बाढीले मोरङमा २ सय ५० घर परिवार विस्थापित

बिनु तिम्सिना

विराटनगर — लगातारको वर्षाका कारण आएको बाढीले मोरङमा २ सय ५० घर परिवार विस्थापित भएका छन् । विस्थापित हुने अधिकांश खोला किनारमा बसोबार गर्ने सुकुम्बासी छन् ।


विस्थापित परिवारलाई स्थानीय जनप्रतिनिधि र जिल्ला प्रशासन कार्यालय मोरङको सहयोगमा सुरक्षित स्थानमा राखिएको प्रमुख जिल्ला अधिकारी रमेशप्रसाद केसीले बताए।

केसीका अनुसार विराटनगर १ मा रहेको सिंघीया खोलाका कारण ५० घर परिवार, विराटनगर ८ हाटखोला दक्षिणी क्षेत्रमा १ सय घर, विराटनगर १६ दरैयाबस्तीमा ५० घर परिवार, जहदा ८, कटहरी गाउँपालिकाको ४ र ५ नम्बर वडामा ५०/५० घर परिवार विस्थापित भएका छन्। विस्थापितहरुलाई रेडक्रसको सहयोगमा १ सय बढी त्रिपाल वितरण गरिएको उनले जानकारी दिए।

यस्तै जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार रंगेली/कानेपोखरी सडक खण्डको कानेपोखरी २ को गेउरिया खोलामा हिजोदेखि बेपत्ता भएका एक व्यक्ति अझै फेला परेका छैनन्।

अन्दाजी २५/३० वर्षका युवा खोला तर्ने क्रममा खोलाले मोटरसाइकल सहित बगाएको थियो। उनको पहिचान खुल्न नसकेको प्रहरीको भनाइ छ। यस्तै उर्लाबारीमा घाासको भारीसहित खोलाले बगाएकी एक महिलालाई प्रहरीले उद्धार गरेको छ।

प्रमुख जिल्ला अधिकारी केसीले सम्पूर्ण सुरक्षा निकाय र जनप्रतिनिधिलाई सचेत रहन निर्देशन गरिएको छ। प्रशासन कार्यालयले उद्धार, खोज तथा विपत्तीमा परेकाहरुलाई सुरक्षित स्थानमा लैजान तयारी अवस्थामा रहेको पनि जनाएको छ।

प्रकाशित : असार २७, २०७६ ११:०९
प्रतिक्रिया
पठाउनुहोस्

रामेछाप जिल्ला सदरमुकाम जोड्ने सडक अवरुद्ध 

कान्तिपुर संवाददाता

काठमाडौँ — रामेछाप जिल्ला सदरमुकाम जोड्ने खुर्कोट मन्थली सडक खण्ड पहिरोले बिहानै देखि अवरुद्ध भएको छ ।

खुर्कोटको सुनकोशी पुल नजिक र मन्थली नगरपालिका ६ कुनौरीमा झरेको पहिरोले यातायात अवरुद्ध भएको छ ।

वर्षा र पहिरो झर्ने क्रम नरोकिएकोले सडक खुलाउन नसकिएको प्रहरीले जनाएको छ ।

यसैगरी मन्थली नगरपालिका वडा नम्बर ४ को पाण्डे टोलमा समेत सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

प्रकाशित : असार २७, २०७६ ११:००
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्