बिहे विवादमा पिटिएकाको मृत्यु

देवनारायण साह

मोरङ — विवाहको छिनोफाने भइसकेपछि केटाले नमान्दा जेठ ३२ मा भएको कुटपिटका घाइते श्यामानन्द यादवको मृत्यु भएको छ । छोरा राजेशले विवाह गर्न नमानेपछि बावु श्यामानन्दलाई केटी पक्षले कुटपिट गरेका थिए । उनको उपचारकै क्रममा मृत्यु भएको हो ।

बिहे विवादमा पिटिएकाको मृत्यु

पीडित परिवारले कुटपिटमा संलग्नलाई पक्राउ गरी कारबाही गर्न माग गर्दै शनिबार विराटनगरस्थित कोसी अस्पताल अगाडि ३ घण्टा सडक अवरुद्ध गरे । कुटपिटबाट घाइते यादवको विराट नर्सिङ होममा उपचार सम्भव नभएपछि सिलिगुढी लगिएको छोरा राजेशले बताए ।

सिलिगुडीमा चिकित्सकले गर्दनको नसामा गम्भीर चोट लागेकाले निको नहुने भनेपछि फर्काएर कोसी अस्पतालमा राखेको र बिहीबार राति मृत्यु भएको उनले बताए । विराटनगर १४ का वडा अध्यक्ष वलदेव यादवको घरमा जेठ ३२ गते पञ्चायत बोलाएर उनलाई कुटपिट गरिएको हो ।

विराटनगर १८ का भोला यादवकी छोरीसँग श्यामानन्दले आफ्ना छोरा राजेशको विवाह छिनेका थिए । केटाकेटीले एक अर्कालाई नदेखेको र उनीहरूको मन्जुरीबिना अभिभावकले विवाह छिनेका थिए । केटाले केटी हेरेपछि विवाह अस्वीकार गर्दा विवाद सुरु भएको हो ।


‘बुवाले विवाह नहुने भनेपछि उनीहरूले वडा अध्यक्ष वलदेवलाई गुहारेका थिए,’ राजेशले भने । उनले वडाध्यक्षको घरमा छलफल हुँदा अध्यक्षको दबाब बुवाले नमानेपछि हातपात गरेको र त्यही चोटले मृत्यु भएको सुनाए । कुटपिटमा वलदेवका छोरा रविन, भतिजा दिपेश, केटीको बुवा भोला, उनका भतिजा विरेशकुमारलगायत संलग्न रहेको अर्का छोरा मुकेशले बताए ।

मुकेशले भने, ‘दोषीलाई कारबाहीको दायरामा नल्याएसम्म आन्दोलन जारी राख्छौं ।’ वडाध्यक्षलगायत दोषी किटान भएका व्यक्तिहरू फरार रहेको र उनीहरूको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

प्रकाशित : असार २९, २०७६ १२:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?