१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

धरानमा डिजेलबाट चल्ने शवदाह गृह तयार

प्रदीप मेन्याङ्बो

(सुनसरी) — व्यवस्थित रुपमा शव दाहसंस्कार स्थलको अभाव रहेको धरानमा झिगु समाजले पहिलोपटक डिजेलबाट संचालन हुने आधुनिक शवदाहस्थल निर्माण गरेको छ ।

धरानमा डिजेलबाट चल्ने शवदाह गृह तयार

साउन पहिलो सातादेखि प्रयोगमा ल्याउन लागिएको डिजेल प्लाण्टको शव दाहसंस्कार स्थल धरान ३ सेउती किनारस्थित खत्रीधारामा निर्माण गरिएको छ ।


‘विद्युतीय शव दाहसंस्कार गृह निकै महंगो र खर्चिलो प्रविधि भएकाले विकल्पमा डिजेलबाट संचालन हुने शव दाहसंस्कार स्थल निर्माण गरिएको हो,’ निर्माण समितिका अध्यक्ष मोहनकाजी शाक्यले भने, ‘०६६ सालमा धरान उपमहानगरपालिकाले सेउती किनारको खत्रीधारामा १० कट्टा जमिन उपलव्ध गराएपछि झिगु समाजले व्यवस्थित दाहसंस्कार स्थल निर्माण सुरु गरेको थियो ।’


सो शवदाह गृहमा बढीमा आधा घण्टामै शव खरानी बन्ने गरी डिजाइन गरिएको छ । त्यसको कुल लागत १० लाख रुपैयाँमात्र भएपनि अन्य सबै भौतिक पूर्वाधार तयार गर्न १ करोड ६० लाख रुपैयाँ लागेको शाक्यले बताए ।


शव दाहसंस्कार स्थल निर्माणकालागि जनसहभागिताबाट मात्र करिव ६० लाख रुपैयाँ संकलन भएको थियो । धरान ८ स्थित धरान औद्योगिक क्षेत्रको सूर्य मेटल प्रालिका संचालक इन्जिनियर उत्तम ताम्राकार र रोहित ताम्राकारले डिजाइन गरेर करिव १० लाख रुपैयाँ बराबरको डिजल प्लाण्ट सहयोग गरेका छन् ।

विद्युतीय शवदाह गृहभन्दा केही फरक रहेको डिजेल प्लाण्ट तयार गर्न उनीहरुले तामा पित्तल पगाल्ने डिजेल प्लाण्टको भट्टीलाई नै केही परिवर्तन गरेर शवदाह गृहमा रुपान्तरित गरेका हुन् । उनीहरुले डिजाइन गरेको शवदाह गृहमा फायर प्रुफ इँटा र माटो प्रयोग गरिएको छ ।



आधुनिक शवदाह संस्कार स्थल निर्माण गर्न सडक विभागले काठेपुलदेखि जाने ५ सय ५० मिटर सडक ग्राभल गरिदिएको छ । धरान उपमहानगरपालिकाले १५ लाख रुपैयाँ, संघीय सरकारले १० लाख रुपैयाँको क्रियापुत्रीको कपडा चेन्जिङ रुम निर्माण गरिदिएको छ । दाउरा र टायर प्रयोग गर्दा वातावारण समेत प्रदुषित हुने भएकाले डिजेल प्लाण्ट उपयुक्त हुने निष्कर्ष निकालिएको उनले बताए । डिजेल प्लाण्टमा दाहसंस्कार गर्दा बढीमा पाँच हजार रुपैयाँमात्र शुल्क राखिएको छ ।


प्रकाशित : असार २५, २०७६ १६:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?