२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

वर्षाका कारण प्रदेश १ को प्रदेशसभा भवन डुबानमा

विनु तिम्सिना

विराटनगर — भारी वर्षाका कारण प्रदेश नम्बर १ को प्रदेशसभा भवन डुबानमा परेको छ । वर्षाका कारण प्रदेशसभा भवन बाहेक विराटनगर महानगरपालिकाका विभिन्न क्षेत्र डुबानमा परेका छन् । सामान्य वर्षामा पनि हज भरिएर बैठक कक्षभित्रको शौचालयबाट पानी निस्कने गरेको संसद् सचिवालयका सचिव गोपाल पराजुलीले जानकारी दिए । 

वर्षाका कारण प्रदेश १ को प्रदेशसभा भवन डुबानमा

वर्षाका कारण कोसी अञ्चल अस्पताल परिसर ताल बनेको छ । ढलको निकास नगरी सडक उच्च बनाइएका कारण अस्पताल परिसर जलमग्न बनेको हो । नालाको पानी अस्पताल परिसरमा रहेको औषधि पसल, प्रशासनिक भवनमा पसेपछि समस्या भएको थियो ।


पानीको निकास नहुँदा अस्पतालमा उपचार गराउन आएका सेवाग्राहीलाई समेत समस्या भएको छोराको उपचार गराउन आएकी पवित्रा ऋषिदेवले बताइन् । पानी जमेका कारण अस्पतालमा रहेका बिरामीका कुरुवा र आफन्तहरूलाई ओहरदोहोरमा समस्या भएको छ ।


ढलको निकास नभएका कारण सडकको पानी अस्पताल पसेका कारण बिरामीका साथसाथै चिकित्सक र अन्य कर्मचारीहरुलाई समेत समस्या भएको कोसी अञ्चल अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रोशन पोखरेलले बताए ।


दुई दिनदेखि जमेको पानी नसुकेपछि सुरक्षाकर्मीहरुले पम्प लगाएर पानी फ्याकेका छन् । सशस्त्र प्रहरी बल ३ नम्बर गण कंकालिनी मोरङका सई केदार कटुवालको नेतृत्वमा आएको प्रहरी टोलीले कोसी अञ्चल अस्पताल परिसरमा जमेको पानी पम्पसिटबाट निकाल्न सुरु गरेको हो ।


लगातारको वर्षा र अस्पतालभित्र पसेको पानीको निकास हुन नसक्दा आकस्मिक कक्षभित्र पनि पानी पस्न सक्ने खतरा बढेपछि पम्पसिटको माध्यमबाट पानी बाहिर फाल्न सुरु गरेको अस्पतालका मेसु डाक्टर पोखरेलले बताए ।


प्रदेशसभा भवनअघि र हस्पिटल चौकमा पानी जमेपछि विराटनगर महानगरपालिकाकी उपप्रमुख इन्दिरा कार्की, प्रमुख प्रशासकीय अधिकृत एकदेव अधिकारी, इन्जिनियर घनश्याम काफ्ले सहितको टोलीले अनुगमन गरेको छ ।


कोसी अञ्चल अस्पताल र आसपासका क्षेत्रमा जमेको पानीको निकासका लागि देवकोटा चोकमा स्काभेटर लगाएर कल्भटबाट पानी पास गराइएको छ । यसबाट हस्पिटल चोक देखिको पानी निकास हुने उपप्रमुख इन्दीरा कार्कीले बताइन् ।

प्रकाशित : असार २६, २०७६ १७:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?