल्ल यात्रु झ्यालबाट निस्किए । एकैछिन ढिला भएको थियो भने ज्यान जोगिने थिएन ।
आनन्द गौतम

ताप्लेजुङ — सदरमुकाम फुङलिङबाट दुई जना यात्रु लिएर फक्ताङलुङ गाउँपालिकाको तापेथोक जाँदै गरेको पिकअप गाडी खहरेखोलामा सम्भावित जोखिमबाट बचेको छ । तावाखोलाको बीचैमा पुगेपछि खोलामा आएको बाढीले हानेपछि फसेको छ । कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्ले रिजर्भ गरेको गाडी तावाखोलाको बीचमा पुगेपछि स्टार्ट बन्द भएको थियो । परिषद् अध्यक्ष खगेन्द्र फेम्बुका अनुसार खोलामा पस्नुअघि चालकलगायतले पानीको सतह हेरेका थिए ।

जोखिम मोलेर यात्रा

सहजै तर्न सक्ने ठहर भएपछि यात्रुसहित चालकले गाडी खोलामा तर्न थाले । तर, बीचमा पुग्दा माथिबाट हुइँकिएर आएको भेलले गाडीको आधा भाग पुरेको र इन्जिनमा पानी पसेपछि बन्द भएको थियो । गाडीभित्रका दुईवटा सिट र गाडीको भित्र राखेको चक्कापनि बगाएको फेम्बुले बताए ।


आपत्मा परेपछि झ्यालबाट गाडीको छतमा चढेर बाहिर हामफालेर भागेको परिषद्का लेखापाल मनप्रसाद लिम्बूले बताए । लिम्बूले भने, ‘पहिला म निस्किएँ, त्यसपछि अध्यक्षज्यू निस्कनुभयो र चालकलाई बाहिरबाट बोलाएर निकाल्यौं । बाहिर निस्किएपछि नजिकै रहेको फलामको रडले भित्ताको रूखमा बाँधेर गाडीलाई पल्टाउन र बगाउनबाट बचाएका थिए । फक्ताङलुङवाट अर्को गाडी आएपछि त्यसैको मद्दतमा गाडि तानेर खोलाबाट निकालिएको थियो । निस्कन ढिला गरेको भए आफूहरूलाई पनि जोगिन कठिन रहेको लिम्बूले बताए ।


पानीले हान्न थालेपछि ढोका खोल्न सकिंदैन भने झ्याल पनि खोल्न कठिन हुन्छ । तर झ्याल भने खुलेको लिम्बूले बताए । पाथीभरा आसपासबाट बगेर आउने उक्त खोला औलमा पानी नपरीकनै बढेको थियो । ‘लेकमा पानी परेको हामिलाई पत्तै भएन, हामीले यात्रा गरेको बाटोमा परेकै थिएन,’ फेम्बुले थपे, ‘एक्कासि आउने भेलले ज्यानै लिंदो रहेछ ।’


पहाडका खोलाहरू अधिकांश ठाडो बगेका हुन्छन् । धेरै खोलाहरू पानी पर्दा ह्वात्तै आउने र नपर्दा सप्प सुक्ने हुन्छन् । यस्तै खोलाहरूलाई क्रस गरेर सडक बनाइएको हुन्छ । यो खोलाले दुई वर्षअघि आफ्नो एक जना विद्यार्थी पनि बगाएको विजय आधारभूत विद्यालयका प्रधानाध्यापक धर्मप्रसाद पौड्यालले बताए । कक्षा ७ मा पड्ने विद्यार्थीलाइ यसरी नै खोला तर्दा बगाएको थियो । पाँचमध्ये चार जना भने भागेर बाँचेका थिए ।


हिमाली तथा पहाडी जिल्लामा यसरी एक्कासि उर्लेर आउने खहरे खोलाको जोखिम जहिल्यै हुने रेडक्रस सभापति इन्द्र गुरुङ बताउँछन् । तल्लो क्षेत्रमा नपर्दा पनि लेकाली क्षेत्रमा पर्ने पानीले खहरे खोला बढ्ने र त्यसको जोखिम तल्लो क्षेत्रसम्म बढ्ने उनले बताए ।

प्रकाशित : असार २५, २०७६ १०:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?