१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

विराटनगर बजारका धेरै क्षेत्र जलमग्न

लीलावल्लभ घिमिरे

विराटनगर — वर्षाले प्रदेश १ को राजधानी विराटरनगर बजारका धेरै क्षेत्र जलमग्न बनेका छन् । बजारका अधिकांश क्षेत्रहरु अस्तव्यस्त छन् । बुधबार र बिहीबार यस क्षेत्रमा भारी वर्षा भएको छ । वर्षासँगै विराटनगरका अस्पताल र स्कुल तथा निजी घरहरुमा पानी जमेको छ भने सडक हिँडिसक्नु छैनन् ।

विराटनगर बजारका धेरै क्षेत्र जलमग्न

बुधबार र बिहीबार कोशी अञ्चल अस्पतालको मुल गेटमा नै पानी जम्यो । विरामीहरुलाई अस्पताल आउजाउ गर्न समेत कठिन भएपछि अस्पतालले पम्पले तानेर पानी फ्याक्ने काम गर्‍यो । बजारमा नै रहेको आर्दश विद्यालयको प्राङगण पानी जमेर पोखरी जस्तै भएको छ ।


विराटनगर महानगर क्षेत्रमा भइरहेको सडक निर्माणसँगै ढल र नाला निर्माणको कामले झनै अस्तव्यस्त बनाएको छ । वर्षाको पानीले निकास नपाउँदा विराटनगरका अधिकांश स्थान जलमग्न भएको हो । बजारका मुख्य सडकहरू खनेर हप्तौसम्म काम अघि नबढाइ छोडिएको छ । जसका कारण सवारीसाधन त के पैदल हिँड्डुल गर्ने अवस्थासम्म छैन । विराटनगर महानगरपालिकाले मुख्य बजार, हिमालय रोड, रंगेली रोड, देवकोटा चोक, अस्पताल चोक, बन्जरा चोक, रोडशेष चोक, पिचरा, बखरी लगाएतका क्षेत्रहरु बढी प्रभावित भएका छन् ।


एसियाली बिकास बैंकको ऋण सहयोगमा क्षेत्रीय सहरी विकास परियोजना अन्तर्गत विराटनगर महानगरपालिका भित्रका सडक कालोपत्रे गर्ने काम सुरू भएयता सामान्य वर्षामा पनि जलमग्न हुने गरेको छ ।

महानगर भित्रको ७४ किलोमिटर सडकमा कालोपत्रेको काम सुरू भएको छ । २ अर्ब ६३ करोड रूपैयाँ लागतमा सम्पन्न गर्ने लक्ष्य लिएको छ । सडकको वैकल्पिक बाटोसमेत तयार नपारी यत्रतत्र खन्दा सर्वसाधारणले सास्ती व्यहोर्नुपरेको छ ।


विराटनगरका धेरै सडक जलमग्न छन् । कतै नाली पुरिएका कारण सडकमा पानी जमेको छ भने कतै खाल्डाखुल्डीमा पानी जमेको छ । सडकका ठूला खाल्डामा पानी जम्दा मोटरसाइकल, कारलगायत साना सवारी साधनहरू सञ्चालनमा समेत कठिनाइ हुने गरेको छ ।


बिहीबार रातिदेखि परेको पानी मध्यान्हपछि रोकिएको छ । पानी रोकिएसँग बजार तथा सडकमा चहलपहल बढेको छ ।

प्रकाशित : असार २६, २०७६ १४:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?