गाउँमा गर्जो टार्दै बैंक

चन्द्र कार्की

तेह्रथुम — केही वर्षअघिसम्म सर्वसाधारणहरू घर व्यवहार चलाउन थोरै रकम आवश्यक परे पनि साहु महाजनकहाँ ऋण लिन पुग्ने गर्थे । उनीहरू सयकडा ५ रुपैयाँसम्म बुझाएर खाँचो टार्थे । त्यसबेला सदरमुकाममा रहेका नेपाल बैंक र कृषि विकाससँग सबै जिल्लावासीलाई कर्जा दिन सक्ने अवस्था थिएन ।

तर अहिले अवस्था फेरिएको छ । सदरमुकाम म्याङलुङसहित वसन्तपुर, शुक्रबारे, मोराहाङ, पोक्लाबाङ र संक्रान्ती बजारमा एकपछि अर्को गर्दै निजी स्तरका बैंक तथा वित्तीय संस्था खुलेपछि जिल्लावासीलाई महँगो व्याज तिर्नु पर्ने बाध्यता हटेको छ ।


बैंक तथा वित्तीय संस्थाले व्यक्ति, फार्म, उद्योगलगायतकाको पुँजीको आवश्यकतालाई टारिरहेको उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष सभा पौडेलले बताए । म्याङलुङ बजारको मुख्य चोकमा निजी क्षेत्रका विभिन्न बैंक तथा वित्तीय संस्थाले आफ्नो कार्यालय सञ्चालनमा ल्याएका छन् । गाउँदेखि सदरमुकामसम्म नै आर्थिक कारोबार गर्ने सहकारी पनि प्रशस्तै खुलेका छन् । बैंक तथा वित्तीय संस्था खुल्दै जाँदा जिल्लाको आर्थिक कारोबारमा समेत वृद्धि भएको छ । जिल्लाका स्थानीय तहमा बैंक तथा वित्तीय संस्था खुल्दै जाँदा दूरदराजका सर्वसाधारणको पनि वित्तीय क्षेत्रमा पहुँच बढेको म्याङलुङ बजारका व्यापारी तुलसी ढकालले बताए । बैंक तथा वित्तीय संस्थाको संख्या बढिरहेकाले सेवा लिन चाहनेले छानीछानी कारोबार गरिरहेको व्यापारी ढकालको भनाइ छ ।


बैंक तथा वित्तीय संस्था थपिएपछि धेरै जिल्लावासीले घरजग्गा कारोबार, व्यापार व्यवसाय, उद्योगधन्दा सञ्चालन, कुखुरा, मौरी तथा पशुपालन, कृषि उद्योगलगायतका क्षेत्रमा लगानी थपेर व्यवसाय बढाइरहेको घरेलु तथा साना उद्योग विकास समितिका वरिष्ठ उद्योग अधिकृत नवीनकुमार पौडेलले बताए । पहाडी जिल्ला तेह्रथुममा पछिल्लो समय आर्थिक गतिविधि पनि बढ्दो छ । धेरै जिल्लावासी व्यावसायिकतातर्फ उन्मुख भएको, कृषि र पशुपालन व्यवसाय बढेको, विदेशबाट भित्रिने रेमिट्यान्सको दर प्रत्येक वर्ष बढिरहेको, पर्यटक आगमन बढिरहेको लगायतका कारणले आर्थिक गतिविधि बढेकाले बैंक तथा वित्तीय संस्थाहरूले यहाँ आएर आफ्ना शाखाहरू खोल्ने क्रम बढाएका छन् ।


यहाँका धेरैजसो बैंक तथा वित्तीय संस्थाले आफ्नो लगानी घरजग्गा, निर्माण व्यवसाय, कृषि, व्यापार व्यवसाय, उद्योगधन्दालगायतका क्षेत्रमा केन्द्रित गरेका छन् । द्वन्द्वको समयमा जिल्लाका ग्रामीण र बजार क्षेत्रबाट विस्थापित भएका सरकारी बैंकहरू पनि पुनःस्थापना हुने क्रममा छन् ।


निजी क्षेत्रका बैंक तथा वित्तीय संस्थाले ग्रामीण क्षेत्रमा पनि लगानी बढाएका छन् । निजी क्षेत्रका वित्तीय संस्थाको व्यापार राम्ररी फस्टाएको छ भने कर्जा लिन चाहनेले पनि छिटो र छरितो ढंगबाट सेवा पाएका छन् । यस्तै महिला तथा बालबालिका कार्यालयले गाउँ गाउँमा सञ्चालन गरेका महिला विकास बचत समूहले पनि वित्तीय सेवा पुर्‍याइरहेका छन् ।

प्रकाशित : असार २५, २०७६ १०:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?