कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

उपमहानगरका अधिकांश क्षेत्र डुबानमा

इटहरी — अविरल वर्षाका कारण इटहरी उपमहानगरका अधिकांश क्षेत्र डुबानमा परेका छन् । टोलका गल्लीदेखि मूल सडकमा भल बगेको छ । बस्तीमा भलबाढी पस्दा सर्वसाधारण त्रसित छन् ।

नदी किनारामा पर्ने अधिकांश क्षेत्र प्रभावित भएका छन् । वडा २, ३, ४, ९, १०, ११, १२, १३ बढी प्रभावित छन् । बुढी खोला, टेङग्रा खोला, सेहेरा खोला, खेती खोला, बक्राहा खोलाले इटहरीमा बर्सेनि क्षति पुर्‍याउने गरेको छ । क्षति न्यूनीकरणका लागि उपमहानगरले नदी तटबन्धका लागि अढाई करोडको काम सम्पन्न गरेको उपमेयर लक्ष्मी गौतमले जानकारी दिइन् ।

विगत वर्षको क्षतिलाई मध्यनगर गर्दै इटहरी उपमहानगरले विपत व्यवस्थापनका लागि आवश्यक समान खरिद गरी सम्पूर्ण वडामा पठाइसकेको छ । उपमेयरका अनुसार विपतमा उद्धार तथा राहतका लागि खाद्य सामग्री, औषधि, स्वास्थ्य टोलीको व्यवस्था गरिसकेको छ । उद्धार तथा राहत कार्यका लागि सम्पूर्ण वडाका प्रहरी इकाईलाई सर्तक रहन निर्देशन दिइसकेको उनले बताइन् ।


वातावरण शाखा प्रमुख पुष्पनारायण चौधरीका अनुसार दुई थान लाइफ ज्याकेट, १ थान रबर ट्युब, बेल्चा, चाबेल, बाल्टिन १७ वटा प्रहरी इकाईलाई प्रदान गरिएको छ । शुक्रबार बसेको नगरस्तरीय विपत व्यवस्थापन समितिको बैठकले तीनवटा निर्णय गरेको छ ।


डुबानमा विस्थापित घरका प्रतिव्यक्ति ८० रुपैयाँका दरले तीन दिनसम्म प्रदान गर्ने, भत्किएका बाटोलाई व्यवस्थित गर्नका लागि जिल्ला विपत व्यवस्थापनलाई अनुरोध गर्ने र टेङग्रा खोलाले बढी प्रभावित पार्ने भएकाले ४ देखि १२ वडालाई आवश्यक सफाई गर्ने भएको छ ।


महानगरका बाढीपीडितलाई सहयोग
विराटनगर– अविरल वर्षाका कारण डुबानमा परेका विराटनगर महानगरपालिकाका विभिन्न क्षेत्रका प्रभावितलाई महानगरले सहयोग गरेको छ । मुख्य रूपमा १, ६, ७, ११, १२, १५, १६, १८ र १९ वडाका बासिन्दा बढी प्रभावित बनेका छन् ।


बाढी प्रभावितलाई विभिन्न विद्यालय र सार्वजनिक स्थानमा राखिएको महानगरले जनाएको छ । वडा १ को विजयपुर टोल नयाँबस्ती, पाथिभरा मन्दिरको धर्मशाला र शान्तिचोकमा सेल्टर बनाएर पीडितलाई राखिएको महानगर प्रमुख भीम पराजुलीले बताए ।


वडा ७ मा पानीको सतह घटेपछि बाढी प्रभावित शनिबार घर फर्केको वडाध्यक्ष मधुबाबु तिवारीले बताए । वडा १२ को बखरी आधारभूत विद्यालयमा बाढीप्रभावित परिवारलाई राखिएको वडाध्यक्ष हिरालाल कामतले जनाए । यस्तै वडा १६ को मिल्स मावि र हुलास मेटलमा बाढी प्रभावितलाई राखिएको छ । वडा १९ का विभिन्न स्थानका प्रभावितलाई सुरक्षित स्थानमा बस्न आग्रह गरिएको महानगरले जनाएको छ ।

आश्रय लिएर बसिरहेका बासिन्दालाई महानगरले खानपिनको व्यवस्था मिलाएको जनाएको छ । बाढी प्रभावित क्षेत्रमा पुगेर मेयर पराजुली, उपमेयर इन्दिरा कार्की, प्रमुख प्रशासकीय अधिकृत एकदेव अधिकारीलगायतको टोलीले अवस्था बुझेर राहत तथा उद्धारको काम गरेको थियो ।

प्रकाशित : असार २९, २०७६ १२:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?