रोपाइँमा बूढापाका

ताप्लेजुङ — फुङलिङ नगरपालिका ८ मेहेलेकी कृष्णमाया विश्वकर्माले बिहीबार भाँडी खोलादेखि डुमले खेतसम्मको कुलो मर्मत गरिन्  । तीन सय मिटर कुलोमा पानी कुद्ने बनाएपछि शुक्रबार बिहान ४ वजेतिरै गएर खोलावाट पानी फर्काइन्  ।

बिहानभरि खेतका समाहा मिलाइन र सबै गह्रामा पानी पुग्ने गरि तयारी गरिन् । रोप्ने बिउको बन्दोबस्त भने बिहीबार दिउँसै गरेकी थिइन् । अन्तरी जेठानी लक्षिमायाको सहयोगमा दिनभरि बिउ उखेलेर मुठा मुठा बनाएकी थिइन् ।


रुखबाट लडेका श्रीमान् उपचार गराइरहेका र हुर्केका छोराहरू विदेश गएपछिको अभिभारा उनैमा छ । बुहारीहरूझापामा बस्ने गरेका छन । हल गोरु मेलासम्म पुर्‍याउने, हलोजुवा लैजाने काम भने कान्छो छोराले गरेका थिए । शुक्रबार दिउँसो रोपाइँमा जुटेको टिमलाई खाजा बनाएर खुवाउनेदेखि हिलो आलिमा मास मस्याम रोप्ने, धानको गावो गाड्ने सम्मको जिम्मेवारी उनैको थियो ।

फुङलिङ ७ का अम्वर बहादुर पालुङवाको अवस्थापनि यस्तै छ । ६६ वर्षिय अम्वर अहिले दिन नबिराई छरछिमेकमा रोपाइँमा हिंँडिरहेका छन् । आफ्नो खेतमा मकै लगाएकाले असार २०/२२ तिरमात्रै धान रोपाइँ गर्ने उनी आफ्नो रोपाइकालागि जनशक्ति बटुल्न गाउँमा पर्मा गरिरहेका छन । बिहानभरि आफ्नो खेतीमा आली, अचिला काट्ने र दिउँसो अरुलाई पर्मा लगाउन हिँड्ने गरेका छन् ।


विदेश गएकी श्रीमती फर्किएर पनि घरमा नबसेपछि छोराबुहारीसँगै बसेका उनले कम्तीमा ८ हल गोरु लाग्ने खेती गरेका छन् । अरू बाली लगाउन एक्लै सम्भव भए पनि असारे रोपाइँ एक्लै गर्न नसकिने भएकाले गाउँघरमा आलोपालोमा हिँड्ने गरेको बताउँछन् । कृष्णमाया र अम्बर मात्रै नभएर अहिले गाउँघरको रोपाइँ बूढापाकाको भरमा छ ।

अधिकांस युवाहरू पैसा कमाउन विदेश हानिएपछि पिता पुर्खादेखि गरिल्याएको खेती बूढापाकाले धानिरहेका छन् । कृष्णमायाले भनिन्, ‘छोरा विदेश गइहाल्छन्, बुहारीहरू छोराछोरी पढाउन भनेर सहर पसेका छन्, आफूलाई खानका लागि आफैंले काम गर्नुपर्ने बाध्यता छ ।’ छोराछोरी पढाउन सहर पसेका अधिकांशले निजी विद्यालय पढाउने र निजी असार/साउनमा बिदा नहुने भएकाले खेतीपाती लगाउन भ्याउँदैनन् ।


‘यही बेला निजी स्कुलमा परीक्षा पनि हुँदो रहेछ,’ लक्षीमाया विकले भनिन्, परीक्षा छोड्न मिल्दैन भन्छन्, ‘खेतीमा त सहयोगनै नहुने रहेछ ।’ जनशक्ति अभावकै कारण धान खेती धेरैले छोड्दै गएका छन् । अधिकांशले धानबाली मासेर अलैंची खेती लगाएका छन् । तर, अलैंचीको मूल्य लगातार ओरालो झरेपछि भएको खेतमा भने धानबाली लगाउनेहरू छन । हलगोरु जोत्नेदेखि बिउ उखेल्ने र फ्याउरी तान्नेसम्मको बाहुल्यता बूढापाकाको छ । बसिखाने उमेर समूहका वृद्धवृद्धा पनि अहिले खेतीमै छन् ।

प्रकाशित : असार २९, २०७६ १२:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?