बालबालिकाको आवासीय खर्च निकासा भएन

आनन्द गौतम

(ताप्लेजुङ) — घुन्सा आधारभूत विद्यालयले आवासीय सुविधामा ४० जना विद्यार्थीलाई पठनपाठनको व्यवस्था गरेको छ । हिमाली क्षेत्रका विद्यार्थीलाई आवासीय सुविधा उपलब्ध गराएवापत विद्यालयले चालु वर्ष ८ लाख रुपैयाँ पाउनु पर्ने हो । तर, आर्थिक वर्ष सकिनै लाग्दा समेत विद्यालयले रकम प्राप्त गरेको छैन ।

बालबालिकाको आवासीय खर्च निकासा भएन

प्रधानाध्यापक लीलाचक्र गुरुङ आफ्ना बालबालिकाले पाउने सुविधाको माग गर्दै सरोकारवाला निकायमा धाइरहेका छन । विद्यालयको खातामा जम्मा हुनपर्ने रकमा नआएपछि उनले शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा असार २२ गते निकासाका लागि लिखित निवेदन पठाएका छन । असार २५ गते साँझसम्म पनि पैसा आएको छैन ।


यो विद्यालयमा २० जना विद्यार्थीलाई जनही मासिक ४ हजारका दरले १० महिनाको रकम उपलब्ध गराउनु पर्छ ।


विद्यालय व्यवस्थापन समिति अध्यक्ष हिमाली चुङदा २० को कोटामा ४० जना विद्यार्थी आएकाले सबैलाई आवासीय सुविधा दिएको बताउँछन् । ‘आएका विद्यार्थीलाई फर्काउनु भएन,’ हिमालीले भने, ‘टाढा टाढादेखिका विद्यार्थी आएका छन्, उनीहरूलाई समान व्यवहार गरेर राखेका छौं ।’


गाउँपालिका हुँदै आउनुपर्ने रकम चौमासिक रूपमा विद्यालयलाई भुक्तानी हुनुपर्ने हो । तर, वर्षको अत्यसम्म पनि नआउँदा पैसा खोज्न हिंड्नुपर्ने बाध्यता रहेको गुरुङ बताउँछन् । ‘केन्द्रबाट जिल्लामा पठाइएको छ कि छैन भनेर काठमाडौं बस्दै आउनु भएका मिङमाडण्डु शेर्पाले केन्द्रको कार्यालयमै गएर बुझ्नुभयो,’ गुरुङले भने, ‘केन्द्रले पठाएको छ भन्छ, विद्यालयको खातामा जम्मा भएको छैन ।’


गाउँपालिका अध्यक्ष सरोज एभेङ कोष तथा लेखा नियन्त्रण (कोलेनिका) को कार्यालयाबाट केही रकम निकासा हुन बाँकी रहेकाले त्यहीं रहेको हुनसक्ने बताउँछन् । त्यो रकम निकासा हुनासाथ विद्यालयको खातामा जम्मा गरिदिने एभेङले बताए । कोलेनिकाका अनुसार गाउँपालिकाले बुझाउने प्रतिवेदन नमिलेकाले केही रकम निकासा हुन बाँकी रहेको छ ।


प्रकाशित : असार २६, २०७६ १०:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?