विराटनगर बजारका धेरै क्षेत्र जलमग्न

लीलावल्लभ घिमिरे

विराटनगर — वर्षाले प्रदेश १ को राजधानी विराटरनगर बजारका धेरै क्षेत्र जलमग्न बनेका छन् । बजारका अधिकांश क्षेत्रहरु अस्तव्यस्त छन् । बुधबार र बिहीबार यस क्षेत्रमा भारी वर्षा भएको छ । वर्षासँगै विराटनगरका अस्पताल र स्कुल तथा निजी घरहरुमा पानी जमेको छ भने सडक हिँडिसक्नु छैनन् ।

बुधबार र बिहीबार कोशी अञ्चल अस्पतालको मुल गेटमा नै पानी जम्यो। विरामीहरुलाई अस्पताल आउजाउ गर्न समेत कठिन भएपछि अस्पतालले पम्पले तानेर पानी फ्याक्ने काम गर्‍यो। बजारमा नै रहेको आर्दश विद्यालयको प्राङगण पानी जमेर पोखरी जस्तै भएको छ।

विराटनगर महानगर क्षेत्रमा भइरहेको सडक निर्माणसँगै ढल र नाला निर्माणको कामले झनै अस्तव्यस्त बनाएको छ। वर्षाको पानीले निकास नपाउँदा विराटनगरका अधिकांश स्थान जलमग्न भएको हो। बजारका मुख्य सडकहरू खनेर हप्तौसम्म काम अघि नबढाइ छोडिएको छ। जसका कारण सवारीसाधन त के पैदल हिँड्डुल गर्ने अवस्थासम्म छैन। विराटनगर महानगरपालिकाले मुख्य बजार, हिमालय रोड, रंगेली रोड, देवकोटा चोक, अस्पताल चोक, बन्जरा चोक, रोडशेष चोक, पिचरा, बखरी लगाएतका क्षेत्रहरु बढी प्रभावित भएका छन्।

एसियाली बिकास बैंकको ऋण सहयोगमा क्षेत्रीय सहरी विकास परियोजना अन्तर्गत विराटनगर महानगरपालिका भित्रका सडक कालोपत्रे गर्ने काम सुरू भएयता सामान्य वर्षामा पनि जलमग्न हुने गरेको छ।
महानगर भित्रको ७४ किलोमिटर सडकमा कालोपत्रेको काम सुरू भएको छ। २ अर्ब ६३ करोड रूपैयाँ लागतमा सम्पन्न गर्ने लक्ष्य लिएको छ। सडकको वैकल्पिक बाटोसमेत तयार नपारी यत्रतत्र खन्दा सर्वसाधारणले सास्ती व्यहोर्नुपरेको छ।

विराटनगरका धेरै सडक जलमग्न छन्। कतै नाली पुरिएका कारण सडकमा पानी जमेको छ भने कतै खाल्डाखुल्डीमा पानी जमेको छ। सडकका ठूला खाल्डामा पानी जम्दा मोटरसाइकल, कारलगायत साना सवारी साधनहरू सञ्चालनमा समेत कठिनाइ हुने गरेको छ।

बिहीबार रातिदेखि परेको पानी मध्यान्हपछि रोकिएको छ। पानी रोकिएसँग बजार तथा सडकमा चहलपहल बढेको छ।

प्रकाशित : असार २६, २०७६ १४:४१
प्रतिक्रिया
पठाउनुहोस्

हिलाम्य ठेंचो

तस्बिर : प्रकाश चन्द्र तिमिल्सेना

काठमाडौँ — नेपालमा मनसुन सक्रिए भएको धेरै दिन भएको छैन। केही दिन अघिदेखि पर्न सुरु भएको पानीले राजधानीका अधिकांश बाटोमा पानी जम्ने र बाटो हिलाम्य भएका छन् । खासगरी राजधानीको रिङरोड बाहिरका बाटोमा झन् हिलोले सर्वसाधारणको दैनिकै नै प्रभावित पारिदिएको छ ।

सातदोबाटोबाट ५ किलोमिटर दक्षिण ठेंचोमा त्यस्तै हिलाम्य बाटो देख्न सकिन्छ, जहाँ दुई दिनदेखि गाडी समेत आउजाउ गरेका छैनन् । ठेंचोबाट बुङ्मति जाने यो बाटोको स्तरन्नोति गर्ने क्रममा समयमै काम पुरा नहुँदा सर्वसाधारणले सास्ती खेप्नु परेको हो ।


प्रकाशित : असार २६, २०७६ १३:५०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्